सुन तस्करीको हब बन्दै नेपाल ११ महिनामा ११५ किलो सुन बरामद

काठमाडौ– नेपाल प्रहरीले पछिल्लो ११ महिनामा मात्रै विभिन्न स्थानबाट तस्करीको ११५ किलो तस्करीको सुन बरामद गरेको छ । केही दिन अघिमात्रै कञ्चनपुरमा झण्डै २४ किलो सुन बरामद गरेको प्रहरीले त्यसअघि १० महिनामा विभिन्न स्थानबाट ९१ किलोग्राम सुन बरामद गरेको हो । यो अवधिमा सुन तस्करीमा संलग्न १३० जना पक्राउसमेत परेका छन् ।

तर पक्राउ पर्नेमा अधिकांश भरिया वा विदेशबाट स्वदेश फर्किने कामदार छन्। प्रायः सुन तस्करीमा मालिक भने पक्राउ पर्दैनन् । प्रहरीले पछिल्लो १० महिनाको अवधिमा ९९ किलो अवैध चाँदीसहित ३७ जनालाई पक्राउ गरेको छ ।

किन हुन्छ सुन तस्करी  ? 

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिकिलो ४५ लाखको हाराहारीमा पर्छ । नेपालमा राष्ट्र बैंकबाट सुन किन्ने हो भने प्रतिकिलो सुनमा ५ लाखबराबर भन्सार कर तिर्नुपर्छ । यस्तोमा सुन पसलेहरुले तस्करीको सुन किन्न चाहन्छन् । तस्करीको सुन किन्न पाइए एक किलोमा ५ लाख बराबरको फाइदा हुन्छ । हवाई मार्गबाट आउने सुनबाहेक स्थलमार्गबाट भरियाले एक किलो अवैध सुन सम्बन्धित व्यक्तिलाई केरुङ वा तातोपानीबाट पुर्याउन सके ५० हजार कमिसन पाउँछन् ।

काठमाडौं प्रहरीका प्रमुख एसएसपी वसन्त लामाका अनुसार चीनबाट रसुवा सुन आइपुगेपछि त्यहाँबाट पत्याउनै नसकिने खालका भरियाको छनोट हुन्छ । ती भरियालाई सुन दिइन्छ तर काठमाडौं कसलाई दिने भन्ने जानकारी दिइँदैन ।

यस्तोमा उनीहरुले मालिक नै चिन्न पाउँदैनन् । त्यसैले प्रायः भरिया समातिन्छन् तर मालिक उम्किन्छन्  । केरुङबाट भित्रिने सुनका अधिकांश मालिक चीनकै केरुङ आसपास बस्छन्।

उनीहरु कोही नेपाली र कोही चिनियाँ नागरिक नै हुन्छन् । दुवैतिरकोे भाषा राम्रोसँग बोल्न सक्छन् । प्रहरीका विभिन्न अनुसन्धानका क्रममा चिनियाँ नाकाबाट सुन भित्र्याउने समूहले चीनको आफ्नै सामाजिक सञ्जाल ‘वी च्याट’ प्रयोग गर्छन् । ‘वी च्याट’ मा भएको कुराकानी मेटाइसकेपछि रिकभर गर्न सकिँदैन ।

भरियाले सुन काठमाडौं ल्याइसकेपछि काठमाडौंमा सुन प्राप्त गर्नेको फोटो ‘वी च्याट’ मा पठाइन्छ । त्यही फोटो र नम्बरको आधारमा कोड भाषाको प्रयोगबाट सुन प्राप्त गरिन्छ । तर उनीहरुलाई एकअर्काको बारेमा जानकारी हुँदैन ।

नेपालमा तस्करीमार्फत् आएको ठूलो मात्राको सुन भने भारतमै खपत हुने गरेको छ ।

About राजेश दुलाल

View all posts by राजेश दुलाल →

Leave a Reply

Your email address will not be published. Required fields are marked *