पानी नपर्दा खल्लो असार १५, धानको उत्पादन घट्ने

काठमाण्डौ – आज, असार १५, नेपाली किसानका लागि महत्वपूर्ण दिन । हिलो खेल्दै, दही चिउरा खाँदै र धान रोप्दै असार १५ मनाइन्छ ।

सरकारको आह्वानमा आज धान दिवस तथा रोपाइँ महोत्सव पनि मनाइँदैछ । धान खेतीमा प्रविधि र यान्त्रिकीकरण, चामल आयातमा न्यूनीकरण भन्ने नाराका साथ विभिन्न ठाउँमा रोपाइँको कार्यक्रम पनि हुँदैछ ।

यस वर्ष दिवसको मुख्य कार्यक्रम राजापुर नगरपालिका–८, बर्दियामा आयोजना गरिएको छ। कार्यक्रममा सहभागी हुन कृषिमन्त्री चक्रपाणी खनाल, कृषि विभागका महानिर्देशक सूर्यप्रसाद पौडेल, नेपाल कृषि अनुसन्धान परिषद (नार्क)का महानिर्देशक टेकबहादुर गुरुङ, सांसदलगायतको टोली बर्दिया पुगिसकेको छ । सरकारले तामझामका साथ कार्यक्रम गरे पनि पर्याप्त मनसुनी वर्षा नहुँदा असार १५ को  महत्वपूर्ण दिन किसानका लागि खल्लो भएको छ ।

यस वर्ष धानको उत्पादन घट्ने आँकलन गरिएको छ । गएको वर्षको तुलनामा यस वर्ष १० दिन मनसुन ढिला हुँदा धानको उत्पादन घट्ने आँकलन गरिएको हो ।

यस वर्ष जुन १० देखि सुरु हुनुपर्ने मनसुन जुन २० देखि मात्र सुरु भएको छ । १० दिन ढिलो गरी सुरु भएको मनसुन पनि सक्रिय नहुँदा पर्याप्त मात्रामा पानी परेको छैन । यो वर्ष प्रदेश १, २, ३ र ५ मा औषत भन्दा कम पानी पर्ने मौसमविद्ले अनुमान गरेका छन् । गएको वर्ष उपयुक्त वर्षा भएका कारण ५६ लाख १० हजार टन धान उत्पादन भएको थियो ।

नेपालमा उन्नत जातको बीउविजन भित्रिएसँगै धान उत्पादन बढ्दै गएको थियो । वरिष्ठ धान विज्ञ भोलामान सिंह भन्नुहुन्छ ‘मौसमी गतिविधिले साथ नदिँदा यो वर्ष धान उत्पादनमा कमी आउन सक्ने संकेत देखिएको छ । १० दिन ढिलो गरी मनसुन भित्रँदैमा धान उत्पादन घट्छ भन्ने होइन तर मनसुनी वर्षा कस्तो हुन्छ भन्ने कुराले भने प्रभाव पार्छ ।’

उहाँले भन्नुभयो ‘रोपाइँ ढिला हुँदा धान पोटिलो हुँदैन । फोस्रा धानको तौल कम हुन्छ। तसर्थ धानको उत्पादनमा कमी आउँनेछ ।’

नेपालमा पछिल्लो समय विकासे धान रोप्ने प्रचलनले पनि धान उत्पादन चाहिँ बढ्दै गइरहेको छ ।सरकारले कृषिको विकासका लागि विभिन्न परियोजना ल्याएसँगै धान उत्पादन पनि बढ्न गएको हो ।

संसारमा करिब १ लाख ४० हजार प्रकारका धानको जात रहेको अनुमान अन्तर्राष्ट्रिय धानबाली अनुसन्धान केन्द्र (इरी)को छ । यसमध्ये १ लाख १७ हजार प्रकारका जातहरु आफ्नो जीन बैंकमा सङ्कलन गरेको इरीले जनाएको छ ।

नेपालका अधिकांश भूभागमा सिंचाइँको राम्रो व्यवस्था छैन । अहिले पनि धेरैजसो भूभागका खेती आकासे पानीमा नै निर्भर छन् । अधिकांश क्षेत्रमा रोपाइँ गर्नका लागि मनसुनी वर्षाकै भर पर्नुपर्ने बाध्यता छ ।

यो वर्ष असार १५ सम्ममा आइपुग्दा मध्यपहाडी क्षेत्रका केही ठाउँमा रोपाइँ भए पनि धेरै क्षेत्रमा रोपाइँ हुन सकेको छैन । नेपालमा कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २७ प्रतिशत छ । जसमध्ये ७ प्रतिशत धानले ओगटेको छ । धान उत्पादनको कमीले नेपालको अर्थतन्त्रमा समेत असर पर्ने विज्ञहरूको भनाइ छ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *