भाषा परीक्षामार्फत नेपाली कामदारलाई जापान जाने बाटाे खुल्याे

काठमाडौं जापान सरकारले रोजगारीका लागि श्रमिक आपूर्ति गर्ने देशमा नेपाललाई सूचीकरण गरेको छ। जापान सरकारको महत्वाकांक्षी योजनाका रुपमा रहेको जापानी भाषा परिक्षामार्फत कामदार आपूर्ति गर्न यसअघि प्रस्तावित ७ देशमा नेपाललाई पनि थप गरिएको हो।

कम्वोडिया, फिलिपिन्स, भियतनाम, इन्डोनेसिया, चीन, थाइल्यान्ड र म्यानमारलगायतका ७ देशको नाम गत हप्ता सार्वजनिक गरि बाँकी एक देशसँग छलफल भइरहेको बताइएपनि सोमबार ९ देशमा भिसा प्रकृयाका लागि जाँच लिने प्रस्ताव गरिएको हो। प्रस्तावित बाँकी राष्ट्रमा आठौं राष्ट्र मंगोलिया छ भने नवौं स्थानमा नेपाललाई राखिएको छ।

यस बारेमा जापानको न्याय मन्त्रालयलाई उद्धृत गर्दै सरकारी समाचार संस्था एनएचकेले खबर सम्प्रेषण गरेको छ। यस नियम लागू भएसँगै नेपाली युवाका लागि जापान प्रमुख रोजगार गन्तव्य देशका रुपमा विकास हुने अनुमान गरिएको छ।

सोमबार जापानी न्याय मन्त्रालयले प्रस्ताव गरेको ड्राफ्टमा २ देश थप गरिएको हो। एक हप्तापश्चात् मन्त्रालयले आवश्यक पक्रियामा छलफल गरी उक्त प्रस्ताव मन्त्रिपरिषद् बैठकबाट पारित गराइने बताइएको छ।

जापान सरकारले देशभर श्रमिक अभाव हुन नदिन बढी भन्दा बढी विदेशी कामदार लैजाने सम्बन्धी विधेयक पारित गरिसकेको छ। मन्त्रिपरिषद् बैठकबाट उक्त प्रस्ताव पारित हुनसके कामदार आपूर्ति गर्ने देशहरुसँग सम्झौता भई जापानमा काम गर्न जाने विदेशी कामदारका हकमा सहज हुने आँकलन गरिएको छ। नयाँ प्रक्रिया लागू भए जापान जाने कामदार ठगिने क्रमको पनि अन्त्य हुने विश्वास लिइएको छ।

जापानमा हाल रहेको प्राविधिक प्रशिक्षार्थी प्रणालीअन्तर्गत दलालहरुले विदेशी कामदारबाट ठूलो परिमाणमा रकम असुल्ने गरेको पाइएकाले पनि जापान सरकारले सम्झौता हुने दुई देशबीच सूचना आदनप्रदानलाई सहज बनाउने योजना पनि अघि सारेको छ।

About राजेश दुलाल

View all posts by राजेश दुलाल →

Leave a Reply

Your email address will not be published. Required fields are marked *