डेढ महिनापछि बसेको प्रदेशसभा ३ को बैठक पुनः अनिश्चितकालका लागि स्थगित

हेटौंडा-  डेढ महिनापछि सुरु भएको प्रदेश ३ को बैठक दुईदिनमा पाँचवटा बिधेयक पास गर्दै पुन : अनिश्चितकालका लागि स्थगित भएको छ ।

गत असोज २३ गते स्थगित भएको प्रदेश ३ को बैठक सोमबार र मंगलबार बसेपछि अर्को सूचना नआएसम्मको लागि स्थगित भएको छ । मंगलबार बसेको बैठकले ५ वटा विधेयक सर्बसम्मतिले पारित गरेको छ । बिषयगत समितिमा दफावार छलफल पश्चात सोमबार प्रदेश सभामा पेश भएका ५ वटा विधेयक मंगलबार पारित भएको हो ।

प्रदेशको स्थायी राजधानीको बिषयमा मतभेद बढ्दै गएपछि सहमतिको प्रयासको लागि प्रदेश सभाको बैठक बस्न ढिलाइ भएको थियो । तर डेढ महिनापछि बसेको बैठकमा राजधानीको बिषयले भने स्थान पाएन । मंगलबार सवा १२ बजेको लागि बोलाइएको बैठक करिब एक घण्टा ढिला सुरु भयो ।

सांसदहरुले बिशेष समय राख्न माग गरेपछि आकिस्मक रुपमा कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको थियो । तर बैठकमा आज विशेष समय नराख्ने सहमति भएपश्चात बैठक सुचारु भएको एक सांसदले बताए ।

बिशेष समयमा राजधानीको बिषय उठाउने सम्भावना बढेपछि बैठकमा बिशेष समय नराखिएको बताइएको छ । राजधानीको बिषयलाई सहमतिकै आधारमा टुङ्ग्याउने प्रयासमा प्रदेश सरकार लागिरहेको नेकपाका एक सांसदले बताए ।

मुख्यमन्त्री डोरमणि पौडेल चार दिनको लागि कतार भ्रमणमा रहेकोले अहिले राजधानीको बिषयमा कुनै कुरा नहुने भन्दै आगामी बस्ने बैठकमा राजधानीको टुङ्गो लाग्ने बताइएको छ ।

मंगलबारको प्रदेशसभमा सभामा प्रदेश संस्था दर्तासम्बन्धी व्यवस्था गर्न बनेको विधेयक र प्रदेश सञ्चार माध्यम व्यवस्थापनसम्बन्धी विधेयक पारित गरिएको छ । यस्तै प्रदेश खेलकुद विकास गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश प्राविधिक शिक्षा परिषद् स्थापना र सञ्चालन गर्न बनेको बिधेयक, प्रदेश कार्यसञ्चालन कोषको व्यवस्था गर्न बनेको विधेयक पनि सर्वसम्मतिले पारित भएको हो ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *