जब एउटा पर्खाल ढल्यो, सन्दर्भ स्ववियु निर्वाचन

जीपी मैनाली 

 त्रिभुवन विश्वविद्यालयको एक टुक्रा जमिन जहाँ पहिले स्ववियुको कार्यालय हुने गर्थ्यो, हिजोआज त्यहाँ एक मुठी खरानी, एक झुप्पो घाँस र एक अँगालो इतिहासको भग्नावशेष बाँकी छ ।

यो त्यही ठाउँ हो जसले एउटा देशको वर्तमान अवस्था झल्काउँछ र विद्यार्थी राजनीतिको इतिहास खरानी बनेर हावामा उड्दै गरेको भावी दृश्यतर्फ सङ्केत गर्छ ।

त्रिभुवन विश्वविद्यालयको जमिनमा ढलेको एउटा पर्खालले सङ्घर्ष गरेर ल्याएको स्ववियुतर्फ मात्र होइन, स्वयम् त्रिभुवन विश्वविद्यालयको प्राज्ञिकतामा मौन असहमति राखिरहन्छ ।

त्रिविमा चलेको यो मौन हावाको परिवर्तित गति नबुझ्ने हो भने यसले सृजना गर्ने तुफान वेगले बौद्धिक थलो र राजनीतिक नेतृत्वलाई नछोई कसरी अघि बढ्ला ?

त्रिभुवन विश्वविद्यालयको एक टुक्रा जमिन जहाँ पहिले स्ववियुको कार्यालय हुने गर्थ्यो, हिजोआज त्यहाँ एक मुठी खरानी, एक झुप्पो घाँस र एक अँगालो इतिहासको भग्नावशेष बाँकी छ । यो त्यही ठाउँ हो जसले एउटा देशको वर्तमान अवस्था झल्काउँछ र विद्यार्थी राजनीतिको इतिहास खरानी बनेर हावामा उड्दै गरेको भावी दृश्यतर्फ सङ्केत गर्छ ।

त्रिभुवन विश्वविद्यालयको जमिनमा ढलेको एउटा पर्खालले सङ्घर्ष गरेर ल्याएको स्ववियुतर्फ मात्र होइन, स्वयम् त्रिभुवन विश्वविद्यालयको प्राज्ञिकतामा मौन असहमति राखिरहन्छ ।

त्रिविमा चलेको यो मौन हावाको परिवर्तित गति नबुझ्ने हो भने यसले सृजना गर्ने तुफान वेगले बौद्धिक थलो र राजनीतिक नेतृत्वलाई नछोई कसरी अघि बढ्ला ?

स्ववियु निर्वाचनको मिति नजिकिँदै गर्दा यसको औचित्यमाथि विभिन्न कोणबाट बहस भइरहेको छ । यो बहसले कोदो र फापरको विकल्प चाउचाउ हो, भनेसरि चाउचाउ झैँ गुजुल्टिएर समग्र आन्दोलनकै इतिहासमाथि निर्मम प्रहार गर्दैछ । विद्यार्थी राजनीतिको औचित्य समाप्त भएको भन्दै स्ववियु भङ्ग गर्नुपर्नेसम्मका आवाज उठाइएको छ । त्रिविमा ढलेको पर्खालले आफ्नो इतिहास सुनाउन निकै बल गरिरहेको छ तर, ऊसँग आफ्नो इतिहास सुनाउने आफ्नै भग्नावशेष बाहेक शब्द छैनन् । त्रिविमा ढलेको पर्खालले त्यही पर्खालको नियति भोग्नु परेको छ जुन, रत्नपार्कको रातो घरले बेहर्‍यो । मात्र पात्र र प्रवृत्ति फरक छन् ।

एउटा पर्खाल ढलेसँगै पूर्वी जर्मन र पश्चिम जर्मन एक भए । एउटा पर्खाल ढलेसँगै रत्नपार्कको वैचारिक वामपन्थी थलो धुलिसाँध भयो । एउटा पर्खाल ढलेसँगै विद्यार्थीले हासिल गरेको स्वतन्त्रता अभ्यासको मुठीभर अधिकार खोसिने बहस चल्यो । तर, जसले विद्यार्थी राजनीति र स्ववियुको औचित्यमाथि बारम्बार प्रश्न उठाई रहेका छन् उनीहरूलाई शायद थाहा नहुन सक्छ, यो कसरी हासिल गरिएको थियो । गंगालाल श्रेष्ठलाई गोली किन ठोकिएको थियो ? जयतु संस्कृतम् आन्दोलनको जगले नेपालमा के स्थापना गरेको थियो ? विद्यार्थीहरू राष्ट्रिय निर्देशन ऐन विरुद्ध किन सङ्घर्षमा उत्रिएका थिए ? हो, राजनीतिक र शैक्षिक मुद्दामा विद्यार्थी आन्दोलनको भूमिका र अपरिहार्यताबारे छलफल गर्दै गर्दा हामीले यसका कमजोरी तथा यसले ध्यान दिन नसकेको पाटोलाई बिर्सन मिल्दैन ।

वर्तमानको विद्यार्थी आन्दोलन जहाँ उभिएर हामीले यसको औचित्यबारे छलफल गरिरहेका छौँ, त्यो आज यस्तो निस्तेज खुकुरी भएको छ, जसले कुभिन्डो पनि काट्न सक्दैन ।

आततायी सत्तासीन शासकका विरुद्ध जनताको न्यायपूर्ण सङ्घर्षमा लागेका पार्टी स्वयं सत्ताधारी भएपछि भातृ सङ्गठनले के गर्ने भन्ने चाल नपाएरै कुहिरोको काग बन्नु परेको हो । मुलुक, व्यवस्था र राजनीतिक दल संक्रमणकालमा यात्रा गर्न लागेपछि भातृ सङ्गठनहरू पनि संक्रमणकालको यात्रामा निस्कनु कुनै अनौठा थिएन । तर, ती भातृ सङ्गठनका नेतृत्वका रूपमा अबको हाम्रो बाटो के ? त्यसको दिशा र गन्तव्य के ? सङ्गठनको औचित्य के ? तथा यसले उठाउने एजेन्डा के ? भन्नेबारेको बहस र छलफलमा हामीले समय खर्चनु औचित्यपूर्ण ठानेनौँ ।

राजनीतिक सङ्क्रमण, व्यवस्था परिवर्तनको गर्भबाट हुर्किएको थियो । व्यवस्था परिवर्तन, राजनीतिक स्वतन्त्रताको लालसाबाट सिर्जित थियो । राजनीतिक स्वतन्त्रताको लालसा हामीमा मानव चेतनाले निम्त्याएको थियो । तत्कालीन समयमा मानव चेतनालाई निर्देशित गर्ने संसारभर यथेष्ट परिदृश्यहरू हाम्रा अघिल्तिर घटी रहेका थिए । भारतीय स्वतन्त्रता आन्दोलन, चाहे चिनिया क्रान्ति ।

दूर क्षितिजमा बल्दै गरेको क्युवाली क्रान्ति होस चाहे अमेरिकामा चल्दै गरेको सङ्घर्ष हाम्रा प्रेरणा श्रोत थिए । त्यसैलाई पच्छ्याउँदै नेपाली जनताको मुक्तिको राजनीतिक क्रान्ति यहाँसम्म आई पुगेको हो । र, त्यसैको जगमा विद्यार्थी आन्दोलनको जग बसेको हो । मुलुभूत रूपमा स्वतन्त्रताको अभिलाषा नै नेपाली राजनीतिक र विद्यार्थी आन्दोलनको भ्रूण थियो ।

त्यसैले कुनै समय विद्यार्थी आन्दोलन दुई (समाजवादी र प्रजातान्त्रिक) धारमा थिएनन् । ती एक भएर अघि बढी रहेका थिए । तर, लक्ष्यसँगै अख्तियार गरिने बाटा फरक हुन्छन् भने जस्तै दुई राजनीतिक विचारधारा बोक्ने एक ठाउँमा अटाउनु सम्भव थिएन ।

तत्कालीन समयमा दुई राजनीतिक विचारधारा बोकेका एक ठाउँमा अटाउन नसके जस्तै प्रचण्डमान सिंहले निर्माण गरेको गोरेटो हुँदै ७० वर्ष लगाएर हामी आजको अत्याधुनिक दुनियाँमा पाइला टेकी सकेका छौँ । यो नयाँ र एतिहासिक जिम्मेवारी बहन गर्ने विद्यार्थी सङ्गठनले नै अबको विद्यार्थी राजनीति र आन्दोलनलाई मूल राजमार्गमा हिँडाउन सक्छ । मूल राजमार्गमा हिँडाउनु भन्नुको अर्थ फेरी पनि यसको इतिहाससँग जोडिन पुग्छ । विश्व राजनीतिक परिदृश्यमा हाम्रो स्वतन्त्रताको पाइला अन्य मुलुकका स्वतन्त्रता आन्दोलनसँग प्रेरित हुन सक्छन् तर, हाम्रो विद्यार्थी आन्दोलन अन्य मुलुकको भन्दा विशिष्ट र भिन्न किसिमको रहेको हामीले बिर्सन मिल्दैन । यसले गर्ने कुनै पनि निर्णयले देशको नीति निर्माणमा प्रभाव पार्न सक्दैन भन्ने होइन ।

यसले शासक र शासितलाई एकै पटक प्रभाव पारेको हामीले स्पष्ट रूपमा विगतमा देखि सकेका छौँ । त्यसैले नेपालको विद्यार्थी आन्दोलनलाई आधुनिक राजमार्गमा हिँडाउनुको अर्थ यसले एउटा नयाँ विम्ब कायम गर्नु हो ।

तर, त्यसका लागि हामीले हाम्रा जिम्मेवारी र दायित्वलाई नयाँ ढङ्गले सोच्नु र परिभाषित गर्नु पर्नेछ ।
त्यस्तो नयाँ सोच र परिभाषा बिना अबका केही वर्षमा हरेक विद्यार्थी सङ्गठनको नियति वर्तमानको नेपाल विद्यार्थी सङ्घको जस्तो हुँदैन भनेर भन्न सकिने आधार हामीसँग निकै कम छन् । कुनै समय नेपाल विद्यार्थी सङ्घको नेतृत्व गरेर पार्टी सभापति बनेका शेरबहादुर देउवाकै पालामा नेवि सङ्घले अधिवेशनको माग गर्दै दर्जनौँ पटक देउवा निवास बुढानीलकण्ठ घेरी सकेको छ । शायद त्यसको परिणाम र नियति होला उनै देउवाले आफ्नो पूर्वसङ्गठनलाई औपचारिक रूपमा विघटन गरिदिएका छन् । हाम्रा जिम्मेवारी र दायित्वलाई नयाँ ढङ्गले सोच्नु र परिभाषित गर्नु पर्नेछ भन्नुको अर्थ यो सवाल कुनै एउटा अमुक विद्यार्थी सङ्गठन र त्यसको नेतृत्वमा को आउने भन्नेसँग जोडिएको छैन । बरु यो सवाल राष्ट्रको दिशा कोर्ने र त्यसको नेतृत्व लिने भावी पुस्तासँग जोडिएको छ । आफ्नो जोबन र जीवन दुवै खर्चेर यहाँसम्म आई सकेका कोही कसैका लागि यो सवाल फगत नेतृत्व लिने वा नलिनेसँग गासिएको छैन ।

बरु यो सवाल जेठ ३ मा एकीकरण भएर ९ महिना बिताई सकेको नेकपाको भातृ सङ्गठन अखिल (क्रान्तिकारी) र अनेरास्ववियु बिचको एकीकरणको पर्खाइले निम्त्याएको राजनीतिक सवाल पनि हो । दुवै सङ्गठनमा प्रत्यक्ष आबद्ध झन्डै १० लाख बढी विद्यार्थीको भविष्य र राष्ट्रको भावी दिशासँग जोडिएको प्रश्न हो यो ।

एकताको पर्खाइमा विद्यार्थीको भविष्य र उनीहरूको चेतनालाई चौबाटोमा सिद्रा सुकाएसरि सुकाईदै छ । हाम्रो बारेमा हाम्रो नेतृत्वले अवश्य सोच्नुपर्छ त्यसमा कुनै शङ्का छैन ।

तर, नेतृत्वले सोच्नु पर्ने कुरा हामीले सोच्नै मिल्दैन र हुँदैन भन्नु तर्क सङ्गत देखिँदैन ।

त्यसैले हाम्रो सङ्गठनको भावी मोडेल, दिशा, गन्तव्य र यसका कार्यक्रमबारे हामी आफैले छलफल गरेर टुङ्गयाउनु पर्छ । किनभने हामीलाई थाहा छ, हाम्रो राजनीतिक नेतृत्व हामी भन्दा धेरै ठुला र गहन मुद्दामा चिन्तनरत छ ।

त्यसैले फेरिएको राजनीतिक परिदृश्यमा अबको विद्यार्थी सङ्गठनले मूलतः आफूलाई चार विषयमा केन्द्रित गर्नुपर्छ । आज भन्दा अघि हामीले पहिलो चरणमा निरकुंशता विरुद्धको आन्दोलनमा सङ्घर्ष गर्‍यौँ । दोस्रो चरणमा गणतन्त्रिक आन्दोलनको सङ्घर्ष गर्‍यौँ । अब तेस्रो चरणमा हाम्रो सङ्घर्ष यिनै चार वटा मुद्दामा केन्द्रित भएमा यसले एउटा गति लिन सक्छ । 

पहिलो, शैक्षिक एजेण्डाको मुद्दा

हामीले बारम्बार हाम्रो शिक्षा नीति ठिक छैन भनेर भनेको सुन्ने गर्छौँ । यस्तो कुरा ती व्यक्तिसमेतले गर्छन् जो आफै पाठ्यक्रम निर्माणमा सहभागी थिए । पाठ्यक्रम निर्माणको विषय कुनै व्यक्ति वा समूहसँग मात्रै सरोकार राख्ने विषय होइन । यो राष्ट्रिय नीति अनुसार कस्तो र कसको ? जनशक्ति पैदा गर्ने भन्ने प्रश्नसँग सम्बन्धित विषय हो । त्यसैले त्यसको मुख्य हिस्सा ओगट्ने समग्र विद्यार्थी सङ्गठनले पाठ्यक्रम निर्माणमा भूमिका खेल्नु पर्छ । र, आवश्यक परे त्यसका लागि सङ्घर्ष पनि गर्नु पर्छ । आजसम्मको शिक्षाको गोरेटो २०२८ सालको शैक्षिक नीतिले कोर्‍यो, हामीले त्यसको विकल्प खोज्नु जरुरी छ कि छैन? जसले आम विद्यार्थीको शिक्षासम्मको पहुँच निर्माणका लागि सङ्घर्ष गरिरहेका हुन्छन्, तिनले नै कस्तो शैक्षिक एजेन्डा निर्माण गर्ने भनेर आफूलाई जिम्मेवार बनाउनु पर्छ कि पर्दैन?

दोस्रो, विज्ञ उत्पादन

अबको विद्यार्थी आन्दोलन विगतको सङ्घर्षको व्याज खाँदै वर्तमानमा क्याम्पसमा विद्यार्थी भेला पारेर पेट्रोलियम पदार्थको मूल्यवृद्धि भयो भन्दै ढुङ्गा–मुढा गरेर पुरा हुँदैन । मूल्य वृद्धिमा सरकारको आलोचना र त्यस विरुद्ध सङ्घर्ष गर्नु सही भए पनि त्यसले अन्ततः विद्यार्थी आन्दोलन प्रति नै नकारात्मकताका विकास गरायो । विद्यार्थीले सङ्घर्ष गर्नुपर्छ । विद्यार्थीले राष्ट्रिय, अन्तर्राष्ट्रिय मुद्दामा बहस, छलफल गर्नुपर्छ । सरकारका अलोकप्रिय कामबाट उसलाई पछि हटाउन सक्नु पर्छ । तर, त्यसको जग बौद्धिकता हुनुपर्छ । त्यस्तो सङ्घर्षको जगमा विषय विज्ञको उत्पादनमा विद्यार्थी आन्दोलनले जोड दिनुपर्छ । हामी एउटा व्यवस्थाबाट अर्को व्यवस्थामा फड्को मारी सकेका छौँ । हिजोसम्म व्यवस्था विरुद्ध सङ्घर्ष गर्दै गरेका हाम्रा नेता आजका नीति निर्माता हुन् । राष्ट्रलाई कति वर्षमा कस्ता–कस्ता जनशक्ति चाहिएको छ भन्नेबारे राज्यका नीति निर्मार्तालाई चासो हुनु स्वाभाविक हो तर, अबको विद्यार्थी आन्दोलनले विषय विज्ञ जनशक्ति अर्थात्, कूटनीतिज्ञ, राजनीतिज्ञ, अन्तर्राष्ट्रिय मामिला जानकार, इन्जिनियर, डाक्टर, शिक्षक, प्रशासक कृषि र बन विज्ञ तथा पत्रकार आदि उत्पादनमा भूमिका किन नखेल्ने ?

तेस्रो, सामाजिक न्यायको मुद्दा

संसारभर पुँजीवादी घोडा चढेर सरकारहरू न्यूनतम सरकारको अवधारणामा अब्बल देखिन खोज्दा धनी झन्–झन् धनी र गरिब झन्–झन् गरिब हुँदैछन् । यसैबिच मेसिनले मजदुरलाई विस्थापित गरिरहेको छ । सामाजिक न्यायको लडाइमा मेसिन ठुलो कि मान्छे भन्ने भ्रम पैदा हुन पुगेको छ । यसो भन्दै गर्दा भर्खरै पुँजीवादमा प्रवेश गर्न लागेको हाम्रो जस्तो मुलुकमा यो कति सम्भव होला भन्ने प्रश्न उठ्न सक्छ । पुँजीवाद हाम्रो सन्तान होइन । यसलाई जन्मदिने र जोगाई राख्न चाहनेले नै हामीलाई यसका यथेष्ट खराबी र अवगुणबारे अवगत गराई सकेका छन् । त्यसैले हामीले त्यसको कोपभाजनबाट जोगिँदै मानवता संरक्षणतर्फ लाग्नु पर्छ । हाम्रो भावी सङ्घर्ष मानवताका लागि सामाजिक न्याय नै हुनुपर्छ ।

 

चौथो, शिक्षा र कर्पोरेट लगानीको मुद्दा

वर्तमान कम्युनिस्ट नेतृत्वको सरकार जो जनमतबाट सरकारको नेतृत्व गर्न आई पुगेको छ, उसले मनन गर्नुपर्छ कि देशको जनशक्ति उत्पादन गर्ने जिम्मा लिएको शैक्षिक संस्था र चाउचाउ उत्पादन गर्ने कम्पनी एउटै कम्पनी ऐन अन्तर्गत दर्ता भएर कसरी सञ्चालन गर्न सकिन्छ ? त्यसैले सबै विद्यालय, क्याम्पसलाई राज्यको अनिवार्य दायित्व भित्र ल्याउनु पर्छ । यही नै नेपालको विद्यार्थी आन्दोलनको भावी एजेन्डा हो । अन्त्यमा जेएनयुमा जीवन बिताएका र त्यही अन्तिम सास लिएका कवि विद्रोहीको कविता सम्झना भइरहेछ :-

म किसान हुँ
आकाशमा धान रोप्दै छु
केही मान्छे भनी रहेछन्
ए पागल ! आकाशमा धान रोपिँदैन
म भन्छु पागल !
यदि धर्तीमा भगवान् रोप्न सकिन्छ भने
आकाशमा धान पनि रोप्न सकिन्छ
र अब त दुबैमध्ये कुनै एउटा मात्र रहन्छ
या धर्तीबाट भगवान् उखेलिन्छ
या आकाशमा धान रोपिन्छ ।

इतिहासको भग्नावशेष, बाँकी रहेको एक मुठी खरानी र लडेको पर्खालसँगै त्यसले बयान गर्ने गर्विलो मौन इतिहासलाई जोगाउन हामी अघि नसर्ने हो भने कसैले हाम्रो इतिहासको जगेर्ना गर्ने छैनन् । इतिहास विजेताको लेखिन्छ न कि हरुवाको ।

लेखक अखिल ( क्रान्तिकारी ) केन्द्रिय उपमहासचिव हुन ।

कान्तिपुर दैनिक बाट साभार गरिएको

About राजेश दुलाल

View all posts by राजेश दुलाल →

Leave a Reply

Your email address will not be published. Required fields are marked *