अन्योलमा स्ववियु निर्वाचन – आरोपप्रत्यारोप मा विद्यार्थी संगठन

काठमाडौं- स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव अन्ततः तोकिएकै मितिमा नहुने निश्चित भएको छ।

पूर्वनिर्धारित तालिका अनुसार त्रिभुवन विश्वविद्यालयले चुनावको मिति फागुन १४ गतेलाई तोके पनि उक्त समयमा चुनाव नहुने निश्चित जस्तै भएको छ। चुनावका लागि एक महिनाअघि नै निर्वाचन तालिका सर्वाजनिक गर्नुपर्छ, जुन अहिलेसम्म हुन सकेको छैन। विश्वविद्यालयले भने चुनावी तालिका सार्वजनिक गर्न नसक्नुको कारण विद्यार्थी संगठनबीचको असहमतिलाई देखाएको छ।

विश्वविद्यालयकी शिक्षाध्यक्ष प्राडा सुधा त्रिपाठीले विद्यार्थी संगठनबीच सहमति नभएका कारण निर्वाचन तालिका सार्वजनिक नभएको बताइन्। परीक्षा तालिका, भर्ना, प्रवेश परीक्षा लगायत सबैको तालिका तयार पारेर स्ववियु चुनावको मिति फागुन १४ मा तोकिएकाले एक हप्ताभन्दा पर जान नसकिने उनको भनाइ छ।

‘तोकिएको समयमा नहुने त पक्का भइसक्यो,’ प्राडा त्रिपाठीले भनिन्, ‘हामी एक हप्ता सार्न सक्छौं, त्योभन्दा उताचाहिँ जान सक्दैनौं । त्यसमा पनि सहमति हुन नसके अर्को वर्षको फागुनमा मात्रै चुनाव हुन्छ।’

माउपार्टी नेपाली कांग्रेससहित सरकारविरुद्ध आन्दोलनमा उत्रिएको नेपाल विद्यार्थी संघले पनि निर्वाचनमा त्यति रुचि देखाएको छैन। उसले निर्वाचनको वातावरण बन्नुपर्ने भन्दै चुनावप्रति अनिच्छा देखाएको छ।

स्ववियु निर्वाचनबारे छलफल गर्न १३ माघमा प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा राखेको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले परिस्थिति प्रतिकूल रहेको भन्दै अहिले चुनाव गर्न नसकिने बताएका थिए।

चुनाव टर्न थालेपछि त्यसबारे छलफल गर्न त्रिभुवन विश्वविद्यालयले सोमबार विद्यार्थी संगठनहरुलाई बोलाएको छलफलमा पनि नेविसंघले आफू आन्दोलनमा रहेको भन्दै उपस्थिति जनाएन।

स्ववियु निर्वाचन तोकिएकै समयमा नहुने अवस्था आएपछि विद्यार्थी संगठनहरु भने एक-अर्काविरुद्ध आरोप-प्रत्यारोपमा उत्रिन थालेका छन्। उनीहरु एक-अर्कालाई चुनावबाट भाग्न खोजको आरोप लगाइरहेका छन्।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का विद्यार्थी संगठनहरु नेविसंघले चुनाव नचाहेको आरोप लगाइरहेका छन्। त्यस्तै, सत्तारुढ दल निकट विद्यार्थी संगठनले चुनाव नचाहेको नेविसंघको आरोप छ।

तत्कालीन नेकपा (एमाले) को विद्यार्थी संगठन अनेरास्ववियुका सचिव आरसी लामिछानेले आन्तरिक विवादमा फसेका कारण नेविसंघले चुनावबाट भाग्न खोजेको आरोप लगाए। ‘नेविसंघ आन्तरिक विवादमा रुमल्लिएको छ,’ उनको दाबी छ, ‘उसको अध्यक्ष को भन्ने पनि अहिले अन्योलग्रस्त छ। चुनाव सार्न उपकुलपतिमार्फत उसले त्यो कुरा पनि पुर्याएको छ। त्यो षड्यन्त्रलाई हामी सफल हुन दिँदैनौं।’

१४ गते चुनाव हुन नसके फागुनभित्र जसरी पनि चुनाव गराउनुपर्ने उनी बताउँछन्। चुनाव गराउन नसके त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरु यथावत् नरहने उनले चेतावनीसमेत दिए। ‘उहाँहरुले निर्धारित मितिमै चुनाव गर्नुपर्छ। उहाँहरु भाग्न पाउन हुन्न,’ उनले भने।

तत्कालीन नेकपा (माओवादी केन्द्र) को विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) का अध्यक्ष रन्जित तामाङ पनि तोकिएकै मितिमा चुनाव हुनुपर्ने बताउँछन्।

सत्तारुढ निकट दुई विद्यार्थी संगठनले नेविसंघले चुनाव नचाहेको आरोप लगाए पनि नेविसंघ भने उनीहरुले नै चुनाव नचाहेको बताउँछ।

नेविसंघका अध्यक्ष नैनसिंह महर स्ववियुका लागि आफूहरु लडेर आएको भन्दै निर्वाचनभन्दा बाहिर जानै नसक्ने बताउँछन्। सत्तारुढ दलका विद्यार्थी संगठनहरुबीच गुटबन्दी रहेको भन्दै महर उनीहरु नै चुनाव नचाहेको नचाहेको दाबी गर्छन्। ‘एउटै संगठनमा पनि तीन-चार वटा समूह छ,’ उनी भन्छन्, ‘दुई संगठन मिलाउन सकेको अवस्था छैन। उनीहरुभित्र द्वन्द्व भएकाले कसलाई, कसले टिकट दिने भन्ने मारामार छ।’

सरकार अलोकप्रिय गतिविधिमा संलग्न भएको दाबी गर्दै महर त्यही कारण सत्तारुढ दलका विद्यार्थी संगठनले चुनाव नचाहेको दाबी गर्छन्। ‘यत्रो चरम आतंक, महँगाइ, भ्रष्टाचार र माफियातन्त्रले जरो गाडेको बेला विद्यार्थीहरु पनि यसबाट निरपेक्ष हुन सक्दैनन्,’ उनी भन्छन्, ‘स्ववियुमा उनीहरुले आफूले सोचेजस्तो प्रतिफल ल्याउन सक्दैनन्। यही कारण यो चुनाव उनीहरुले चाहेका छैनन्।’

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *