मनाङमा माइनस ६ डिग्री सेल्सियस तापक्रम, पानी जम्न थाल्यो

काठमाडौ – हिमाली जिल्ला मनाङमा चिसो अधिक बढेको छ। रात र बिहानको समयमा तापक्रम माइनस ६ डिग्री सेल्सियससम्म झर्न थालेपछि जनजीवन नराम्ररी प्रभावित भएको छ।

चिसो बढेपछि दैनिक सम्पादन गर्नुपर्ने कार्य समेत प्रभावित बनेको मनाङका प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटाले बताए। साँझ परेपछि तापक्रम घट्दै गएर बिहान घाम लाग्न थालेपछि मात्रै बढ्ने गरेको स्थानीय बताउँछन्।

स्थानीयका अनुसार अत्यधिक चिसोले सानासाना खोला जम्न थालेका छन्। राति जमेको पानी दिउँसो भएपछिमात्रै बग्न थालेको छ। कहिलेकाहीं पानी जमेर लघु जलविद्युत आयोजना समेत बन्द हुने गरेको छ। ‘साँझ परेपछि पाइपभित्र पानी जमेर धारामा पानी आउँदैन, खानेपानी नै पाइँदैन,’ घरेलु तथा साना उद्योग विकास समितिका उद्योग अधिकृत प्रदिप न्यौपानेले भने, ‘खोलानाला जम्न थालेका छन्। धारामा पानी जमेर खस्न सक्दैन्।’

अत्यधिक चिसो बढेसँगै मनाङका प्रायः बासिन्दा ढोकामा ताल्चा लगाएर जाडो छल्न शहरबजार झरिसकेका छन्। कतिपय कर्मचारी पनि बिदा मिलाएर झरिसकेका छन्। चिसोका कारण कार्यालय सञ्चालनमा समस्या परेको कर्मचारी बताउँछन्। बिहान बेलुका आवत जावत गर्न समेत कठिन भएको उनीहरुको भनाइ छ।

माथिल्लो मनाङ, नारफूलगायत केही स्थानमा केहीदिन अघि हिमपात भएको थियो। मनाङ गाउँका छिरिङ लोप्साङ गुरुङले हिउँ पर्न थालेपछि अत्याधिक चिसो बढेको बताए। गुरुङका अनुसार चिसोले मानिस बाहिर निस्कन सकेका छैनन्।

चिसोले धारा, बाटोघाटो तथा स–साना पोखरीको पानी जमेको चामेकी मेलिना गुरुङले बताइन्। गुरुङका अनुसार साँझ र बिहान बाहिर निस्कनै मुस्किल हुने गरी चिसो बढेको छ । हिउँ पर्नुका साथै चिसोका कारण मोबाइल सेवा र इन्टरनेटमा समस्या आएको उनले बताइन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय मनाङका प्रमुख बाबुलाल तिरुवाका अनुसार चिसो बढेपछि पर्यटक पनि कम आएका छन् ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *