बामदेवको आँखा पप्पु कन्स्ट्रक्सनका मालिक रौनियारको कुर्सीमा

काठमाडौँ:  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य वामदेव गौतम प्रतिनिधिसभाको सदस्य बन्ने चर्चा अझै सेलाएको छैन ।

बर्दिया–१ बाट चुनाव हारेका गौतम उपचुनाव जितेर भएपनि प्रतिनिधिसभामा आउन लामो समयदेखि प्रयासमा छन् ।

यस क्रममा डोल्पाका धनबहादुर बुढा, ललितपुरका नवराज सिलवाल, रुकुमका कमला रोक्का, प्युठानका दुर्गा पौडेल, काठमाडौँका रामवीर मानन्धरसम्मलाई उनले क्षेत्र छाड्नका लागि आग्रह गरेका थिए । मानन्धर बामदेवका लागि सिट छाड्न तयार भए पनि पार्टीभित्रबाटै विरोध भएपछि बामदेव ब्याक हुन बाध्य भएका थिए ।

अहिले उनी पर्साबाट चुनाव जितेका हरिनारायण रौनियारको पछि लागेका छन् । विशेष अदालतमा अख्तियार दुरुपयोग आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेपछि रौनियार परेका छन् । विशेष अदालतमा मुद्दा विचाराधिन रहेका कारणले सांसदबाट रौनियारलाई निलम्ब गरिएको छ ।

स्रोत भन्छ, ‘रौनियारलाई नेता गौतमले राजीनामा दिन दवाव दिइरहेका छन् ।’ रौनियारले राजीनामा दिइसकेपछि त्यहाँ हुने उपचुनावमा आफू लड्ने गौतमको सोच रहेको छ ।

यसो त विशेष अदालतले उनको विपक्षमा फैसला गर्यो भने स्वतः उनको पद जानेछ । तर, गौतमले भने रौनियारलाई अहिले नै राजीनामा दिएर बाटो खोल्न दबाब दिइरहेको संघीय समाजवादी फोरम नेपाल स्रोतले जनाएको छ ।

गौतमले रौनियारसँग कुरा गर्नका लागि नेकपाकी नेतृ उर्मिला अर्याललाई प्रयोग गरेका छन् । उर्मिला पनि पर्साकी भएका हुनाले उनलाई रौनियारसँग कुराकानी गर्न सहज भएको छ । वामदेवको तर्फबाट उर्मिलाले पटक–पटक रौनियारसँग कुराकानी गरेर सांसद पदबाट राजीनामा दिन दवाव दिइरहेको फोरम नेपालका ती नेताले बताए ।

अहिले राजीनामा दिएर गौतमलाई सहयोग गरे पछि राष्ट्रियसभामा ल्याउने आश्वासन पनि रौनियारलाई दिइएको बताइएको छ ।

यसबारे नेतृ अर्यालसँग प्रश्न गर्दा उनी भन्छिन्, ‘यो हल्ला मैले पनि सुनेको छुँ । तर यस विषयमा हरिनारायणसँग कुनै कुराकानी गरेको छैन । बरु मैले नै वामदेव गौतमसँग यस विषयमा कुराकानी गर्दा उनले आफू चुनाव लड्नका लागि इच्छुक नरहेको बताउनुभयो ।’ रौनियार अर्को पार्टी भएका कारणले पनि कुरा गर्न नमिल्ने नेतृ अर्यालले बताइन् ।

तर, आफूमाथि दवाव आएको कुरा रौनियारले पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग राखेपछि यो कुरा बालुवाटारसम्म पुगेको छ । मंसिर ८ गते उपप्रधान तथा स्वास्थ्य जनसंख्या मन्त्री समेत रहेका अध्यक्ष यादवले प्रधानमन्त्री केपी शर्मा अ‍ोलीलाई बालुवाटारमा भेटेर यो कुराको जानकारी गराएको स्रोतले जनाएको छ ।  अध्यक्ष यादवले प्रधानमन्त्री ओलीसँग रौनियार बारेमा पटक–पटक कुरा गरेका छन् ।

निलम्बित सांसद रौनियारले पनि राज्यले आफूलाई सुनियोजित रुपमा फँसाएको बताउँदै सांसद पद छाड्न अप्रत्यक्ष रुपमा दवाव आइरहेको स्वीकार गरे तर दवाव दिने व्यक्तिको नाम खुलाउन चाहेनन् । उर्मिला र वामदेव गौतमको नाम भन्नबाट पनि उनी पन्छिए ।

सांसद रौनियार हाल पप्पु कन्सट्रक्सनका मालिक पनि होइनन्, तर त्यसको सञ्चालक भनेर उनीमाथि मुद्दा चलाएको फोरम नेपालको आरोप छ । सांसद रौनियार पनि आफू मधेशी भएकै कारण राज्यले फँसाएको बारम्बार अभिव्यक्ति दिने गरेका छन् ।

वामदेव गौतमको चुनावी क्षेत्र बर्दिया सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने जब्दीघाट बबई पुल निर्माणमा अनियमितता र भ्रष्टाचार भएको निष्कर्षसहित रौनियारसहित १२ जना विरुद्ध मुद्दा दायर गरिएको छ । गौतमको क्षेत्रमा परेका कारणले पनि गौतमले दवाव दिएको बताइएको छ ।

आफूलाई न्यायलयमाथि विश्वास छ, आफूमाथि न्याय हुनेमा विश्वास रहेको बताउँदै रौनियारले आफू आफ्नो नैतिकता कहिले पनि नबेचेको र नबेच्ने बताए । जस्तो सुकै दवाव आए पनि आफू सांसदबाट राजीनामा नदिने उनले स्पष्ट पारे ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *