गाउ गाउँमा गोलबन्द हुँदै विप्लव नेकपा

काठमाडौ – सरकारले प्रतिबन्ध लगाउने निर्णय गरे सँगै विप्लव निकट नेकपाका नेताहरु भुमिगत छन् त्यसो त पार्टी महासचिव विप्लव लामो समयदेखि अर्धभुमिगत नै रहेका छन् । तर झट्ट हेर्दा भुमिगत देखिने नेता कार्यकर्ता गाउँ गाउँमा भने अर्धभुमिगत शैलीमा गोलबन्द भइरहेका छन् ।

२७ फागुनमा सरकारले विप्लव समूहमाथि प्रतिबन्ध लगाएको घोषणा गर्‍यो । यसबाट समाज तरंगित भएको छ । सञ्चार माध्यमहरुमा बाक्लै खबरहरु आउन थालेका छन् । हतियारसहित भेट्यो भने गोली हान्नू, केपी शर्मा ओली र प्रचण्डलाई समेत मार्ने योजना बनाएका थिए अनि ३५ दिनभित्र हतियार बुझाउनू भन्नेजस्ता समाचारहरु सुनिन थालेका छन् ।

फागुन महिनाको अन्तिम दिन बिहीबार त फलानो ठाउँमा बम भेटियो, ढिस्कानो ठाउँमा शंकास्पद बस्तु भेटियो भन्ने खबरहरुले सञ्चार माध्यमहरुमा प्राथमिकता पाए । र, यस्ता खबरले मानिसहरुलाई जबरजस्त युद्धउन्मुख अवस्थाको मनोविज्ञानतिर धकेल्दै लगेको छ ।

जतिबेलासम्म विप्लव समूहले बम पड्काउने, शंकास्पद बस्तुहरु राख्ने जस्ता काम गरेको थियो, धेरैलाई लागेको थियो कि यो सबै चन्दा उठाउने खेलो हो । तर, जब सरकारले विप्लव समूहमाथि औपचारिकरुपमै प्रतिबन्ध लगायो, शहरका मानिसहरुले प्रश्न गर्न थालेका छन्, के  देश फेरि अर्को युद्धमा फस्न लागेकै हो त ? गाउँबजारका मानिसहरुको पनि प्रश्न छ- अब हतियार बोकेका दुबैथरी मानिसहरु फेरि गाउँ पस्ने त होइनन् ?

शनिबार विप्लव समूहको बन्द विगतको तुलनामा प्रभावकारी हुनुको कारण पनि यही त्रास हो । पछिल्ला दिनहरुमा काठमाडौं उपत्यकामा बन्दको असर देखिनै छाडेको थियो । मानिसहरु स्वस्फूर्त बन्द अवज्ञा गर्दै काममा हिँड्थे । देशका विभिन्न ठाउँमा पनि बन्दको अवज्ञा हुने क्रम बढ्दो थियो । तर, शनिबार काठमाडौंमै बन्दको प्रभाव देखियो ।

राजधानीकै मानिसहरु सडकमा निस्कनुअघि पटक-पटक सुरक्षाबारे चासो देखाइरहेका थिए । हिँड्दा पनि निकै सतर्क देखिन्थे । एक पूर्व सुरक्षा अधिकारी भन्छन्, ‘विहीबार म आफैं पनि गल्लीको बाटो हिडिनँ । एकाएक त्रासको मनोविज्ञान सबैको मनमा धेरथोर परिसकेछ ।’

झन् विप्लव समूहले प्रधानमन्त्री र सत्तारुढ नेकपाका अध्यक्ष प्रचण्डलाई नै मार्ने योजना बनाएको भन्दै प्रचण्डको वरिपरि ५९ जना सुरक्षाकर्मी परिचालन गर्दा मानिसहरुमा त्रासले डेरा जमाउने क्रम बढेको छ ।

हुन त विप्लव समूहमाथि प्रतिबन्ध लगाउन आवश्यक भइसकेको थियो भन्ने पुष्ट्याइँ गर्नका लागि पनि यो सूचना चुहाएको देखिन्छ । तर, सुरक्षा मामिलाका जानकारहरुका अनुसार यदि विप्लव समूहले त्यस्तो योजना बनाएकै थियो भने पनि सरकारबाटै बाहिर ल्याउनुहुँदैनथ्यो । सुरक्षा थ्रेट बढेको भए सेना प्रहरी खटाउन सकिन्थ्यो । तर, यस्ता खबरहरु बाहिर ल्याउँदा सरकार प्रमुख नै सुरक्षित रहेनछन् भने हाम्रो के होला भन्ने आम मानिसलाई पर्छ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *