कसरी विकास गर्नुपर्छ सरकार थाहा छ: प्रधानमन्त्री ओली

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले विकासलाई द्रुत गतिमा कसरी अगाडि बढाउनु पर्दछ भन्ने जानकारी सरकारलाई भएको बताएका छन्। सरकारले गठन गरेको जनशक्ति प्रक्षेपण कार्यदलको बैठकलाई आज सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विकासको गतिलाई तीव्र रुपमा बढाइने बताए।

‘विकासलाई द्रुत गतिमा कसरी अगाडि बढाउनु पर्दछ भन्ने यो सरकारलाई जानकारी छ’, प्रधानमन्त्री ओलीले भने, ‘छोटो समयमा कसरी छिटो विकास हुन्छ भन्ने कुरा हामी जनतालाई विश्वास हुने गरी देखाउँछौ।’

प्रधानमन्त्री ओलीले योजनावद्ध विकासका लागि जनशक्ति प्रक्षेपण आवश्यक रहेको धारणा राखे। ‘देशलाई हामी समृद्ध बनाउन चाहन्छौं। त्यसका लागि हामीलाई हरेक क्षेत्रमा कति जनशक्ति आवश्यक पर्दछ भन्ने थाहा हुनु पर्दछ।’, प्रधानमन्त्री ओलीले भने, ‘यस कार्यदलले ल्याएको प्रतिवेदनले नेपालमा वर्षौंसम्मका लागि जनशक्तिको आपूर्तिलाई मार्गदर्शन गर्नुपर्दछ।’

उनले कार्यदलका सदस्यहरुलाई विषयको गम्भीरतालाई बुझेर अनुसन्धानमुलक र गहन अध्ययनका साथ काम गर्न निर्देशन दिए। ‘आगामी धेरै वर्षसम्म यस समितिको प्रतिवेदनलाई जनशक्ति व्यवस्थापनका लागि आधार बनाइन्छ’, ओलीले भने, ‘डाक्टर कति चाहिने, इन्जिनियर कति, शिक्षक कति, कृषिमा कति जनशक्ति चाहिने? यी सबै कुरा तथ्यगत रुपमा समितिले ल्याउनु पर्दछ। आगामी दिनका लागि यो प्रतिवेदन निर्देशन पुस्तिका हुनेछ।’

समितिले ल्याएको तथ्यगत प्रतिवेदनका आधारमा राष्ट्रिय योजना आयोग, मन्त्रालयहरुले पनि योजना बनाउने भएकोले यसलाई त्रुटीरहित बनाउन प्रधानमन्त्रीले निर्देशन दिए। ‘अनुमानमा होइन तथ्यका आधारमा, भवितव्यमा होइन योजनबद्ध रुपमा काम गर्नुहोस्’ प्रधानमन्त्रीले निर्देशनमा भने, ‘प्रतिवेदनमा नयाँ निष्कर्षहरु आउनु पर्दछ।’

सरकारले विभिन्न क्षेत्रमा के–कति जनशक्ति आवश्यक पर्छ त्यसलाई तथ्यगत रुपमा अध्ययन गर्नका लागि असोज २८ गते  डा रुद्र सुवालको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेकोे थियो। समितिका सदस्यहरुमा डा माधव दाहाल, डा इन्दिरा पराजुली, डा विश्ववाला थापा, डा विजयदत्त, डा ध्रुव गौतम र डा राजेश अहिराज छन्।

कार्यदलको निर्देशक समिति शिक्षामन्त्रीको संयोजकत्वमा गठन गरिएको छ। समितिलाई ४ महिनाको समयसीमा तोकिएको छ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *