व्यावसायिक फुटबलको लागि ट्रायल दिन बेल्जियम जाँदै बिमल

काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टोलीका युवा स्ट्राइकर विमल घर्तीमगर व्यावसायिक फुटबलको ट्रायल दिन बेल्जियम जाने भएका छन् । छिट्टै बेल्जियम जान लागेका विमलले पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग खेलिरहेको च्यासल पनि छाडिसकेका छन् । विमल मंगलबारदेखि नै च्यासलको प्रशिक्षणमा नआएको टोलीका प्रशिक्षक राजुकाजी शाक्यले बताए ।

विमलले आफू बेल्जियम जान लागेका कारण फुकुवा मागेकोले उनलाई स्वीकृति दिएको क्लबले जनाएको छ । विमलले यसअघि पनि बेल्जियमको आरएससी एन्डरलेच्टबाट खेलेका थिए । उनले स्पेनको मार्वेला युनाइटेड क्लबमा पनि ट्रायल दिएका थिए । मार्वेलामा भने उनी असफल भएका थिए । विमललाई च्यासलले चाहेको बेला फुकुवा हुन पाउने सर्तमै अनुबन्ध गरेको थियो।

विमलको अनुपस्थितिले पहिलो पटक ‘ए’ डिभिजन लिग खेलिरहेको च्यासललाई केही गाह्रो पर्ने देखिएको छ । ‘टोलीमा भर्खर मात्र स्ट्राइकर सन्तोस साहुखललाई अनुबन्ध गरेका छौं । स्ट्राइकिङ लाइनमा अन्य विदेशी खेलाडी पनि राख्ने तयारी छ,’ प्रशिक्षक शाक्यले भने । च्यासल ‘बी’ डिभिजनको विजेता बन्दै गत वर्ष ‘ए’ डिभिजनका उक्लिएको हो ।

लिगमा दुई खेल खेलेको च्यासलले आफ्नो पहिलो खेलमा मच्छिन्द्रसँग गोलरहित बराबरी खेलेको थियो । च्यासल दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबसँग १-० गोलले पराजित भएको थियो । लिगमा एक अंक बनाएको च्यासल अहिले तालिकाको नवौं स्थानमा छ ।

लिगमा दोस्रो चरणको खेल सकिँदा शीर्ष स्थानमा रहेको थ्रीस्टारको ६ अंक छ । समान ६ अंक बनाएको मनाङ मस्र्याङ्दी र संकटा क्लब गोलअन्तरका आधारमा दोस्रो र तेस्रो स्थानमा छन् । त्रिभुवन आर्मी, एपीएफ, पुलिस र हिमालयन सेर्पाले चारचार अंक बनाएका छन् । दुई बराबरी खेलेको मच्छिन्द्रको दुई अंक छ । एनआरटीले एक अंक बनाएको छ भने फ्रेन्ड्स, सरस्वती, जाउलाखेल र ब्रिगेड ब्वाइज क्लबले खाता खोल्न सकेका छैनन् ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *