ठेकेदार को २५ करोड धराैटी जफत गरेर मेलम्ची खानेपानीको काम अघि बढाउने तयारीमा मन्त्रालय

काठमाडौं मेलम्ची खानेपानी आयोजनाकाे सुरुङ खन्ने ठेकेदार कम्पनी आर्थिक रुपमा संकटग्रस्त भएको भन्दै भाग्न खोजेपछिको विवाद समाधानका लागि खानेपानी मन्त्रालयले परामर्श दाता कम्पनीलाई अवस्था अध्ययन गर्न निर्देशन दिएको छ।

परामर्शदाता कम्पनी ‘इप्टिसा’लाई मेलम्ची आयोजनाको सुरुङ निर्माणको अवस्थाबारे प्राविधिक विश्लेषणसहितको प्रतिवेदन तयार गरी एक हप्ताभित्र पेस गर्न भनिएकाे हो।

खानेपानी मन्त्रालयले जारी गरेको वक्तव्यमा सुरुङको हालकाे अवस्था जानकारीमा आएपछि मात्र ठेकेदारसँग ठेक्का रद्ध गर्ने वा जरिवाना गर्ने विषयमा निर्णय गर्ने भन्दै परामर्शदाता कम्पनीलाई कामको विश्लेषण गर्न निर्देशन दिएको हो।

इटालीको ठेकेदार कम्पनी ‘सीएमसी’ले मेलम्ची खानेपानी आयोजनालाई करिब दुई हप्ताअघि नै सम्झौता रद्द गर्ने सूचना दिएको थियाे।

आइतबार कम्पनीका कर्मचारीहरुले भाग्ने तयारी गरेपछि सरकारले ८ जनाको राहदानी खोसेको थियो। आयोजना निर्माणको ९० प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेका बेला ठेकेदार कम्पनीका नेपालस्थित प्रतिनिधिहरू काम छाेडेर भाग्न लागेपछि सरकारले उनीहरुलाई नियन्त्रणमा लिएको थियो।

बाँकी कामका लागि क्षतिपुर्ति वा थप रकम दिएर सोही कम्पनीलाई लगाउने कि अर्को टेन्डर गर्ने विषयमा समेत निर्णय गर्नका लागि परामर्श दाताको प्रतिवेदन आवश्यक भएको मन्त्रालयले जनाएको छ।

खानेपानी मन्त्रालयले विभिन्न पक्षसँग परामर्श गरेको थियो। तर, त्यसबाट कुनै निष्कर्ष आउन नसकेपछि यस्तो निर्णय गरेको हो।

ठेकेदार कम्पनीको बैंकमा धरौटीबापत करिब ३ अर्ब रुपैयाँ रहेको र कम्पनी सहमतिमा नआए सोही रकम जफत गरेर काम अघि बढाउने तयारीमा सरकार रहेको छ।

सुरुङको बाँकी कामका लागि आयोजनालाई करिब २५ करोड रुपैयाँ भए पुग्ने अनुमानअनुसार ‘सीएमसी’ले काम छाेडेपनि लागत रकममा थप भार नपर्ने मन्त्रालयकाे दाबी छ।

About राजेश दुलाल

View all posts by राजेश दुलाल →

Leave a Reply

Your email address will not be published. Required fields are marked *