राप्रपा संयुक्तसँग एकता गर्न तयार छौँ : कमल थापा

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी का अध्यक्ष कमल थापाले पूरानो ‘एग्रिमेन्ट’ स्वीकार गरिए भोली नै राप्रपा (संयुक्त) सँग पार्टी एकीकरण गर्न आफू तयार रहेको बताएका छन् ।

आइतबार सरकारविरुद्ध आन्दोलनको घोषणा गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष थापाले तीन वटा राप्रपा एकीकरणका लागि तयार पारिएको आधारपत्र अनुसार ‘एग्रिमेन्ट’ स्वीकार गरिए आफू राप्रपा (संयुक्त) सँग पार्टी एकता गर्न तयार रहेको बताएका हुन् ।

‘‘प्रकाशजी र पशुपतिजी पूरानो एग्रिमेन्ट मान्न तयार हुनुभयो भने भोली नै पार्टी एकता गर्न तयार छु,’’ उनले पत्रकारहरुको जिज्ञासा मेटाउँदै भने, ‘‘अब उहाँहरुलाई चुनौती दिन चाहे, के पूरानो एग्रिमेन्ट मान्न तयार हो ?’’

अध्यक्ष थापाले आफ्नो पार्टीलाई पाखा लगाएर राप्रपा (प्रजातान्त्रिक ) र एकीककृत राप्रपा (राष्ट्रवादी) बीच भएको एकीकरणले आफू आश्चर्यमा परेको प्रतिक्रिया दिए । ‘‘तीन वटै राप्रपाबीच एकता गर्ने भनेर सघन छलफल भयो । मेरै अग्रसरतामा एकताको आधारपत्र पनि तयार भयो,’’ उनले भने, ‘‘सोही आधारपत्र अनुसार हामीलाई छाडेर गरिएको एकीकरण आश्चर्यजनक छ ।’’

गत माघ १८ गते पशुपति शमशेर राणाको नेतृत्वमा रहेको राप्रपा (प्रजातान्त्रिक) र डा प्रकाशचन्द्र लोहनीको नेतृत्वमा रहेको एकीकृत राप्रपा (राष्ट्रवादी) बीच औपचारिक रुपमा एकीकरण भएको थियो । एकीकरणपछि पार्टीको नाम राप्रपा (संयुक्त) राखिएको छ ।

About राजेश दुलाल

View all posts by राजेश दुलाल →

Leave a Reply

Your email address will not be published. Required fields are marked *