काङ्ग्रेस केन्द्रिय समितिको बैठक सुरु

काठमाडौं:  कांग्रेस केन्द्रीय कार्य समितिको बैठक सुरु भएको छ । पार्टीको विधान मस्यौदा समितिले पेश गरेको विधान संशोधन मस्यौदामाथि छलफल गर्न केन्द्रीय कार्य समितिको बैठक बोलाइएको हो ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा गत आइतबार पार्टीको विधान मस्यौदा संशोधन समितिले पेश गरेको प्रतिवेदनमाथि छलफल सुरु गरिएको सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए ।

महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको विधान संशोधन मस्यौदा समितिले केन्द्रीय समितिमा पेश गरेको मस्यौदामा बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले असहमति जनाउँदै सभापतिलाई दिइएको अधिकार कटौटी गर्नु पर्ने, पदाधिकारी संख्या बढाउनुपर्नेलगायतका माग राखेको छ ।

बैठकमा असहमतिका पक्षलाई पनि छलफल गरेर सो मस्यौदालाई टुंगो लगाउने तयारी गरिएको छ । बैठकमा राजनीतिक प्रतिवेदन, आर्थिक प्रतिवेदन, सांगठनिक प्रतिवेदनमाथि पनि छलफल गरी आगामी २८ गतेदेखि काठमाडौंमा सुरु हुने महासमिति बैठकमा पेश गर्ने कांग्रेसको तयारी रहेको छ । सहमहामन्त्री महतले केन्द्रीय कार्य समिति बैठकले विधान संसोधन मस्यौदा, राजनीतिक प्रतिवेदन, आर्थिक प्रतिवेदनमाथि पनि छलफल गरी महासमिति बैठकमा पेश गर्ने सबै प्रतिवेदनहरु तयार पार्ने बताए ।

केन्द्रीय कार्य समितिमा छलफल सुरु गरिएको विधान मस्यौदामा ‘एक व्यक्तिः एक पद’को प्रस्ताव गरिएको छ । त्यसैगरी केन्द्रदेखि टोलसम्म ८ वटा संरचना प्रस्ताव गरिएको छ । स्थानीय तहको निर्वाचनमा उम्मेदवारी तय गर्ने जिम्मेवारी स्थानीय तहलाई नै दिने, उम्मेदवार प्रस्ताव गर्दा ३ जनाभन्दा बढि गर्न नपाउने व्यवस्था गरिएको छ ।

प्रस्तावित विधान मस्यौदामा पार्टीको केन्द्रीय विभागहरुको नाम र कार्य क्षेत्रमा पनि हेरफेर गरिएको विधान संशोधन मस्यौदा समितिका प्रवक्ता रमेश लेखकले बताए । जस अनुसार केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानको नाम केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान प्रस्ताव गरिएको छ । सो प्रतिष्ठानमा स्थायी सचिवालयको व्यवस्था गर्ने र सो मार्फत् पार्टीको नीति तय गरिने उल्लेख गरिएको छ ।

प्रस्तावित विधान संशोधन मस्यौदा समितिमा केन्द्रीय अनुशासन समिति, लेखा समितिको पनि व्यवस्था गरिएको छ । केन्द्रीय अनुशासन समिति अन्तर्गत प्रदेश र जिल्लामा पनि अनुशासन समिति रहने व्यवस्था गरिएको छ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *