व्यास नगरपालिकाको जाँडकाण्ड : मेयर न्यौपाने भन्छन् सामान्य कुरा हो

काठमाडौं – तनहुँका पत्रकारले अनौपचारिक आचारसंहिता नै बनाएका छन्– सार्वजनिकस्थल र पत्रकारका रुपमा बोलाइएको समारोहमा मदिरा सेवन नगर्ने । वास्तवमा यो एक प्रकारको स्वनियमन पनि हो ।

बिहे भोजमा समेत मदिरा सेवन नगर्ने नियमनभित्र बाँधिएका तनहुँका तिनै पत्रकारलाई ब्यास नगरपालिकाले आफ्नो मदिराभोजमा सहभागी भएको भनी विज्ञप्ति जारी गरेपछि सैह्य भएन । त्यसकै परिणाम तनहुँको ब्यास नगरपालिका र नेपाल पत्रकार महासंघ तनहुँ शाखाबीच जुहारी चलेको छ ।

गत बुधवार ब्यास नगरपालिकाको ३१ औं नगरसभा सम्पन्न भएपछि करीव १५६ मिनेट पत्रकार सम्मेलन भयो । त्यसपछि पत्रकारहरु मासु चिउरा खाएर निस्किए । ओल्ड दरबार र टुबोर्ग वियरका कार्टुन नगरसभा परिसरमै देखेपछि पत्रकारले हतार–हतार बाटो तताएका थिए ।

आयोजकले ‘हल्का लिएर’ जान आग्रह नगरेका पनि होइनन् । तर, सार्वजनिक सभा समारोहमा मदिरा नपिउने ‘आचारसंहिता’का कारण पत्रकारहरु निस्किए । यतिसम्म कि नगरपालिकाका प्रेस सल्लाहकार रहेका पत्रकार महासंघका पूर्वअध्यक्ष प्रदीप काफ्ले पनि मदिरा भोजमा थिएनन् ।

दश मिनेटमा सकिएको नगरसभा र १५ मिनेटमा सकिएको पत्रकार सम्मेलनपछि ब्यास नगरपालिका भवनभित्रकै हलमा मदिराका बोतल धमाधम खुल्न थाले । मेयर बैकुण्ठ न्यौपाने र प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तको उपस्थितिमा जनप्रतिनिधि र कर्मचारीहरु मदिरासँग झुम्दै नाच्न थाले ।

‘तारा संगै जून’

‘बिर्सियौ कि मायाले मैले ला’को गुन

पन्चेबाजाको धुनमा बजेको यो गीतसँगै नाचेका नगरपालिकाका प्रतिनिधिले मदिराभोजवाला भिडियो र समाचार बाहिर आएपछि उल्टै पत्रकारलाई गीतकै शैलीमा आरोप लगाए, बिर्सियौकी मायाले मैले लाको गुन । नगरपालिकाले निकालेको विज्ञप्तिमा यसबाट नगरपालिकाले आफ्ना शुभचिन्तक चिन्ने मौका पाएको भनिएको छ ।

नगरपालिकाले जारी गरेको विज्ञप्तिमा जलपान समारोहमा पत्रकार पनि सहभागी भएको भनिएपछि महासंघलाई सैह्य भएन । नगरपालिकाकै प्रेस सल्लाहकारसमेत सहभागी नरहेको भोजमा पत्रकार सहभागी भनेर डाम्ने प्रयास भएपछि महासंघ अध्यक्ष ओमकार आचार्यले विज्ञप्ति नै जारी गरी पत्रकारको आत्म सम्मानमा ठेस पुग्ने वक्तव्य सच्याउन आग्रह गरेका छन् ।

यस्तो थियो घटना

व्यास नगरपालिकाभित्रका वडा अध्यक्षदेखि व्यास नगरपालिकाका कर्मचारीले निर्धक्क मदिरा सेवन गरेको देखिएको थियो । उक्त कार्यको भिडियामा हेर्न सकिन्छ ।

नगरसभा सम्पन्न हुनासाथ व्यापक मदिरापान कार्यक्रम नगरपालिकाको सभाहलमा भएका थियो । जनप्रतिनिधि नै मदिरा सेवन गर्दै नगरसभा हलमा नाच्न थालेपछि अगाडि स्टेजमा बसेका नगरप्रमुख लाई समेत नचाइएको थियो ।

अगाडि नाचगान चलिरहँदा पछाडि भने जनप्रतिनिधिदेखि कर्मचारीसम्म मदिरामा लठ्ठ थिए । प्रमुख प्रशाशकीय अधिकृत त कार्यालय पोशाकमा रहेका थिए भने अन्य कर्मचारीका घाँटीको परिचय पत्र समेत रहेको थियो ।

मेयर न्यौपाने भन्छन्– सामान्य कुरा हो

नगरपालिकाको हाताभित्र जनप्रतिनिधि र कर्मचारी मदिरा सेवनको विषयमा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेलाई फोन सम्पर्क गर्दा उक्त विषय सामान्य भएको बताए । सो मदिरा सेवनको विषयलाई ठूलो नबनाउन मेयर न्यौपानेले आग्रह गरे ।

जिल्ला प्रशासन कार्यालय तनहुँका सहायक प्रमुख जिल्ला अधिकार तुलसी पौडेलले ‘प्रचलित कानुनअनुसार सरकारी कार्यालयमा कार्यालय समयमा मदिरा सेवन गर्नु कानुन विपरीत भएको बताए ।’पौडेलले भने, कार्यालयमा मदिरा सेवन गर्ने कुरा अशोभनीय हो ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *