नेपाली काङ्ग्रेस: पौडेल समुहको लन्च मिटिङपछी फेरि युवा नेताहरू एक ठाँउमा

काठमाडाैं– नेपाली कांग्रेसका युवा नेताहरुको बैठकले पार्टी क्रियाशील हुन नसकेको निष्कर्ष निकालेको छ। सरकारसँग निरास भएका आम जनतालाई भविष्यप्रति कांग्रेसले उत्साहित बनाउनुपर्नेमा पार्टी चुकेको युवा नेताहरुको ठम्याइ छ।

युवा नेता गगन थापाले भने, ‘पार्टीमा एक प्रकारको शिथिलता छ।’पार्टीको नेतृत्व अनौपचारिक कार्यक्रममा मात्रै केन्द्रित रहेको उनले बताए। पार्टीका तौरतरिकामा परिवर्तन ल्याउनका लागि छलफल भएको उनले बताए।

युवा नेताहरुले पार्टी सुधारका लागि बैठकलाई निरन्तरता दिने निर्णय पनि गरेका छन्। आगामी बैठक सोमबार वा मंगलबार पुनः बस्नेछ।

युवाहरुको बैठक मुख्यतः महासमिति बैठकलाई प्रभावकारी बनाउन केन्द्रित छ।

आम निर्वाचनपश्चात् पार्टीको विचार, संगठन र पार्टीमा भएका गल्तीहरु सच्चाउने पक्षमा युवाहरुको बैठक बसेको नेता थापाले जानकारी गराए।

पार्टीको बैठकमा पेस गरेका प्रस्तावहरुलाई महासमिति बैठकमा कुन रुपमा प्रस्तुत गर्ने भन्ने विषयमा छलफल भएको उनले जानकारी गराए। युवा पक्षले उठाएका एजेण्डाहरु बहसमा उठाउने पक्षमा बैठकमा छलफल भएको छ।

बुधबार बसेको बैठकमा आधा दर्जन युवा नेताहरु सहभागी भएका थिए भने शुक्रबार थप युवा केन्द्रीय नेताहरु पनि सहभागी भए।

उपत्यका बाहिर भएकाले केन्द्रीय सदस्य प्रदीप पौडेल र कल्याण गुरुङ भने उपस्थित हुन नसकेको बताइएको छ। चन्द्र भण्डारी, थापा, धनराज गुरुङ, गुरुराज घिमिरे, बद्रीप्रसाद पाण्डे, जीवन परियार लगायतका युवा केन्द्रीय सदस्यहरुको बैठक बसेको हो।

युवा नेताको बैठकमा पार्टीको संस्थापनइतरका मात्रै सहभागी भएका छन्। बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरुको बाहुल्यता छ।

‘कुन युवा नेता कुन समूहमा आवद्ध भएको भन्ने तरिकाले बैठक भएको छैन। भोलि त्यही रुपमा पनि जाँदैन,’ थापाले भने, ‘पार्टी सकारात्मक रुपमा सञ्चालित छ। पार्टीका गलत कार्य ढाकछोप गर्नुपर्छ भन्ने मान्यता राख्नेसँग स्वभाविक रुपमा कुरा मिल्दैन।’

थापाले पार्टी चलिरहेको तरिकासँग असन्तुष्टहरु जसले पार्टीमा ठूलो सुधार चाहनेहरुको जमघटका रुपमा बुझ्नुपर्ने बताए। बैठकको दायरा फराकिलो हुँदै जाने बताइएको छ।

पार्टी पराजयपछि सक्रियता बढाएका युवा नेताहरुकै समूहले पुन आफ्ना गतिविधि बढाएका हुन्। बैठकको नेतृत्व चन्द्र भण्डारीले गरेका छन् भने पहल थापाको हो।

युवा नेताहरुको बैठक बुधबार पुरानो बानेश्वरस्थित सिद्धार्थ फुडल्यान्डमा बसेको थियो भने शुक्रबार  तीनकुनेमा रहेको सिद्धार्थ फुडल्यान्डमा बसेको थियो।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *