उपराष्ट्रपति पुनसँग चिनियाँ राजदूत होङको विदाई भेट

काठमाडौं– उपराष्ट्रपति नन्दबहादुर पुनसँग नेपालका लागि चीनका राजदूत यु होङले शिष्टाचार विदाई भेट गरेकी छन् । बुधबार बिहान उपराष्ट्रपतिको कार्यालय बहादुर भवन पुगेर राजदूत होङले उपराष्ट्रपति पुनसँग विदाई भेट गरेकी हुन् ।

उपराष्ट्रपति पुनले चिनियाँ राजदूत होङसँगको भेटमा विकास र समृद्धिको नेपालको यात्रामा चीनको सदैव साथ सहयोग रहने विश्वास व्यक्त गरेका थिए । नेपाल चीनबीच पारिवारिक नाताको सम्बन्ध रहेको बताउँदै उपराष्ट्रपतिले दुई देशबीचको सम्बन्ध थप प्रगाढ बनाउनमा राजदूत होङले उल्लेख्य भूमिका खेलेको बताएका थिए ।
“नेपाली छोरी भृकुटीको विवाह चीनमा भयो । नेपाल चीन सम्बन्ध नजिकको पारिवारिक सम्बन्ध हो”, उपराष्ट्रपति पुनले भने, “दुई देशको सम्बन्ध जनस्तरसम्म प्रगाढ बनेको छ । दुई देशबीचको सहकार्य र सहयोग फराकिलो बन्दै गएको छ ।”

उपराष्ट्रपतिले बेल्ट एण्ड रोड इनिसियटिभ  परियोजनामा हस्ताक्षर र नेपाल र चीनबीच भएको व्यापार तथा पारवाहन सम्बन्धी प्रोटोकलमा भएको समझदारीले नेपालको विकास र समृद्धिको यात्रामा योगदान पुर्याउने विश्वास व्यक्त गरे । उपराष्ट्रपति पुनसँगको विदाई भेटमा चीनका राजदूत यू होङले नेपाल विकास र समृद्धिको यात्रामा अगाडि बढेको देख्दा चीन अत्यन्त खुशी भएको बताइन् । उनले नेपालको विकास र समृद्धिको यात्रामा चीन सदैव सहयोगी बन्न चाहेको र सबै प्रकारको सहयोग गर्न तयार रहेको जनाएकी थिइन् ।

“नेपालले विकासको क्षेत्रमा प्राप्त गरिरहेको उपलब्धीमा चीन अत्यन्त खुशी छ । चीन सरकारले नेपालको विकासमा धेरै ध्यान राखेको छ,” उनले भनिन्, “हामी नेपालको विकास र समृद्धिको यात्रामा धेरै सहयोग गर्न चाहन्छौँ, योगदान दिन चाहन्छौँ ।”

राजदूत होङले नेपालमा रहेको वैदेशिक लगानीमा चिनियाँ लगानी उच्च रहेको स्मरण गरिन् । उनले चीनले नेपालाई दिंदै आएको अनुदान सहयोग सबै भन्दा बढी रहेको समेत बताइन् । “नेपालमा तीन वर्ष यताको वैदेशिक लगानी हेर्दा चीन पहिलो नम्बरमा छ । चीनले नेपाललाई दिंदै आएको अनुदान सबै देशलाई दिईरहेकोमा सबै भन्दा बढी हो,” चिनियाँ राजदूतले भनिन् ।

राजदूत होङले इतिहासमा चीन र नेपाल नातेदार भएको बताइन्  । “भृकुटीको चीनमा विवाह भयो । ईतिहासमा चीन र नेपाल नातेदार हुन् । औपचारिक सम्बन्ध स्थापना भएको यता दुई देशबीचको सम्बन्ध स्थिर छ । अत्यन्त राम्रो छ,” उनले बताइन् ।

About राजेश दुलाल

View all posts by राजेश दुलाल →

Leave a Reply

Your email address will not be published. Required fields are marked *