सेभिल्लाको पोस्टमा बार्सिलोनाको आधा दर्जन गोल

एजेन्सी – दोस्रो लेग खेलमा उत्कृष्ट पुनरागमन गर्दै स्पेनिस ‘पावर हाउस’ बार्सिलोनामा कोपा डेल रे फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। बार्सिलोनाले बिहीबार बिहान घरेलु मैदानमा खेलिएको क्वार्टरफाइनलको दोस्रो लेग खेलमा बलियो प्रतिद्वन्द्वी सेभिलमाथि ६-१ गोलको जित हासिल गर्‍यो।

जितसँगै बार्सिलोना ६-३ कुल गोल भिन्नताका आधारमा प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो। गत साता सेभिलको घरेलु मैदानमा खेलिएको क्वार्टरफाइनलको पहिलो लेग खेलमा बार्सिलोना २-० गोलले पराजित भएको थियो ।

दोस्रो लेग खेलमा बार्सिलोनाको सजिलो जितमा फिलिप कोउटिन्होले दुई गोलको योगदान गरे। इभान राकिटिच, सर्जी रोबर्टो, लुइस स्वारेज र लियोनल मेसीले पनि एक/एक गोल थपे। खेल सुरु भएको १३औं मिनेटमै कोउटिन्होले पेनाल्टीमार्फत पहिलो गोल गरेका थिए ।

निर्धारित समयको ३१औं मिनेटमा राकिटिचले गोल गरेपछि पहिलो हाफमै बार्सिलोना २-० ले अगाडि रह्यो। त्यसअघि २७औं मिनेटमा सेभिलका अनुभवी खेलाडी इभर बानेगाले पेनाल्टी प्रहारको अवसरलाई खेर फालेका थिए ।

खेल अवधिभर ६२ प्रतिशत समय आफ्नो खुट्टामा बल नचाएका बार्सिलोनाका खेलाडीले दोस्रो हाफमा पनि सेभिलको पोष्टमा चार गोल थपे। ५३औं मिनेटमा कोउटिन्होले ब्यक्तिगत रुपमा दोस्रो गोल गरेपछि बार्सिलोना ३-० ले अगाडि बढ्यो ।

यसैगरी त्यसको एक मिनेटपछि नै सर्जी रोबर्टोले टोलीलाई ४-० गोलको अग्रता दिलाए। ६७ औं मिनेटमा सेभिलका लागि ग्विलेर्म आर्नाले जवाफी गोल गरेपछि खेल ४-१ को स्थितिमा पुगेको थियो। त्यसपछि बार्सिलोनाका लागि खेलको ८९ औं मिनेटमा लुइस स्वारेज र इन्जुरी समयको दोस्रो मिनेटमा लियोनल मेसीले एक/एक गोल थपेका थिए ।

बार्सिलोनासँगै रियल बेटिस पनि प्रतियोगिताको समिफाइनलमा पुग्न सफल भयो। रियल बेटिसले बिहीबार घरेलु मैदानमा खेलिएको क्वार्टरफाइनलको दोस्रो लेग खेलमा स्पान्योललाई ३-१ गोलले पराजित गर्‍यो। रियल बेटिस ४-२ कुल गोल भिन्नताका आधारमा सेमिफाइनलमा पुगेको हो ।

अघिल्लो साता स्पान्योलको घरेलु मैदानमा खेलिएको पहिलो लेग खेल १-१ गोलको बराबरीमा सकिएको थियो। भ्यालेन्सिया भने यसअघि नै सेमिफाइनलमा पुगिसकेको छ। भ्यालेन्सियाले गेटाफेलाई ३-२ कुल गोल भिन्न्ताका आधारमा हराएको थियो ।

सेमिफाइनलमा पुग्ने अन्तिम टोलीको टुंगो भने शुक्रबार बिहान लाग्ने छ। क्वार्टरफाइनलको दोस्रो लेग खेलमा शुक्रबार रियल म्याड्रिडले गिरोनाको सामना गर्दैछ। अघिल्लो साता घरेलु मैदानमा खेलिएको पहिलो लेग खेलमा रियल म्याड्रिड ४-२ गोलले विजयी भएको थियो।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *