डा. तुलसी गिरि, जो सबैभन्दा सानो उमेरमा प्रधानमन्त्री बने

पूर्वप्रधानमन्त्री डाक्टर तुलसी गिरीको ९३ वर्ष उमेरमा मंगलबार बिहान निधन भएको छ। कलेजोको क्यान्सर भएका गिरी केही दिनअघि मात्र अस्पतालबाट डिस्चार्ज भएका थिए।

उनको निधनसँगै नेपालमा एकदलीय व्यवस्थाका एक अविचलित हिमायतीको अन्त्य भएको छ। उनी निर्दलीय पञ्चायती व्यवस्थाका सबैभन्दा अग्ला नेता हुन्— बौद्धिक र निष्ठा दुवै हिसाबले।

कलकत्तामा डाक्टरी पढेर नेपाल फर्किएपछि उनी युवा अवस्थामै राजनीतितिर आकर्षित भए। २००८ सालमा कांग्रेस पार्टीको सदस्यता लिए।

तीक्ष्ण बुद्धिका गिरीको नेपाली कांग्रेसका नेता बिपी कोइरालासँग सुरुदेखि नै खुब जम्यो। तर्क, वाकपटुता र तीव्र प्रवाह डा. गिरीका पुँजी थिए। बिपी सुरुदेखि नै उनीसँग प्रभावित भए ।

२०१२ सालमा वीरगन्जमा भएको नेपाली कांग्रेसको महाधिवेशनले उनलाई पार्टीको महामन्त्री नै बनायो। अब उनी सांगठनिक हिसाबले पनि बिपीका सारथि बने।

त्यो बेला बौद्धिक हिसाबले बिपीसँग तर्क र बहस गर्न सक्नेमा डा. गिरी र सूर्यप्रसाद उपाध्यायजस्ता केही नेता मात्र कांग्रेसमा थिए।

२०१५ सालको चुनावमा गिरी सिरहाबाट महासभा सदस्य चुनिए। बिपी कोइरालाको मन्त्रीमण्डलमा सहायक मन्त्री बने।

विस्तारै गिरी बिपीमाथि नै हाबी हुन थाले। बिपीले उनका कुरा मान्नैपर्ने गरी दबाब हाल्न सक्ने भए।

सायद बिपीले उनीमाथि धेरै नै भर गरे। सायद गिरीको रफ्तार धेरै नै तेज थियो। सायद उनलाई बिपीले आफ्नो रफ्तार रोकेको लाग्न थाल्यो।

उनी कांग्रेसमा बिपीलाई विस्थापित गर्न सक्दैन थिए। राणा शासन उनले हटाएका थिएनन्। कांग्रेस उनले बनाएका थिएनन्। सबैमा बिपीको नायकत्व स्थापित थियो। बिपीको व्यक्तित्व पनि उनको भन्दा कम थिएन। त्यो झनै बहुआयामिक र बृहत थियो।

डा. गिरी कांग्रेस पार्टीमा उनको टक्करमा आउँदैन थिए। त्यसैले अघि बढ्न उनले अर्कै सवारी रोज्नुपर्थ्यो। कांग्रेस उनको सवारी बन्न सक्दैनथ्यो।

परिस्थितिले त्यो पनि जुरायो।

राजा महेन्द्र पश्चिम नेपाल भ्रमणमा जाने भए। पोखरासम्म प्रधानमन्त्री बिपी पनि सँगै गए। त्यसपछि डा. गिरीलाई राजाको सवारी मन्त्री बनाएर पठाए।

त्यही दुईहप्ते पश्चिम भ्रमणमा राजा र डा. गिरीको आन्द्रा गाँसियो। दुवैको निसाना एउटै थियो‍— बिपी कोइराला।

उनले डा. गिरीलाई त्यसको काबिल पाए।

३५ वर्षकै उमेरमा नेपालको सबैभन्दा कलिलो प्रधानमन्त्री बन्ने अवसर गिरीलाई प्राप्त भयो।

पञ्चायती व्यवस्थामा २०१९ देखि २०३४ सम्म गिरी तीनपटक प्रधानमन्त्री बने।

भित्रैदेखिको विश्वास वा रणनीतिक कारण जे होस्, जहिलेदेखि डा. गिरी एकदलीय व्यवस्थाका हिमायती बने, त्यसलाई जीवनपर्यन्त निर्वाह गरे।

एकदलीय शासनको वकालत गरेर डा. गिरी प्रधानमन्त्री बनेपछिका झन्डै ५५ वर्षमा धेरै बहुदलवादी पञ्च भए, धेरै पञ्च बहुदलवादी भए। तर, उनको एकदलीय व्यवस्थाप्रतिको निष्ठा कहिल्यै डगमगाएन ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *