यस्तो छ डा. तुलसी गिरिको राजनीतिक इतिहास

उनी नेपाली कांग्रेसका नेता बीपी कोइरालासँगै काम गरेका थिए । २०१७ सालको कदममा राजा महेन्द्रलाई उनले साथ दिएका थिए । पछि राजा ज्ञानेन्द्रले माघ १९को कदम चालेपछि बनाएका दुई उपाध्यक्षमा एक जना डा गिरी थिए भने अर्का कीर्तिनिधि बिष्ट थिए ।

२०३६ सालमा तत्कालीन राजा बीरेन्द्रले जनमत संग्रह घोषणा गरेकोमा त्यसमा असहमति जनाउँदै उनी श्रीलंका गएका थिए ।

डा. गिरी चिकित्सक भएर पनि चिकित्सा पेशा नअपनाएर राजनीतिमा होमिएका व्यक्तित्व हुन्  । डा. गिरीको राजनीतिक जीवनको थालनी मूलतः तत्कालिन कांग्रेस नेता विश्ववन्धु थापाको संगतमा आएपछि अगाडि बढेको मानिन्छ । तथापि, डा. गिरीको पारिवारिक पृष्ठभूमि राजनीतिक नै रहेको थियो ।

नेपाली कांग्रेसका नेता विश्वेश्वरप्रसाद कोईरालाको संगतमा पुगेपछि डा. गिरीको राजनीतिक उचाई बढ्दै गएको मात्र नभएर उनको गतिविधिमा पनि तीव्रता आएको राजनीतिमा चासो राख्ने र डा. गिरीलाई चिन्नेहरु बताउँछन् ।

सिरहा जिल्लामा जन्मिएर जनकपुरमा पढे बढेका गिरी राजनीतिक यात्राको थालनीदेखि नै उच्चतहका नेताहरुको दृष्टिमा पुगेका थिए । उनको चातुर्यता र काम गराइबाट बीपी कोइराला पनि प्रभावित भएका थिए ।

बरिष्ठ राजनीतिज्ञ विश्वबन्धु थापासँग केहि समय अघि गरेको कुराकानीमा उनले भनेका थिए–बीपीसित नजिक हुनका लागि डा. गिरी विश्वबन्धुको निकट भएका थिए ।”

दरभंगा जाँदैगर्दा ट्रेनमा भेटिएका कांग्रेस नेता विश्वबन्धु र एमबीबीएस पढदै गरेका तुलसी गिरीका बीचमा परिचय भएको थियो । पछि डा. गिरी वीर अस्पतालमा आएर डाक्टरकारुपमा कार्यरत रहँदा फेरि पनि थापासँग भेट भएर निकटता बढ्दै गएको विश्वबन्धुले बताएका थिए ।

बीपी कोइरालाको अत्यन्त निकट रहेका थापाको सानिध्यले डा. गिरीलाई पनि बीपीको नजिक पु¥याएको र त्यस उप्रान्त उनको राजनीतिक यात्राले गतिलिएको राजनीतिज्ञ थापाले जनाएका थिए ।

राजनीतिज्ञ थापाका अनुसार डा. गिरी राजनीतिक सोच भएका तर अति महत्वाकाँक्षी व्यक्ति थिए । यसरी हेर्दा उनको त्यही राजनीतिक सोच र नवीन दृष्टिकोणले उनी पार्टीमा माथिमाथि उक्लिँदै गए पनि उनको महत्वाकांक्षा आफ्नै लागि प्रतिकूल हुँदै गएको थियो ।

थापाका अनुसार कांग्रेसमा त्यसबेला रुद्रप्रसाद गिरी अघि बढिसकेका थिए तर राजनीतिक पोटेन्सीयालिटी जति तुलसी गिरीमा थियो रुद्रप्रसादमा नभएकोले पनि तुलसी गिरी सबैका विश्वास पात्र बन्दै गएका थिए ।

बीपीको विश्वास जित्न सफल डा. गिरी नेपाली कांग्रेसको महामन्त्रीसम्मको जिम्मेवारी सम्हाल्न पुगेका थिए । तर पछि उनले राजा महेन्द्रको तत्कालिन कदमलाई साथ दिँदै राजाको प्रत्यक्ष शासनमा उपाध्यक्षको भूमिका निर्वाह गरेका थिए  ।

डा. तुलसी गिरी पञ्चायती व्यवस्थामा पटक पटक प्रधानमन्त्री पनि भए । तर कुशल दृष्टिकोण राख्ने उनले खासै वृहत कार्य गर्न सकेको भने देखिँदैन । उनको कार्यशैलीभन्दा पनि उनको महत्वाकांक्षाले उनलाई राजा महेन्द्रले प्रयोग मात्रै गर्दै आएका थिए भन्ने आकलन गर्न सकिन्छ । राजदरबारका पूर्वसंवाद सचिव रेवतीरमण खनालको आत्मकथा ‘अनुभूति र अभिव्यक्ति’मा उल्लेख भएको एउटा परिच्छेदमा ध्यान दिने हो भने २०१७ सालमा बीपीलाई त्यागेर आफूलाई सहयोग गर्ने तुलसी गिरीप्रति राजा महेन्द्रको दृष्टिकोण कस्तो थियो भन्ने अनुमान गर्न सकिन्छ ।

रेवतीरमण खनालको पुस्तकमा राजा महेन्द्रलाई उद्धृत गर्दै लेखिएको छ –… ‘यो पाइनदार अरबी घोडा हो, गन्तब्यमा पु¥याउँछ, सबार चिन्छ, लगाम राम्ररी नसमाए लडाउन सक्छ…।’ (पृष्ठ– ८७)

डा. तुलसी गिरी नेपाली कांग्रेसको शासनकालमा सहायक मन्त्री भएका थिए भने राजा महेन्द्रको प्रत्यक्ष शासनका बखत मन्त्री परिषदका अध्यक्ष तोकिएका थिए । डा. गिरी वि सं. २०३२ सालदेखि २०३४ सालसम्म प्रधानमन्त्री भएका थिए ।

सोही समयमा डा. गिरीको प्रधानमन्त्रीत्वकालमा गृहमन्त्री भएका राजनीतिज्ञ भोजराज घिमिरेले आफ्नो पुस्तकमा डा. गिरीले आफूलाई हरेक काममा सघाएको उल्लेख गरेका छन् । अर्थात डा. गिरीको कार्यकुशलताको प्रशंसा उनले गरेका छन् ।
पछिल्लो समयमा राजनीतिबाट अलग रहेझँै देखिएका डा. गिरी श्रीलंका र बैंगलोरमा लामो समय बिताए पछि तत्कालीन राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनका बेला उपाध्यक्ष भएर नेपाल भित्रिएका थिए । त्यतिबेला उनले राजाको शासनको पक्षमा वकालत गर्न नियमित रुपमा पत्रकार सम्मेलन समेत गरेका थिए । त्यसयता नेपालमा नै बस्दै आएका डा. गिरी राजनीतिकरुपमा भने त्यति क्रियाशील थिएनन् ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *