बिवादमा जानकी मेडिकल कलेज: प्रवेश परिक्षा बिना विद्यार्थी भर्ना गरेकाे खुलासा

जनकपुर– पटक-पटक विवाद आइरहेको धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाको रमदैयास्थित जानकी मेडिकल कलेज पुनः विवादमा तानिएको छ।

जनकपुरको एकमात्र जानकी मेडिकल कलेजले प्रवेश परीक्षा बिनै विद्यार्थी भर्ना गरेपछि पुनः विवादमा तानिएको हो।

कलेजले चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)लाई ढाँटेर ३४ भारतीय विद्यार्थीलाई एमबिबिएसमा भर्ना गरेको थियो। प्रवेश परीक्षा बिना नै विद्यार्थीहरुलाई मोटो रकम लिएर कलेजले भर्ना लिएको थियो।

ती विद्यार्थीहरूले परीक्षामा सामेल हुन नपाउने भएपछि रहस्य खुलासा भएको हो।

प्रक्रियाविपरीत भर्ना लिइएका विद्यार्थीहरूलाई भोलि ५ पुस गते सुरु हुने परीक्षामा सहभागी हुनबाट आइओएमले वञ्चित गरेको हो।

कर्मचारीको आन्दोलन र व्यवस्थापकीय किचलोले कलेज स्थापनाको १४ वर्षमा ६ सञ्चालक फेरिएका छन्। असारदेखि कलेजको एकल स्वामित्व ओपी पाण्डेले सम्हालेका छन्।

एमबिबिएस अध्ययनका लागि नेपाल आउने विदेशी विद्यार्थी र विदेश जाने नेपाली विद्यार्थीले आइओएमको प्रवेश परीक्षा उत्तीर्ण हुनै पर्ने प्रावधान छ। तर, ती ३४ विद्यार्थीले प्रवेश परीक्षा नै दिएका छैनन्।

कलेजले एमबिबिएस प्रथम वर्षको अन्तिम परीक्षाका लागि ८० विद्यार्थीको फर्म आइओएमलाई पठाएको थियो।

‘कलेजमा एमबिबिएस पहिलो वर्षमा ४६ विद्यार्थी अध्ययन गरिरहेको तथ्यांक मात्र हामीसँग छ,’ आइओएमका डिन डा। जगदीशप्रसाद अग्रवालले भने, ुबाँकी विद्यार्थीलाई हामीले चिनेका नै छैनौँ।’

जानकी मेडिकल कलेजका कार्यकारी प्रमुख धनध्वज मल्ल ठकुरीले परीक्षाका लागि पठाइएका८० विद्यार्थीको फर्ममध्ये ३४ जनाको अस्वीकृत भएको स्विकार गरे। कलेजको एमबिबिएसको यो १३ औं ब्याच हो।

‘एमबिबिएसमा अध्ययनरत ३४ भारतीय विद्यार्थीको परीक्षा अन्योलमा परको छ,’ कलेजका कार्यकारी प्रमुख ठकुरीले भने, ‘भारतीय विद्यार्थीलाई परीक्षामा सहभागी गराउन अदालतमा हालेको रिट पनि खारेज भएको छ। तर पनि उनीहरूलाई परीक्षामा सहभागी गराउने प्रयास भइरहेकोछ।’

आइएओएमको प्रवेश परीक्षा नदिएर एमबिबिएसमा भर्ना भएका ३४ भारतीय विद्यार्थीलाई पहिलो वर्षको परीक्षामा सामेल गराउन कलेजले एउटा पुरानो नजिर टेक्दै उच्च अदालत, पाटनमा रिट दिएको थियो। तर, साताअघि अदालतले कलेजको रिट खारेज गरिदिएको छ।

भारतको उत्तर प्रदेश, विहार, पश्चिम बंगाल, पञ्जाव, नयाँदिल्ली, गुजरात र राजस्थानका ३४ भारतीय विद्यार्थी मोटो रकम दिएर जानकी मेडिकल कलेज भर्ना भएका थिए।

श्रोतकाअनुसार भारतीय एक विद्यार्थीले करिब ५० लाख रुपैयाँ एमबिबिएस भर्नामा खर्चेका छन्।

कलेजले ३४ विद्यार्थीसँग १७ करोड रुपैयाँभन्दा बढी असुलेको छ। ‘भारतीय कन्सल्टेन्सी मार्फत उनीहरू एमबीबीएस भर्ना भएको बताइएको छ।

About राजेश दुलाल

View all posts by राजेश दुलाल →

Leave a Reply

Your email address will not be published. Required fields are marked *