नेकपाको जवस भागबन्डा : माओवादीलाई युवा, एमालेलाई विद्यार्थी

काठमाडौ – जेठ ३ गते नेकपाको पार्टी एकता भएको एक वर्ष पुग्दैछ । त्यसअघि एकीकरणका बाँकी काम टुङ्ग्याउनको लागि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव विष्णु पौडेल गृहकार्यमा जुटेका छन् ।

स्रोतका अनुसार जेठ ३ अघि जनवर्गीय सङ्गठन, पोलिटब्युरो, केन्द्रीय सदस्यको कार्यविभाजन र केन्द्रीय विभागका प्रमुख र उपप्रमुख टुङ्ग्याउने गरी छलफल चलिरहेको छ । तीन नेताहरुबीच यी विषयमा मोटामोटी सहमति पनि जुटिसकेको छ ।

त्यस्तै मुख्य विवाद रहेको जनवर्गीय सङ्गठनमध्ये युवा, महिला र पत्रकार तत्कालीन माओवादीले लिने सहमति भएको छ । विद्यार्थी, मजदुर र बुद्धिजीवी सङ्गठन तत्कालीन एमालेले लिने करिब–करिब सहमति जुटेको छ । त्यसबाहेक अन्य जनवर्गीय सङ्गठनमा छलफल चलिरहेको छ ।

केन्द्रीय सदस्यको कार्यविभाजन गर्दा केन्द्रीय विभाग पनि पर्ने भएकाले केही मुख्य विभागहरुका प्रमुख र उपप्रमुख पनि तोकिने भएका छन् । विभाग प्रमुख स्थायी कमिटी सदस्यबाट हुनेछन् । कार्यविभाजन गर्दा जिल्ला कमिटीको सचिवमा परेका केन्द्रीय सदस्यको जिम्मेवारी हेरफेरको निर्णय पनि सोही कार्यक्रममा सार्वजनिक गर्ने भएको छ ।

नेकपामा पोलिटब्युरो गठन, केन्द्रीय कमिटीका सदस्यको कार्यविभाजन, केन्द्रीय आयोगहरूको गठन, केन्द्रीय सल्लाहकार परिषद् र ज्येष्ठ कम्युनिस्ट मञ्चको गठन, राष्ट्रिय परिषद्मा मनोनयन, प्रदेश स्तरीय विशेष कमिटीको गठन, जनवर्गीय सङ्गठनहरुको एकीकरण, प्रवासका सङ्गठन र सम्पर्क कमिटी एवम् मञ्चहरुको एकीकरण र केन्द्रीय विभागहरुको गठन हुन सकेको छैन । यसबाहेक विधान परिमार्जन र राजनीतिक प्रतिवेदनलाई अन्तिम रूप दिन बाँकी नै छ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *