सतप्रतिशत घर बनाउने सिन्धुपाल्चोकको कालिका नमुना वडा

सिन्धुपाल्चोक भूकम्पबाट सबैभन्दा बढी  क्षतिग्रस्त सिन्धुपाल्चोकको कालिका गाउँ जिल्लामा पुनर्निर्माण सम्पन्न गर्ने पहिलो वडा बनेको छ । सुनकोसी गाउँपालिका–३ कालिकाका ६ सय ५३ परिवारले पुनर्निर्माण सकेका हुन् ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट लाभग्राही सूचीमा समेटिएका साविक कालिका गाविसका सबै पीडितले आवास निर्माण सकेको गाउँपालिकाले जनाएको छ । निर्माणाधीन बस्ती हस्तान्तरण तथा पीडितलाई निर्माण सम्पन्न प्रमाणपत्र वितरण गर्दै आइतबार यो गाउँलाई सतप्रतिशत निजी आवास पुनर्निर्माण सम्पन्न गर्ने जिल्लाको पहिलो वडा घोषणा गरियो ।

बस्ती हस्तान्तरण गर्न राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, गाउँपालिकाका बासिन्दा रहेका प्रदेश नं. ३ सांसद सुरेश नेपाल, समाज कल्याण परिषद्का उपाध्यक्ष निलमणि बराल, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारी लगायत व्यक्तित्व कालिका पुगेका थिए। अध्यक्ष तिमिल्सिनाले पुननिर्मित बस्ती वडा कार्यालयलाई हस्तान्तरण गर्दै पीडितलाई निर्माण सम्पन्न प्रमाणपत्र वितरण गरे ।

कारितास नेपाल नामक गैरसरकारी संस्थाको आर्थिक तथा प्राविधिक सहयोगमा पुनर्निर्माण सकिएको हो । गाउँपालिका अध्यक्ष श्रवणकुमार जिसीले कालिकालाई पुनर्निर्माण सम्पन्न जिल्लाकै पहिलो वडा बनाउन पाउँदा खुशी लागेको बताए।
‘यहाँसम्म आउन सबै जनप्रतिनिधिको मेहनत परेको छ,’ उनले भने।

यसअघि नै सतप्रतिशत निजी आवास निर्माण सकेर भूकम्प प्रभावित ३२ जिल्लामै दोलखाको बिगु गाउँपालिको वराङ गाउँ पहिलो वडा बनेको थियो। प्राधिकरणसँग सम्झौता गरेर सहयोगी संस्था कारितासले २०७३ असोगमा गाउँ छिरेर अनुदान सम्झौता र वितरण गर्दै पुनर्निर्माण अभियान चलाएको थियो ।

‘वडामा प्राधिकरणको लाभग्राही सूचीमा समेटिएका सबै पीडित परिवारको घर बनेको छ,’ कारितासका जिल्ला कार्यक्रम संयोजक झग्गु चौधरीले नागरिकसँग भने । उनका अनुसार पीडितले भवन संहिता मापदण्डमा रहेर इच्छाअनुसारको घर बनाएका छन् । निर्माण सम्पन्न घरमा ईँटा, सिमेन्ट जोडाइका ४ सय, ढुंगामाटोका १ सय १४, ढुंगा, सिमेन्ट जोडाइका ६ र पिलरजडिट (आरसिसी) १ सय १६ छन्।

संस्थाले वडामा दुईवटा नमूना घर र एउटा सामुदायिक भवन समेत बनाएको चौधरीले जानकारी दिए। प्राधिकरणले तोकेको ३ लाख रुपैयाँ अनुदान तीन किस्तामा वितरण गरेको कारितासले प्रतिपरिवार ५ हजारका दरले ढुवानी खर्च सहयोग गरेको थियो। कारितासले नै सोही गाउँपालिकाको साविक ठोकर्पा गाविस पुनर्निर्माणमा समेत सघाइ रहेको छ ।

त्यहाँ १ हजार १ सय ७८ लाभग्राही परिवार रहेकोमा १ हजार निजी आवास निर्माण भइसकेको कार्यक्रम संयोजक चौधरीले जानकारी दिए । पुनर्निर्माण सकिएको अवसरमा स्थानीयले दिनभर नाचगान गरेर खुशी साटे। उनीहरुले घर निर्माणमा सघाउने दाता संस्थाका प्रतिनिधि र अन्य पाहुनालाई फूलमाला र खादाले भव्य स्वागत र सम्मानसमेत गरे ।

भूकम्पबाट सबैभन्दा बढी मानवीय र भौतिक क्षति बेहोरेको सिन्धुपाल्चोकमा पुनर्निर्माण तीव्र छ। यसले अभियानकै रुप लिँदा निजी आवास पुनर्निर्माण अन्तिम चरणमा प्रवेश गरेको छ।

प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ  का अनुसार जिल्लाका ८८ हजार परिवार लाभग्राहीमध्ये ५५ हजारभन्दा बढी घर पुनर्निर्माण भइसकेको छ।

About राजेश दुलाल

View all posts by राजेश दुलाल →

Leave a Reply

Your email address will not be published. Required fields are marked *