गौतम बुद्ध रंगशाला ३ अर्ब लागतमा निर्माण हुने

काठमाडौं – २०७२ वैशाखको भूकम्पपछि एकीकृत बस्ती निर्माणमा जुटेको धुर्मुस–सुन्तली फाउण्डेसनले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको घोषणा गरेको छ । आज बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा रंगशाला निर्माणका लागि फाउण्डेसन र भरतपुर महानगरपालिकाबीच सम्झौता भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा फाउण्डेसनका तर्फबाट सीताराम कट्टेल र भरतपुर महानगरपालिकाका तर्फबाट मेयर रेणु दाहालले सम्झौतापत्रमा हस्ताक्षर गरे । समारोहमा प्रधानमन्त्री ओलीका साथै नेकपा अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका नेता शशांक कोइराला, कलाकार मदनकृष्ण श्रेष्ठलगायतको सहभागिता थियो ।

त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा भरतपुर–१६ मा रहेको कृषि तथा वन विश्वविद्यालयले भोगचलन गरिरहेको जग्गा महानगरले रंगशाला निर्माणका लागि उपलब्ध गराउने सम्झौता यसअघि नै भइसकेको छ । गुरुयोजना तयार भएको २ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको रंगशाला २० विगाह ६ कठ्ठा क्षेत्रफलमा बन्ने फाउण्डेसनका प्रमुख सीताराम कट्टेलले जानकारी दिए ।

उनका अनुसार आईसीसीको सबै मापदण्ड पूरा गरी बन्ने रंगशालाको नाम गौतम बुद्ध रंगशाला रहनेछ । रंगशालाको अग्रभाग स्तुप शैलीको हुनेछ भने खेल मैदान वरिपरिको भाग कमलको फूलको आकारमा हुनेछ । करिब २५ हजार दर्शक क्षमताको रंगशाला निर्माणका लागि ३ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । सबै रकम स्वेच्छिक सहयोगबाट उठाउने फाउण्डेसनले बताएको छ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *