अन्योलमा राजपा: आन्दोलन गर्ने कि महाधिवेशन

काठमाडौँ- राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले छठपछि आन्दोलन गर्ने कि महाधिवेशनको तयारीमा लाग्ने भनेर अन्यौलमा देखिएको छ ।

सरकारले छठपछि संविधान संशोधनको प्रक्रियालाई अगाडि बढाउने आश्वासन दिएको छ । तर, यसमा राजपा नेपालका नेताहरुले आस्वस्त छैनन् ।

छठपछि पनि संविधान संशोधन भएन भने राजपा नेपालका नेताहरुले आन्दोलनमा जाने भनेर विभिन्न कार्यक्रममार्फत घोषणा नै गरिसकेका छन् ।

यता, २०७६ वैशाख ७, ८ र ९ गते पार्टीको पहिलो महाधिवेशन गर्ने तयारीमा नेताहरु लागेका छन् ।

यदी संविधान संशोधन भएन भने महाधिवेशनको तयारीमा लागि सकेका नेता तथा कार्यकर्ताहरु आन्दोलनमा जान्छ त ? राजपा नेपालको लागि ठूलो प्रश्न खडा भएको छ ।

प्राथमिकता महाधिवेशन, त्यसपछि आन्दोलन

राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादव भन्छन्, ‘अहिलेलाई हाम्रो प्राथमिकता भनेको पार्टीको महाधिवेशन हो, त्यसपछि आन्दोलन ।’

महाधिवेशनसँगै आन्दोलनको तयारी पनि हुने तर महाधिवेशनपछि मात्र आन्दोलन हुने बताउँदै उनले पार्टीका लागि महाधिवेशन महत्वपूर्ण कुरा रहेकाले अहिले पार्टीको सम्पूर्ण ध्यान त्यसैमा रहेको बताए ।

महाधिवेशनका लागि जिल्ला तथा गाउँहरुमा सदस्यता वितरण गर्नुको साथै संगठन निर्माणमा राजपा नेपाल जोडतोडले लागेको छ ।

त्यस्तै, पार्टी महासचिव मनिष सुमन पनि छठपछि संविधान संशोधन हुने कुरामा आफूलाई विश्वास नलागेको बताउँछन् ।

तर, अहिले पार्टी महाधिवेशनको तयारीमा जुटेको कारण आन्दोलनको विषयमा पार्टीमा कुनै छलफल नभएको बताए । उनले भने, ‘पार्टी महाधिवेशनको तयारीमा लागेको छ । आन्दोलनको बारेमा अहिले कुनै निर्णय भएको छैन । तर, आवश्यक पर्यो भने आनदोलनको बारेमा निर्णय लिन सकिन्छ ।’

असोज २२ गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजपा नेपालका नेताहरुले भेटेर ज्ञापनपत्र बुझाएका थिए । सो ज्ञापनपत्र बुझ्दै प्रधानमनत्री ओलीले संविधान संशोधनको विषयमा दशैं अघि नै टुङ्गो लगाउने प्रतिबद्धता जनाएका थिए ।

भेटमा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले दशैँअघि नभए छठ पछि पनि संविधान संशोधन भयो भने आफूहरु अभारी हुने कुरा प्रधानमन्त्री ओली समक्ष राखेका थिए ।

यद्यपि ज्ञापनपत्र बुझिसकेपछि संविधान संशोधनको बारेमा सरकारले कुनै पनि प्रक्रिया अगाडि बढाएको छैन । भाषणहरुमा भने प्रधानमन्त्री ओलीले सविधान संशोधन गर्ने आफ्नो प्रतिबद्धता दोहोर्याउँदै आएका छन् ।

यता, नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान संशोधनको विषयमा प्रधानमन्त्री केपी शर्मा ओली, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष एवं उपप्रधानमन्त्री उपेन्द्र यादव र आफूबीचमा कुराकानी भइसकेको कुरा राख्दै आएका छन् ।

जनकपुरमा नेकपा प्रदेश २ को पार्टी कार्यालय उद्घाटन गर्न गएको बेला उनले यो कुरा पटक–पटक दोहोर्याएका थिए ।

फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव पनि सविधान संशोधन हुनेमा विश्वस्त छन् । उनले राजपा नेपालका नेताहरुसँग कुरा गर्दा पनि सविधान संशोधनको विषयमा सरकार सकारात्मक रहेको बताउँदै आएका छन् । उपेन्द्र यादवले आफ्ना भाषणहरुमा पनि संविधान संशोधनकै लागि आफूहरु सरकारमा गएको कारण संशोधन हुने कुरामा विश्वस्त रहेको बताउने गरेका छन् ।

तर, सविधान संशोधन हुने कुरामा राजपा नेपालका नेताहरुलाई विश्वास लागिरहेको छैन ।

पार्टीका प्रवक्ता केशव भन्छन्, ‘सरकारको रवैया हेर्दा संविधान सशोधन होला भनि कुरामा आफूलाई विश्वास लागेको छैन ।’ संविधान संशोधनका लागि एकपटक पुनः आन्दोलनको आवश्यकता रहेको तर त्यसका लागि तयारी गर्नुपर्ने उनले बताए ।

‘पार्टीको महाधिवेशन पनि नजिक आइसक्यो, संगठनका कामहरु पनि भइरहेको छ, यस अवस्थामा आन्दोलनको पनि तयारी गरिरहनुपर्छ,’ उनले भने, ‘छठपछि पनि सविधान संशोधन भएन भने सरकारबाट समर्थन फिर्ता लिएपछि आन्दोलनकारीलाई आत्मबल पुग्नेछ ।’

के होला प्रदेश सरकार ?

राजपा नेपालले आन्दोलनको धम्की दिएपनि प्रदेश सरकारको बारेमा केही बोलेको छैन । केन्द्र सरकारबाट समर्थन फिर्ता लिने पटक–पटक चेतावनी दिएपनि प्रदेश २ मा संघीय समाजवादी फोरम नेपालसँग मिलेर बनाएको सरकारको बारेमा केही बोलेको छैन ।

यदी राजपा नेपालले आन्दोलन गर्यो भने त्यसको केन्द्रविन्दु प्रदेश २ नै पर्छ । एकातिर सरकारमा बस्ने र अर्कोतिर आन्दोलन पनि गर्ने यो सम्भव नहुने अध्यक्ष मण्डलका सदस्य यादवले बताउँछन् । ‘सरकारमा रहेर सरकारको विरुद्धमा आन्दोलन गर्न नैतिकताले पनि मिल्दैन,’ यादवले भने ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *