‘निरंकुशताका ती दिनहरु बिर्सेका छैनौं : प्रचण्ड

सिक्लेस– नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्तिका निम्ति सिक्लेसमा खतरनाक खेल खेलिएको बताएका छन्।

दस वर्षे सशस्त्र द्वन्द्वपछि प्रचण्ड पहिलो पटक सिक्लेसबाट हेलिकप्टरमा काठमाडौं आई बालुवाटारबाट सार्वजनिक भएका थिए। उनलाई काठमाडौं ल्याउनका निम्ति तत्कालिन गृहमन्त्री कृष्णप्रसाद सिटौला सिक्लेस नै पुगेका थिए। उनलाई तत्कालिन माओवादी नेता कृष्णबहादुर महराले दिशानिर्देश गरेका थिए।

सिक्लेसमा निर्माण गरिएको शान्ति स्मारक अनावरण गर्नका लागि प्रचण्ड उनै सिटौलासँग गाडीमा आइपुगेका थिए।

‘शान्तिका निम्ति सिक्लेसमा खतरनाक खेल खेलिएको थियो। तर नकारात्मक होइन, सकारात्मक खेल खेलिएको थियो’, प्रचण्डले भने, ‘सिटौला ज्यान जोखिममा राखेर यहाँ आउनुभएको थियो। आफ्नो सेना पुलिस छाडेर जनमुक्ति सेनाको घेराभित्र आउनुभएको थियो। यो सानो कुरा थिएन।’

प्रचण्डले आफूहरु पनि सिक्लेसबाट सबैचिज छोडेर काठमाडौं गएको बताए। ‘बालुवाटारमा पनि कम जोखिम थिएन। बडो डरलाग्दो जोखिम मोलेर नै हामी यहाँसम्म आइपुगेका हौं। हामीले ती दिनहरु बिर्सेका छैनौं’, उनले भने।

‘निरंकुशताका ती दिनहरु बिर्सेका छैनौं। जसले सबै संसदवादी राजनीतिक दलदेखि विद्रोही माओवादीसम्मलाई एउटै हाँडीमा राखेर भुटेर सिध्याउन खोजेका थिए। ती निरंकुशताका शासकहरुलाई हामीले बिर्सेका छैनौं। अहिले उनीहरु होटलहोटलमा नाच्दै हिँडेका छन् रे’, प्रचण्डले प्रश्न गरे, ‘केको लागि नाचेका हुन्?’

तत्कालीन राजा ज्ञानेन्द्र केही दिनअघि एउटा होटलमा नाचेको फोटो सार्वजनिक भएको थियो।

आफ्नो सम्बोधनमा प्रचण्डले गिरिजाप्रसाद कोइरालाको निकै प्रशंसा गरे। उनले कोइरालाकै कारण कांग्रेसले गणतन्त्र स्वीकार गरेको दाबी गरे। अहिले सिटौला पनि जिउँदै रहेकाले कांग्रेस गणतन्त्र मानिरहेको बताए। ‘सिटौलाजीको पनि यताउति भयो भने मैले गाह्रो देख्न थालेको छु त’, कांग्रेसको गणतान्त्रिक प्रतिबद्धताप्रति आशंका व्यक्त गर्दै प्रचण्डले भने, ‘हेर्दा ठट्टा जस्तो भए पनि यो कुरा गहिरो छ। पत्रिकामा नेपाली कांग्रेस अर्कोतिर जाने भयो रे! महासमिति बैठकले अर्को निर्णय गर्ने भयो रे भन्ने पनि आउँछन्। तर म सिटौलाजी, जसले यो संविधान बनाउन, गणतन्त्र ल्याउन, संघीयता, समावेशीताका लागि खम्बा भएर उभिनुभयो। मलाई भरोसा छ।’

प्रचण्डले संसारले सिक्लेसको ऐतिहासिक महत्त्व विस्तारै थाहा पाउने बताए।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *