मन्त्रिपरिषद् पुनर्गठनको माग नेकपा स्थायी समितिमा उठ्यो, होला त हेरफेर ?

काठमाडौं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठकमा मन्त्रिपरिषद् पुनर्गठन गर्नुपर्ने माग उठेको छ।

बुधबारको बैठकमा स्थायी समिति सदस्य रघुजी पन्तले सरकारको कामको समीक्षा प्रधानमन्त्री स्वयंले गर्नुपर्ने माग गरेका थिए। ‘सरकारको गतिशीलता देखिएन। मन्त्रीहरुको कामको मूल्यांकन गरेर प्रधानमन्त्रीले मन्त्रिपरिषद पुनर्गठन गर्नुपर्छ’, उनले भने, ‘यो सरकारले जुन तरिकाले जनतालाई सर्भ गर्नसक्नुपर्थ्यो, त्यो सकेन। सक्षमहरुलाई राखेर अक्षमहरुलाई हटाउनुपर्‍यो। मन्त्रिपरिषद्लाई पुनर्गठन गर्नुपर्‍यो।’

पन्तले विधान स्थायी समितिले भनेको भन्दा विपरित आएको भन्दै आपत्ति जनाए। ‘राजनीतिक र सांगठनिक निर्णय अधिकार लियो, त्यो उसले लिन मिल्दैन। स्थायी कमिटीमा फिर्ता हुनुहुँदैन’, उनले भने।

चीनसँग भएका सन्धीहरुलाई अविलम्ब कार्यान्वयन गर्न उनले माग गरे। उनले सातै प्रदेशलाई छुने गरेर उत्तर दक्षिण राजमार्ग बनाउन प्रस्ताव समेत गरे।

एसिया फ्यासिफिक समिटमा नेताहरुको सहभागिताको विषयमा पनि उनले कुरा उठाएका थिए। ‘नेताहरुले आत्मालोचना गर्नुपर्छ’, उनले भने।

उनले एक व्यक्ति एक पदको कुरा लागू गर्नुपर्ने बताए। ‘विधानमै मुख्य जिम्मेवारी एउटा मात्रै लिने भनिसकेपछि मुख्यमन्त्री भइसकेपछि प्रदेशको इन्चार्जको जिम्मेवारी लिनुहुँदैन। या त मुख्यमन्त्रीको जिम्मेवारी लिनुहुँदैन’, उनले भने, ‘दुइटै जिम्मेवारी लिनुहुँदैन। मापदण्ड अनुसारको प्रदेश कमिटी बनाउनुपर्छ।’

पन्तले नेताहरुले गोजीबाट नाम झिकेर प्रदेश कमिटी बनाएको भन्दै विरोध गरे।

बैठकमा बोल्दै नेता लेखराज भट्टले सरकारले गरिरहेको कामबारे तल्ला तहमा पनि सूचना लैजानुपर्ने बताए। उनले सरकार र पार्टीको अन्तर्क्रिया नभएकोमा असन्तुष्टि जनाए। ‘सरकारको काम कारबाही हामीसम्म नै आइपुगेन, त्यसैले जनतामाझ जान पाएन। त्यसैले जनतामा निराशा पैदा भयो’, उनले भने।

उनले अध्यक्षद्वयको प्रतिवेदन खँदिलो नभएको टिप्पणी गरे। ‘लामो व्याख्या बढी भयो’, उनले भने’, ‘यद्यपि, प्रतिवेदनमा मेरो समर्थन नै छ।’

अर्का नेता भीम आचार्यले पार्टीमा लोकतान्त्रिकरण जरुरी रहेको बताए।

उनले पनि एसिया प्यासिफिक समिटमा सहभागिता गलत भएको र आत्मालोचना हुनुपर्ने बताएका थिए।

केही दिनयता नेकपाको स्थायी समिति बैठक जारी छ। आजको बैठकमा आठ नेताले बोलेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

About राजेश दुलाल

View all posts by राजेश दुलाल →

Leave a Reply

Your email address will not be published. Required fields are marked *