राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा  इमर्जेन्सी बाहेकका सेवा ठप्प

दाङ– राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवा आजदेखि ठप्प भएको छ। साबिक राप्ती उपक्षेत्रीय अस्पतालका कर्मचारीले अस्पतालको सेवा ठप्प परेका हुन्।

समितिमा कार्यरत कर्मचारीले बिहान १० देखि बेलुका ६ बजेसम्म अस्पतालको सम्पूर्ण सेवा बन्द गरेको संघर्ष समितिका संयोजक हिमराज गौतमले जानकारी दिए।

इमरजेन्सी, प्रसूति र हेमोडाइलासिसबाहेक सम्पूर्ण सेवा बन्द गरेको संयोजक गौतमको भनाइ छ। विभिन्न बहाना बनाएर अस्पताल विकास समितिका कर्मचारीहरुलाई हटाउन खोजिएको भन्दै सेवा बन्द गरिएको गौतमले बताए।

रोजगारीको सुनिश्चितता, तलब भुक्तानीका साथै कर्मचारीबीच भएको विभेदको अन्त्य गर्नुपर्ने लगायतका माग गर्दै कर्मचारीहरु आन्दोलित भएका हुन्। आफ्ना माग पूरा नभए चरणबद्ध आन्दोलनका कार्यक्रम गर्ने आन्दोलनरत कर्मचारीहरुको भनाइ छ।

प्रतिष्ठानले कर्मचारीको विषयमा विवाद गर्ने नभई कर्मचारीहरुको उचित सम्बोधनसहित समायोजन गर्नुपर्ने उनीहरुको माग छ।

प्रतिष्ठानले कर्मचारी समायोजनमा विभेद गरेका कारण आन्दोलन सुरु गरेको अस्पतालका कर्मचारी बताउँछन्।

प्रतिष्ठानले दुई चरणमा ६२ जना कर्मचारीको अन्तर्वार्ता लिएर सफल उम्मेदवारको सूचना निकाल्नुपर्नेमा म्याद थपको सूचना निकालेपछि आन्दोलन गर्नुपरेको गौतमले बताए।

असारपछि मासिक पारिश्रमिकसमेत नपाएको गुनासो उनीहरुले गरेका छन्।

About राजेश दुलाल

View all posts by राजेश दुलाल →

Leave a Reply

Your email address will not be published. Required fields are marked *