राजनीतिक हत्याको घटना दोहोरिने खतरा छ : प्रचण्ड

काठमाडौ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मदन भण्डारी र जीवराज आश्रितको नियोजित हत्या भए पनि कसले हत्या गर्‍यो भन्ने प्रमाण अहिलेसम्म पत्ता लगाउन नसकिएको बताएका छन्।

‘मदन भण्डारीको नियोजित हत्या हो। दुर्घटना होइन भन्ने जनतालाई लागेको छ,’ मदन भण्डारीको ६८ औं जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउन्डेसनले शनिबार काठमाडौंमा गरेको विचार गोष्ठीमा दाहालले भने, ‘हामी सरकारमा छौं, तर हत्यारा फलानो हो भनेर किटेर भन्ने प्रमाण प्रस्तुत गर्न सकेका छैनौं। चालकलाई जोगाउन सकिएको भए पनि केही प्रमाण त खुल्थ्यो कि!’ भण्डारीको मृत्युलाई जनताले स्वभाविक रूपमा नलिएको उनले बताए।

‘जनतालाई लाग्छ त्यो स्वभाविक मृत्यु होइन। त्यो भयानक डिजाइनअनुसार हत्या गरेको नै हो,’ उनले भने, ‘हत्यारा विदेशी शक्ति हो कि जस्तो लाग्छ। स्वदेशी तत्व हो कि जस्तो लाग्छ तर प्रमाण छैन।’

भण्डारीको हत्यारा पत्ता लगाएर जनताको बीचमा ल्याउन सक्ने हो भने त्यस्ता घटनाबाट बच्न सकिने उनले बताए। ‘मदन भण्डारीको ४२ वर्षमा हत्या भयो हामी त ६५ वर्षमा हिँडिराखेका छौं,’ उनले भने, ‘हाम्रो हत्या त भएको छैन नि! कहिलेकाहीँ लाग्छ हामी छाला जोगाउतिर पो लागिराखेका छौं कि?’

उनले भण्डारीको सच्चा उत्तराधिकारीको रूपमा प्रधानमन्त्री केपी शर्मा ओली र आफू भएको बताए।

उनले नेकपा फुट्ला र हाम्रो पालो आउँछ भनेर कांग्रेसले नसोच्न आग्रह गरे।

‘नेकपा फुट्ला र हाम्रो पालो आउला भनेर कांग्रेसले नसोचे हुन्छ। नेकपामा झगडा भएर सत्ता हामीकहाँ आउला भन्ने कांग्रेसले सोच्नै हुन्न’, उनले भने,‘अहिले कांग्रेसको त्यस्तो हैसियत बाँकी रहेन।’

‘हाम्रो सफलता देशको सफलता हुनेछ। हामी असफल भयौं भने मुलुक असफल हुनेछ। यो व्यवस्था असफल हुनेछ र विभाजनकारी शक्ति बलियो बन्नेछन्’, उनले भने, ‘नेकपा असफल भयो भने मुलुक असफल हुनेछ। व्यवस्था असफल हुनेछ। तपाईं (नेकपाका नेता कार्यकर्ता) ले पनि हामीकहाँ आएर कुरा लगाउनु हुन्न। ऊ त खत्तम रहेछ भन्न हुँदैन ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *