दिउँसै ‘टर्च’ बालेर निर्मलाका लागि न्यायको खोजी

महेन्द्रनगर : बलात्कारपछि हत्या भएको चार महिनासम्म पनि १३ वर्षीय बालिका निर्मला पन्तले न्याय नपाएको भन्दै अधिकारकर्मीले टर्च लाइट बालेर प्रदर्शन गरेका छन्। कञ्चनपुरका अधिकारकर्मी महिलाले बुधबार दिउँसै टर्च बालेर महेन्द्रनगरमा प्रदर्शन गरेका हुन्।

पीडित परिवारले धर्ना दिइरहेको जिल्ला प्रशासन कार्यालय अगाडिबाटै अधिकारकर्मीले टर्च बालेर प्रदर्शन गरेका हुन्। प्रदर्शनकारी टर्च बालेर जिल्ला प्रशासन कार्यालय परिसर प्रवेश गरेका थिए।

‘अहिलेसम्म पनि न्याय पाइएको छैन्, हराएको न्याय खोज्न कै लागि टर्च बालेर खोजी गर्न लागेका हौं’, अधिकारकर्मी शारदा चन्दले भनिन् । अधिकारकर्मीले चार महिनासम्म पनि हत्यारा पक्राउ गर्न नसक्ने गृहमन्त्रीले राजीनामा दिनुपर्ने माग गरे। प्रशासन कार्यालयको परिसरभित्र ३० मिनेटजति धर्नासहित नारावाजी गरेका अधिकारकर्मीले त्यसपछि टर्च बालेरै प्रदर्शन गरेका हुन्।

‘न्याय हराएको चार महिनाभन्दा बढी भइसक्यो अझै भेटिएको छैन’, नागरिक संघर्ष समिति संयोजक मिना भण्डारीले भनिन्, ‘न्याय कतै भेटिन्छ कि भनेर हामीले टर्च बालेर दिउँसै खोज्न हिँडेका हौं।’ चरणवद्ध आन्दोलनका घोषणा गरेका अधिकारकर्मीले दुई दिन कालोपट्टी बाधेर धर्ना दिएका थिए।

कञ्चनपुरसहित देशभर निर्मलाको न्यायका लागि आन्दोलन जारी छ। साउन १० गते बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको भीमदत्त नगरपालिका २ उल्टाखामकी १३ वर्षीया निर्मलाको हत्या भएको १ सय ३० दिन बितिसकेको छ।

साउन १० गते साथी रोशनी बमको घरमा गृहकार्य गर्न गएकी निर्मलाको साउन ११ गते भीमदत्त नगरपालिका २ र १८ को सीमामा पर्ने निम्बुखेडा खोला नजिकै शव भेटिएको थियो।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *