दस केजी चामलको लागि वडा अध्यक्ष र गाउँपालिकाको सिफारिस

काठमाडौ- तीन महिनादेखि चामल किन्न नपाएपछि सिमकोट गाउँपालिका–४ गुराउँसेका गोपाल विक वडा कार्यालय पुगे । वडाध्यक्ष छविचन्द्र लामाले सिफारिस दिए । उनी वडाको सिफारिस बोकेर गाउँपालिका कार्यालय पुगे । हारगुहार गरेपछि गाउँपालिका अध्यक्ष पदम लामाले अर्को सिफारिस बनाइदिए । सिफारिसपत्रमा लेखिएको थियो, ‘श्रीमान् प्रमुख जिल्ला अधिकारीज्यू, गरिबलाई १० केजी चामल सहयोग गरिदिन अनुरोध छ ।’

गाउँपालिका अध्यक्षको त्यही सिफारिसपत्र बोकेर ३० कात्तिकमा हुम्ला सदरमुकामस्थित प्रमुख जिल्ला अधिकारी (सिडिओ) कार्यालय पुगे । सिडिओ माधवप्रसाद ढुंगाना बिदामा थिए । त्यसपछि सहायक सिडिओ महेशकुमार पोखरेलको कार्यकक्षमा पुगे ।

घरमा चामल नभएको र तीन महिनादेखि चामल किन्न नपाएको गोपालको गुनासो र वडाध्यक्ष तथा गाउँपालिका अध्यक्षको सिफारिस पढेपछि सहायक सिडिओ पोखरेलले त्यही सिफारिसपत्रको पछाडि तोक–आदेश लगाए । त्यसमा लेखे, ‘श्री ने.खा. संस्थान, १५ केजी चामल दिने ।’चामलको लागि सिमकोट गाउँपालिकाको अध्यक्षको सिफारिस र सहायक सिडिओको तोक 

सहायक सिडिओको तोक–आदेश बोकेर नेपाल खाद्य संस्थानको हुम्लास्थित कार्यालय पुगेका गोपालले १५ किलो चामल पाए । त्यो भने गाउँपालिका अध्यक्ष लामाले सिफारिसमा भनेजस्तो सहयोग थिएन । गोपालले नगद नै तिरेर १५ किलो चामल खरिद गरे । ‘गरिब भए पनि सित्तैमा चामल त कसले दिन्छ ? त्यही पनि तीन महिनादेखि किन्न पाएको थिइनँ । सिडिओसा’पले तोक लगाइदिएपछि किन्न पाएँ,’ गोपालले खुसी हुँदै भने ।

गोपालले मात्रै होइन, हुम्लाका बासिन्दाले यसरी नै वडादेखि सिडिओसम्मको तोक–आदेशपछि मात्रै चामल खरिद गर्न पाउने गरेका छन् । साउनदेखि चामल खरिद गर्न नपाएका उनीहरूले १ मंसिरमा पाएका हुन् । त्यो पनि सबै हुम्लावासीले भने पाएका छैनन् । विवाह, व्रतबन्ध, सुत्केरी, बरखी र मृत्युलगायत शीर्षक छुट्याएका छन् । उनीहरूले मात्रै सिफारिसमा चामल पाएको खाद्य संस्थान कार्यालयका प्रमुख रामबहादुर विष्टले बताए ।

यसरी वडा कार्यालयबाटै सिफारिस भएर आएका बासिन्दालाई १ मंसिरमा चामल बिक्री गरिएको होे । संस्थानका अनुसार एक सय २९ क्विन्टल चालम बिक्री भएको छ । विवाह, व्रतबन्ध, सुत्केरी, बरखी र मृत्युलगायत शीर्षकमा नपरेका सर्वसाधारणले भने चामल खरिद गर्न पाएका छैनन् । ‘प्रशासनकै सिफारिसमा अतिआवश्यक पर्नेलाई बिक्री गरेका हौँ, अरूलाई बिक्री गर्न चामल छैन,’ संस्थानका प्रमुख विष्टले भने ।

सस्तोका लागि सकस
हुम्लाका बासिन्दाले केही सस्तोमा चामल पाउनका लागि यो सकस गर्नुपरिरहेको हो । खाद्य संस्थानले बिक्री गर्ने चामल प्रतिकेजी ७० रुपैयाँ पर्छ । त्यही चामल बजारमा खरिद गर्दा प्रतिकेजी एक सय ६० रुपैयाँ पर्ने गरेको छ । त्यो पनि खरिद गर्न नपाइने स्थानीय बासिन्दाको गुनासो छ ।

चामल नआउँदा बिक्री बन्द
प्रत्येक महिनाको एक दिन चामल बिक्री गर्दै आएको खाद्य संस्थानले जिल्लामा आवश्यक चामल ढुवानी नभएपछि साउनयता बिक्री गरेको छैन । जिल्लाका विभिन्न खाद्य डिपोले चामल माग गरेअनुसार ३१ हजार क्विन्टल चामल आवश्यक भएको संस्थानका प्रमुख विष्टले बताए ।

अहिले खाद्य संस्थानको गोदाममा सात सय क्विन्टल चामल छ । तर, सिडिओ कार्यालयको आदेशमा त्यो चामल बिक्री गर्न बन्द गरिएको छ । थप चामल आएर एक हजार सात क्विन्टल चामल मौज्दात नहुँदासम्म बिक्री नगरिने सिडिओ ढुंगानाले बताए । ‘त्यो अत्यावश्यक अवस्थाका लागि राखिएको हो,’ उनले भने ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *