ला लिगामा मेसिको ३९९औं गोल, रियल घरेलु मैदानमा पराजित

म्याड्रिड : स्पेनिस ला लिगा फुटबलको सोमबार बिहान खेलिएको खेलमा ‘लिग लिडर’ बार्सिलोनाले जित हात पारेको छ भने चिरप्रतिद्वन्द्वी रियल म्याड्रिडले घरेलु मैदानमा नमीठो पराजय भोगेको छ । बार्सिलोनाले गेटाफेलाई उसैको मैदानमा २—१ गोलले हरायो भने जारी सिजनको घरेलु लिगमा गतिलो प्रदर्शन गर्न नसकिरहेको रियल घरेलु मैदानमै रियल सोसिएडाडसँग २—० गोलले स्तब्ध बन्यो ।

बार्सिलोनाको जितमा अर्जेन्टिनी स्टार लियोनल मेसी र उरुग्वेका प्रभावशाली खेलाडी लुइस स्वारेजले एक÷एक गोलको योगदान गरे । खेल सुरु भएको २०औं मिनेटमा मेसीले टोलीका लागि पहिलो गोल गरे । ला लिगामा मेसीले गरेको यो तीन सय ९९औं गोल हो । ३९औं मिनेटमा स्वारेजले टोलीको अग्रतालाई दोब्बर बनाएका थिए । पहिलो हाफको खेल सकिनुभन्दा दुई मिनेटअघि जाइम माटाले गेटाफेका लागि एक गोल फर्काएका थिए ।

ला लिगाको रेलिगेसन क्षेत्रमा रहेको एथलेटिक बिल्बाओ र सेल्टा भिगोबाहेक सबै टोलीले १८÷१८ खेल खेलिसकेका छन् । ४० अंकसहित बार्सिलोना तालिकाको पहिलो स्थानमा छ । बार्सिलोनासँग पाँच अंकले पछाडि परेको एट्लेटिको म्याड्रिडको ३५ अंक छ । ३३ अंकसहित सेभिल तेस्रो, ३१ अंकसहित आल्भेस चौथो र ३० अंकसहित रियल म्याड्रिड पाँचौं स्थानमा छन् ।

रियल म्याड्रिडविरुद्घको खेलमा रियल सोसिएडाडका लागि विलियन होजेले तेस्रो मिनेटमै पेनाल्टीमार्फत पहिलो गोल गरे । निर्धारित समयको खेल सकिनुभन्दा सात मिनेटअघि रुबेन पार्डोले टोलीको अग्रता दोब्बर बनाएका थिए । त्यसअघि ६१औं मिनेटमा रियल म्याड्रिडका लुकास भासक्वेज दोहोरो पहेँलो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए । कलात्मक खेलभन्दा पनि शारीरिक घम्साघम्सीमा बढी ओर्लिएको रियल म्याड्रिडको खेलाडीका लागि रेफ्रीले ६ वटा पहेँलो कार्ड खर्चिएका थिए ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *