भारतीय नेताको जनकपुर मोह किन ?

जनकपुरधाम – पछिल्लो दुई वर्षयता जनकपुरमा भारतका तर्फबाट तीनपटक प्रमुख भ्रमण हुँदैछ। २०७३ कात्तिकमा राष्ट्रपति प्रणव मुखर्जीले जनकपुर भ्रमण गरेका थिए। एक वर्षपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दिल्लीबाट सोझै जनकपुर उत्रिए। मोदी आएको एक वर्ष नपुग्दै उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ बुधबार लखनउबाट जनकपुर आउँदैछन्।

मुलुक संघीयतामा गएपछि मधेसको राजधानी (प्रदेश मुकाम) जनकपुर केन्द्रित भएर छिमेकी मुलुकबाट उच्चस्तरीय भ्रमण भइरहेपछि राजनीतिक वृत्तमा त्यसको चर्चाको हुन थालेको छ। दुई वर्षभित्र प्रमुख तीनवटा भ्रमण हुनुको पछाडि भारतीय पक्षको के स्वार्थ होला ? उनीहरूको भ्रमणले मधेसको राजनीतिमा कस्तो असर पार्ला ? भन्ने प्रश्नहरू अनुत्तरित छन्।

मधेस मामिलामा कलम चलाउँदै आएका चन्द्रकिशोर भन्छन्, ‘पछिल्लो प्रमुख तीन भ्रमणले भारतको मधेसप्रति मोह बढेको भन्न मिल्दैन। जनकपुरप्रति आस्था भने अवश्य हो।’ भारतमा भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको सरकार छ। भारतले नयाँ नेतृत्व चयन गर्न अगामी वर्ष चुनाव गर्दैछ। उक्त चुनावमा भाजपाका पक्षमा सीमा जोडिएको बिहारको जनमत आकर्षण गर्न मोदी र योगीले जनकपुर भ्रमण गरेको हुन सक्ने उनको भनाइ छ।

‘उत्तर प्रदेशमा राम मन्दिर निर्माण गर्ने मुद्दाले सिंगो भारतका हिन्दु मतदातालाई आकर्षित गरिरहेको हुन्छ। त्यो राम मन्दिर तत्कालै निर्माण हुने सम्भावना त छैन। तर, राम मन्दिर निर्माण गर्ने चर्चा पाएको स्थान अयोध्या र जनकपुरको विशेष सांस्कृतिक सम्बन्ध छ। जनकपुरप्रति उनीहरूको आस्थाले छिमेकी राज्यमा सोझै तथा अन्य राज्यमा बसोबास गर्ने हिन्दु मतदातालाई लोभ्याउन सकिने आशा भाजपा नेतृत्वको देखिन्छ’, चन्द्रकिशोरले नागरिकसँग भने, ‘विवाह पञ्चमी महोत्सवले योगीको भ्रमणले पाइरहेको चर्चा अगामी वर्षमा निरन्तरता पाउने–नपाउने चुनौती जनकपुरका लागि आफ्नो ठाउँमा छ ।

मधेस राजनीतिका जानकार भरतविमल यादवले भने भारतीय चुनावलाई हिन्दुत्वको नाराले प्रभावित गर्नकै लागि भारतीय पक्षको जनकपुर आकर्षण बढेको बताउँछन्। ‘अर्को कुनै कारण होला जस्तो मलाई लाग्दैन, भाजपाले हिन्दुत्वकै मुद्दा लिएर चुनाव लडिरहेको हुन्छ। केही महिनापछि नयाँ प्रधानमन्त्री चयन गर्ने चुनाव आउँदैछ। त्यो चुनावमा भारतीय हिन्दुको झुकाव आफूतिर तान्न उनीहरूले जनकपुरलाई उपयोग गरिरहेका हुन्’, यादवको भनाइ छ।

अर्का राजनीतिक विश्लेषक प्रा.डा. सुरेन्द्र लाभले पनि भारतका हिन्दु मतदाताबीच बिकाउ मुद्दाका रूपमा परिचित राम मन्दिरसँग जोडेर सीता (जानकी) मन्दिरको दर्शन गर्न भाजपा नेताहरू आतुर रहेको टिप्पणी गरे। ‘भारतको उत्तर प्रदेशस्थित अयोध्या र प्राचीन मिथिलाको राजधानी (नेपालको जनकपुर) बीच गहिरो सांस्कृतिक सम्बन्ध छ। यसलाई आगामी निर्वाचनका लागि भारतीय संस्थापन पक्षले उपयोग गर्न खोजिएको जस्तो देखिन्छ’, लाभले भने।

मधेस राजनीतिका अर्का जानकार तुलानारायण साहले दुई वर्षअघि जनकपुर भ्रमणमा आएका तत्कालीन भारतीय राष्ट्रपति प्रणव मुखर्जी, त्यसपछि आएका प्रधानमन्त्री नरेन्द्र मोदी र अहिले आउन लागेका उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको भ्रमण फरकफरक परिवेशमा भइरहेको बताए। उनको बुझाइमा मुखर्जीले नितान्त धार्मिक भ्रमणका रुपमा जनकपुर आएर जानकी मन्दिरमा पूजापाठ गरेका थिए। उनले भने, ‘मोदीले धार्मिक यात्रा भने पनि उनी मधेस आन्दोलन र सो क्रममा भएको भारतीय नाकाबन्दीका कारण भारतप्रति बढेको अविश्वास हटाउन आएका थिए।’ योगी आगामी निर्वाचनमा हिन्दु मतदाता ‘क्यास’ गर्न आउन लागेको साहको जिकिर छ।

‘मधेस आन्दोलनताका भारतीय पक्षले मधेसी जनताको अपेक्षाअनुरूप खुलेर धारणा सार्वजनिक गरिदिएन। आन्दोलनको हारपछि मधेसी जनतामा भारतको असहयोगकै कारण पराजित भएको मनोभावना विकसित भएको थियो भने पहाडका जनतामा नाकाबन्दीका कारण भारतप्रति क्रोध बढेको थियो’, साहले भने, ‘उनले दुवै भूगोलका जनतामा आफूप्रतिको क्रोध हटाउन जनकपुर हुँदै नेपाल भ्रमण गरेको प्रस्ट छ।’

साहका भने, ‘मोदी दिल्लीबाट सोझै जनकपुर आइदिनुमात्रै मधेसीका लागि ठूलो कुरो थियो। मधेसी जनताले त्योभन्दा ठूलो अपेक्षा पनि दर्शाउन सकेन। मोदीले भने जनकपुरमा गरेको सम्बोधनमा मधेसको ‘म’ आन्दोलनको ‘अ’ र संविधान संशोधनको ‘सं’ पनि उच्चारण गरेनन्। त्यसले पहाडका जनतामा पनि मोदीप्रतिको नकारात्मक भावना हटाउने काम गर्यो।’ मोदीको सोही भ्रमणपछि काठमाडौंमा मोदीविरोधी आवाज सुनिन छोडेको साहको दाबी छ।

विवाह पञ्चमी महोत्सवका अवसरमा जयनगर–जनकपुर रेलसमेत उद्घाटन गर्नेगरी भारतीय प्रधानमन्त्री मोदी आफैं जनकपुर आउने चर्चा थियो। तर, केही प्रदेशमा भइरहेको निर्वाचनमा व्यस्तता बढेपछि रेल उद्घाटन कार्य थाती राखेर तत्काल योगीलाई जनकपुर पठाइएको मधेस केन्द्रित दलका नेताहरूको बुझाइ छ।

मधेस भवनमा सम्मान
उत्तर प्रदेशका मुख्यमन्त्री योगीलाई प्रदेश २ को सरकारको सचिवालय रहेको मधेस भवनमा विशेष सम्मान गर्ने तयारी छ। बुधबार बिहान करिब साढे ११ बजे लखनउबाट विशेष विमानमा जनकपुर आउन लागेका योगीलाई प्रदेश २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउत, सभामुख सरोजकुमार यादव, राजपा संसदीय दलका नेतासमेत रहेका भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनल, आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादव, आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादव, सामाजिक विकासमन्त्री नवलकिशोर साह, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्र साह, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामनरेश राय र प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै पार्टी संसदीय दलका नेताहरू स्वागतका लागि विमानस्थलमा पुग्ने कार्यक्रम छ।

जनकपुर विमानस्थलबाट जानकी मन्दिर पुगेर योगीले करिब आधा घन्टासम्म पूजापाठ गर्नेछन्। त्यहाँबाट मधेस भवन पुगेर प्रदेश २ सरकारले आयोजना गर्ने दिवाभोजमा सरिक हुनेछन्। त्यहाँ योगी समेत जन्तीका रुपमा आउने पाँच सय एक जना साधुसन्तलाई वैष्णव भण्डाराको विधिअनुरुप दान–दक्षिणा दिएर भोजन गराउने व्यवस्था गरिएको छ। भण्डारापछि एक समारोहबीच योगीलाई प्रदेश सरकारका तर्फबाट सम्मान गरिने मन्त्री सोनलले बताए।

मधेस भवनबाट साढे दुई बजेट रंगभूमि मैदान बाह्रबिघामा पुग्ने योगी सीता–रामको पौराणिक महत्व तथा मैथिली परम्पराअनुसार हुने स्वयंवर समारोहमा सहभागी हुनेछन्। त्यहाँ खुला मैदानमै जानकी मन्दिर तथा रामसीता विवाह पञ्चमी महोत्सव मूल समारोह समितिले योगीलाई सम्मान गर्नेछन्। त्यसपछि मुख्यमन्त्री योगी बाह्रबिघा मैदानबाट विमानस्थल हुँदै स्वदेश फिर्ता हुने योजना रहेको मन्त्री सोनलले बताए।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *