यस्तो छ मन्त्री अधिकारीको अन्तिम सम्बोधन

काठमाडौं –  बुधबार दिउँसो हेलिकोप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीको अन्तिम सम्बोधनको भिडियो अन्नपूर्ण पोस्ट् डटकमले प्राप्त गरेको छ। साढे सात मिनेटको उनको भिडियो नै अन्तिम बनेको छ।

सम्बोधनको अंश 
हामी आज यहाँ छौं, एयरपोर्ट हेर्ने हिसाबले आएका छैनौं। अहिले हामी एयरपोर्ट बनाउने हिसाबबाट हेर्न आएका छौं। मेरो साथमा एयरपोर्टको नक्सा, इस्टिमेट, डिजाइन सबै छ। पहिला एयरपोर्ट बन्न २९ करोड लाग्ने भनेपनि अहिले ८७ करोड खर्च हुने अवस्था छ। त्यो सम्पूर्ण इस्टिमेट मैले बोकेर आएको छु।

म यतिबेला २ वटा सन्दर्भ बताउन चाहन्छु। वर्तमान सरकार बनेपछि मुलुकको आर्थिक समृद्धि र विकासले गति लिइरहेको छ। सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले समृद्धि र विकासको नेतृत्व लिइरहनुभएको छ, हामी उहाँको मन्त्रीमण्डलमा बसेर काम गरिरहेका छौं। यो ठाउँ प्रधानमन्त्रीको जन्मस्थल भएकाले मात्र होइन, एयरपोर्टका हिसाबले उपयुक्त भएकाले हेर्न आएका हौं।

एयरपोर्ट बनाउने भनेपछि हामीले धेरै छलफल गर्‍यौं, स्टिमेट हेर्‍यौं। प्रधानमन्त्रीले हामीलाई सबै कुराको अध्ययन गर्न भन्नुभयो। हामीले सबै कुरा अध्ययन गर्‍यौं। त्यसपछि प्रधानमन्त्रीज्यूले पर्यटनमन्त्री नै गएर चुहानडाँडा हेर्नुस् भन्नुभयो। प्रधानमन्त्रीको निर्देशनअनुसार हामी आएका छौं। हामीले यहाँ स्थलगत अध्ययन गर्दा ठाउँ उपयुक्त लाग्यो। यहाँ केही कुराले पनि छेक्दैन।

म तपाईहरुसामू प्रधानमन्त्रीज्यूको सन्देश बोकेर आएको छु। यो सरकार एयरपोर्ट बनाउन प्रतिबद्ध छ। हामी एयरपोर्ट बनाउन प्रतिबद्ध छौं, यसमा अब कुनै शंका छैन। तपाईहरुको हामीलाई साथ छ। पानी परेको छ, मौसम खराब भएको छ, हामीलाई फेरि काठमाडौं पुग्नुछ। म यति भन्न चाहन्छु, सरकारले आफ्नो काम अगाडि बढाइरहेको छ ।

सधैं अस्थिरताबाट फाइदा उठाएकाहरु आत्तिएका छन्। उनीहरु कराएका छन्, सरकारले केही काम गरेन भनिरहेका छन्। केही काम भएन भनेका छन्। तर, सम्माननीय प्रधानमन्त्रीको नेतृत्वमा वर्तमान सरकार बनेपछि धेरै कामहरु भएका छन्। संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार, तीनै सरकारले काम गरिरहेका छन्। तीनवटै सरकार जनताको पक्षमा छन्, समृद्धिको पक्षमा छन्।

अहिले परिणाम देखिन थालेका छन्। हामीले अझै प्रभावकारी काम गर्नुछ। यहाँ काम भएन भनेर हल्ला गर्नेहरु पनि छन्। उनीहरुले काम नभएर होइन, काम भएर हल्ला गरेका हुन्। सरकारले काम गरिरहेकाले काम गरेन भनेका हुन्। तपाईहरुकहाँ मध्यपहाडी लोकमार्ग बनिरहेको छ। एयरपोर्ट बनाउने भनेर हामी यहाँ आएका छौं। हामीले देशभरिका एयरपोर्ट बनाउँदैछौं। अन्तर्राष्ट्रिय विमानस्थल बनाउँदैछौं।

सरकारले पूर्वाधार विकासको काम गरिरहेको छ। विकासका काम भएका छन्, उत्पादनका काम भएका छन्, रोजगारी सिर्जनाका क्षेत्रमा काम भएका छन्। शिक्षा र स्वास्थ्यमा काम भएका छन्। तीनवटै सरकारले काम गरिरहेको छ। देशको आर्थिक विकास र समृद्धिलाई अब कसैले रोक्न सक्दैन, कसैको गफले रोकिँदैन, हामी अगाडि बढ्छौं।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *