पार्टीको टाउको छ ज्यान छैन : वामदेव गौतम

काठमाडौं – नेकपा स्थायी कमिटी सदस्य वामदेव गौतमले नेतृत्वकै कारण पार्टीमा गुटबन्दी बढ्दै गएको आरोप लगाएका छन्। अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थायी कमिटी बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा फरक मत राख्दै गौतमले पार्टी नेतृत्वमाथि गुटबन्दी गरेको तथा एकताको भावनाविपरीत काम गरेर पार्टीको छवि धुमिल बनाएको आरोप लगाएका हुन्।

अध्यक्षद्वयले प्रस्तुत गरेको २२ पृष्ठ लामो प्रतिवेदनमा १६ पृष्ठको फरक मत राख्दै गौतमले नेतृत्वको गैरजिम्मेवार व्यवहारका कारण पार्टीले प्रभावकारी ढंगले काम गर्न नसकेको दाबी गरेका हुन्।

राजनीतिक पार्टीका निम्ति केन्द्रीय कमिटी टाउको र मातहतका कमिटी हातखुट्टा भएको चर्चा गर्दै गौतमले नेकपासँग हातखुट्टा नभएको उल्लेख गरेका छन्। ‘आज नेकपासँग केही सिद्धान्त, विचार र नीतिसहितको टाउको त छ, तर हात र खुट्टासहितको अवयव छैन’, उनले भनेका छन्, ‘६ महिनासम्म यो पार्टीको टाउको त केही हदसम्म चलमलाएको देखिन्छ तर हातखुट्टासहितका अवयव बनेकै छैनन। बनेका कमिटीका बैठक पनि हुन सकेका छैनन।’

केन्द्रीय कमिटी सदस्यको कार्यविभाजन हुन नसकेको उल्लेख गर्दै उनको फरक मतमा लेखिएको छ, ‘कार्यविभाजन नभएपछि केन्द्रीय सदस्य हुनु र नहुनुमा फरक छैन। पार्टीका सदस्य र सबै कार्यकर्ता दिग्भ्रमित छन्, समर्थक/शुभचिन्तक अन्योल र दुविधाग्रस्त छन्।’

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *