काङ्ग्रेसको दोहोरो चरीत्र: एकातिर धर्म निरपेक्षताको वकालत अर्कोतिर हिन्दु धर्मको संरक्षण

काठमाडौं– २०६२/०६३ को जनआन्दोलनपछि अन्तरिम संविधानमार्फत मुलुक धर्मनिरपेक्ष राष्ट्र घोषणा भएको एक दशक वितेको छ । तर पनि नेपालमा हिन्दु राज्यबारे चर्चा परिचर्चा हुन छाडेका छैनन् । कतिपय राजनीतिक दल अझै पनि धर्मको आडमा आफ्ना गतिविधि सञ्चालन गरिरहेका छन् ।

जनआन्दोलनपछि राजनीतिक सहमतिकै आधारमा नेपाललाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गर्दा तत्कालीन राप्रपा नेपालले त्यसमा असहमति जनाउँदै फरक मत नै राखेको थियो । अझै पनि तत्कालीन राप्रपा नेपाल (हाल कमल थापा नेतृत्वको राप्रपा) हिन्दुराज्यकै पक्षमा उभिएको छ ।

जनआन्दोलनपछि संविधानभसामा २ वटा निर्वाचन, नयाँ संविधान र नयाँ संविधानअनुसार नै मुलुक सङ्घीय संरचनामा जानुका साथै आम निर्वाचनसमेत भइसकेका छन् । तर तत्कालीन समयमा मुलुकलाई धर्म निरपेक्ष राष्ट्र घोषणा गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको दल नेपाली काँग्रेसका जिम्मेवार नेताहरू नै अहिले हिन्दुराज्यबारे आफू अनुकूल अभिव्यक्ति र टिप्पणीहरू गर्न थालेका छन् । यसको ज्वलन्त उदाहरण हुन्– काँग्रेस महामन्त्री डा. शशांक कोइराला । तर महामन्त्री कोइरालाको यो अभिव्यक्तिलाई काँग्रेसकै अर्का नेता तथा उपसभापति विमलेन्द्र निधीले असान्दर्भिक भनेर जवाफ दिएका छन् । पछिल्लो समयय काँग्रेसका जिम्मेवार नेताहरूबाट हिन्दु धर्मबारे आएको यो फरकफरक अभिव्यक्तिले काँग्रेसभित्रको राजनीतिमा कति फरक पर्छ, त्यो हेर्न भने समय कुर्नुको विकल्प छैन ।

प्रसङ्ग १– विमलेन्द्र निधी : ‘अहिले पनि काँग्रेसका केही नेताहरूलाई देशमा हिन्दु धर्मावलम्बी धैरै छन्, धर्म निरपेक्षता भन्दा भोट घट्छ भन्ने लागेको छ, म त्यो मान्दिन । धर्म निरपेक्षता भनेको हिन्दु धर्मविरोधी होइन’, गत मङ्सिर ४ गते  मङ्गलबार कैलालीको धनगढीमा पुगेर उपसभापति निधीले हिन्दु धर्मबारे थप व्याख्या गर्दैै भने, ‘आसन्न महासमिति बैठकबाट काँग्रेसले गणतन्त्र, धर्मनिरपेक्षता, समावेशिता लगायतका मुद्दामा अझ प्रष्ट पार्नुपर्छ तर पछाडि र्फकन हुँदैन ।’

प्रसङ्ग २– डा. शशांक कोइराला : ‘आउँदा दिनमा राजनीतिक स्थिरता भएपछि धर्मनिरपेक्षता राख्ने कि हिन्दु धर्म भनेर जनमत सङ्ग्रह हुनुपर्छ’, गत मङ्सिर ७ गते शुक्रबार काठमाडौंमा आयोजित ‘शिवलीला’ भजन सङ्ग्रह उद्घाटन कार्यक्रममा हिन्दु धर्मबारे जनमत सङ्ग्रह गर्नुपर्ने अभिव्यक्ति दिँदै काँग्रेसका महामन्त्रीसमेत रहेका कोइरालाले थपे, ‘हिन्दु धर्मजस्तो स्वतन्त्र अरू धर्म छैन । मुलुक हिन्दुराज्य बनाउने या नबनाउने भन्नेबारे जनमत सङ्ग्रहमा जानुपर्छ ।’

प्रशङ्ग ३– विश्वप्रकाश शर्मा : ‘मुलुक धर्मनिरपेक्ष भएको नविर्सन म सरकारलाई स्मरण गराउन चाहान्छु’, मङ्सिर ६ गते पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा काँग्रेस प्रवक्ता शर्माले निश्चित धर्म प्रचारका लागि ‘द एसिया प्यासिफिक समिट २०१८’ को सम्मेलन हुन लागेको सुन्न आएको भन्दै उनले मुलुक धर्मनिरपेक्ष भएको नविर्सन प्रधानमन्त्रीको ध्यानाकर्षण गराए ।

एउटै पार्टी काँग्रेस नेताहरूबाट करिब एक साताको बीचमा धर्म निरपेक्ष र हिन्दु धर्मबारे सार्वजनिक भएको धारणा हुन् माथिका तीन उदाहरण । यसले नेपाली काँग्रेस धर्मनिरपेक्ष कि हिन्दुराष्ट्र पक्षमा छ ? भन्ने सर्वसाधारणलाई बुझ्न कठिन बनाएको छ । तर काँग्रेसका आधिकारिक दस्तावेजहरू भने हिन्दुराष्ट्रको पक्षमा भेटिँदैनन् । यद्यपि यो पार्टीभित्र मात्रै नभएर हिन्दुराष्ट्र र धर्मनिरपेक्ष दुवै थरी मत राख्नेहरू प्रशस्तै छन् ।

त्यसो त नेपालको संविधान २०७२ निर्माण र जारी गर्ने समयसम्म पनि काँग्रेसका नेताहरू हिन्दुराष्ट्र या धर्मनिरपेक्ष राष्ट्र भन्नेमा विभाजित थिए । त्यसबेला काँग्रेसमा हिन्दु एजेन्डाको नेतृत्व स्व. काँग्रेस नेता खुमबहादुर खड्काले गरेका थिए । उनले नेपाललाई धर्मनिरपेक्ष घोषणा गर्दा पनि फरक मत राखेका थिए । पछिल्लो समय उनै खड्काको लाइन शशांकले समातेका त हैनन् ? भन्ने प्रश्नसमेत उठेको  छ ।
शशांकमाथि नैतिक प्रश्न

डा. शशांक कोइराला काँग्रेसका निर्वाचित महामन्त्री हुन् । समान्यतया पदीय जिम्मेवारीमा रहेका व्यक्तिले बोलेको कुरालाई अरू जनताले आधिकारिक मान्नुपर्ने हुन्छ । त्यसैले हिन्दु धर्मबारे कोइरालाले जनमत सङ्ग्रहको कुरा गरेपछि उनीमाथि नैतिक प्रश्न उठेको छ । अझ रोचक त के छ भने, धर्मनिरपेक्ष राष्ट्रसहितको संविधान जारी गर्दा कोइराला आफै सभासद थिए । अर्को कुरा उनी काँग्रेसका संस्थापक नेता बीपी कोइरालाको छोरासमेत हुन् । बीपीले सन् १९७९ जुलाई २० मा अङ्ग्रेजी साप्ताहिक ‘द विक्ली मिरर’लाई धर्मनिरपेक्षताबारे दिएको लिखित अन्तरवार्ताको हेक्कै उनले राखेको पाइएन । त्यसबेला बीपीले भनेका थिए, ‘नेपाल हिन्दुराज्य होइन । नेपाललाई हिन्दुराज्य भन्नु झुट हो । नेपाल निश्चय पनि धर्मनिरपेक्ष मुलुक हो । धर्मनिरपेक्ष मुलुकमा धार्मिक स्वतन्त्रता हुनेछ ।’

जनआन्दोलनको सफलतापछि काँग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले सरकारको नेतृत्व गरेका बेला संसदबाटै नेपालालाई धर्मनिरपेक्ष राष्ट्रका रूपमा घोषणा गरिएको थियो ।

बहुसङ्ख्यक जनताको माग : डा. शशांक 

हिन्दुराष्ट्रबारे महामन्त्री कोइरालाले दिएको पछिल्लो अभिव्यक्तिबारे संक्षिप्त कुराकानीमा भने, ‘यो मेरो व्यक्तिगत एजेन्डा हो, पार्टीको होइन । देशमा राजनीतिक स्थिरता आइसकेपछि धर्मनिरपेक्ष कि हिन्दुराष्ट्र राख्ने भनेर जनमत सङ्ग्रह हुनुपर्छ भन्ने मेरो मान्यता पहिलेदेखि नै हो । मैले बहुमत जनताको इच्छालाई सम्बोधन गर्नुपर्छ भन्ने मान्यताले यो कुरा उठाएको हुँ ।’ यसअघि गत २०७२ साल फागुनमा भएको पार्टीको १३औं महाधिवेशनमा पनि उनले हिन्दुराष्ट्रको विषयमा समयअनुसार  कुरा उठाउने बताएका थिए ।

कोइराला परिवारमै प्रवेश नभएको विषय 

कोइराला परिवारमा पनि यो विषयबारे छलफल नभएको बताइएको छ । धर्मनिरपेक्ष राष्ट्र घोषणा गर्दा देशको नेतृत्व सम्हालेका गिरिजाप्रसाद कोइरालाकी छोरी तथा काँग्रेस नेतृसमेत रहेकी सुजाता कोइरालाले भने त्यसबारे पार्टीभित्र र कोइराला परिवारकै सदस्यहरूबीचमा पनि कुनै छलफल नभएको बताइन् । ‘यसबारे कहीँकतै र कसैसँग कुराकानी भएको छैन, महामन्त्रीज्यूले छलफल नै नगरी किन यस्तो बोल्नुभयो, मलाई थाहा भएन । उहाँले बोलेको यो कुराबारे हामी कुराकानी गर्छौं ।’ तर कोइराला परिवारका अर्का सदस्य काँग्रेस नेता शेखर कोइराला समेत धर्मका नाममा विदेशी चलखेल बढेको भन्दै उनी हिन्दुराष्ट्रकै पक्षमा रहेको उनी निकटकाले बताउने गरेका छन् ।

काँग्रेसका अन्य नेताहरू के भन्छन् ?

हिन्दुराष्ट्रबारे काङ्ग्रेसका प्रभावशाली नेताले उठाएको विषय आगामी महिना हुने महासमिति बैठकमा छलफलको मुद्दा बन्न सक्ने केही काँग्रेस नेताहरू बताउँछन् । उनीहरूका अनुसार देशको धर्म संस्कृतिमाथि बाहिरी दबाब बढेकाले यो विषय महासमितिमा समेत उठ्न सक्ने उनीहरूको सङ्केत छ ।

तर पार्टी सभापति शेरबहादुर देउवा निकट मानिने काँग्रेसका केन्द्रीय सदस्य एवम्  संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले नेपाली काँग्रेस स्थापनाकालदेखि नै धार्मिक स्वतन्त्रताको पक्षधर रहेको बताए ।

उनले भने, ‘काँग्रेसको विधानमै धार्मिक स्तन्त्रताबारे उल्लेख छ । पछिल्लो समय महामन्त्रीले जुन कुरा बताइराख्नु भएको छ, यो विषयले पार्टीभित्र औपचारिक रूपमा प्रवेश पाएको छैन । उहाँले कुन आधारमा सार्वजनिक रूपमा बोल्नुभएको हो, उहाँलाई नै थाहा होला । तर यो विषय पार्टीका फोरममा औपचारिक रूपमा प्रवेश पाएको खण्डमा पार्टीको विधान र संविधानको मर्म अनुसार सोचिन्छ ।’

प्रमुख सचेतक खाँणले आफू पनि हिन्दू धर्मालम्बी भएको भन्दै बहुसङ्ख्यक जनताको धार्मिक भावनाबारे सोच्न सकिने बताए ।

अर्का केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले यो विषयमा बोल्ने बेला नआएको बताए ।

केन्द्रीय सदस्य एनपी साउँदले पार्टी स्थापना कालदेखि नै धर्मनिरपेक्षको पक्षमा रहेको भए पनि सनातन हिन्दू धर्मको समेत ख्याल गर्नुपर्ने बताए ।

साउदले भने, ‘महामन्त्रीले यो कुरा सार्वजनिक रूपमा उठानु त भयो । तर पार्टीभित्र प्रवेश गराउनुभएको छैन । पहिले त यो विषय केन्द्रीय कार्यसमितिमा प्रवेश गराउनुपर्छ । साथै आगामी महासमिति बैठकमा प्रवेश गराउन २५ प्रतिशत सदस्यहरूले प्रस्ताव पेश गर्नुपर्छ । त्यसको अहिलेसम्म  कुनै गृहकार्य भएको छैन । बाँकी कुरा महामन्त्रीलाई नै थाहा होला ।’

यता कृष्णप्रसाद सिटौला निकट काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडलले नेताहरूले बाहिर बोल्ने गरेको तर पार्टीको आधिकारिक धारणा बनाइनसकेको प्रतिकृया दिए । पौडेलले भने, ‘डा. कोइराला पार्टीको महामन्त्री भएको पनि लामो समय भइसक्यो । उहाँले यसलाई आफ्नो मात्र धारणा बनाइराख्नु भएको छ । पार्टीगत धारण पनि बनाउन भएको छैन । बेलाबखत कुरा उठाइराख्नुहुन्छ । यसले कुनै अर्थ राख्दैन । महासमिति बैठक बस्दैछ ।  ठोस रूपमा पार्टीगत धारणा पनि बनाउन सकिन्छ । तर उहाँ बाहिर मात्रै बोल्दै हिँड्नुहुन्छ भने अरूले त्यो विषय पार्टीमा किन उठाउने ?’

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *