लालबाबु रावतलाइ रोक्ने कानुनले रोकेन शेरधन राइलाइ बिना जानकारी अमेरिका भ्रमणमा

काठमाडौ- प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईको अमेरिका भ्रमण विवादमा परेको छ।

कात्तिक १६ गते घाँटीको उपचारका लागि थाइल्याण्डको बैंकक गएका मुख्यमन्त्री राई उतैबाट कात्तिक १९ गते जर्मनी हुँदै अमेरिका पुगे।

दुई दिनअघि उनको अमेरिका भ्रमणबारे समाचार लेखेको विषयमा पत्रकार लोकमणि राईमाथि कुटपिट भएपछि उनको भ्रमणबारे चासो र विवाद बढेको हो।

कात्तिक ११ गते बसेको प्रदेश १ को मन्त्रिपरिषद् बैठकले राईको थाइल्याण्ड र अमेरिका भ्रमण स्वीकृत गरेको थियो। उनी निजी खर्चमा उपचार गर्न थाइल्याण्ड र भेटघाट गर्न अमेरिका जाने कार्यक्रम थियो। उनले भ्रमणका लागि संघीय सरकारसँग स्वीकृति लिएको भने देखिएको छैन।

‘सार्वजनिक कार्यक्रममा जाँदा स्वीकृति लिनुपर्छ, निजी कामका लागि प्रधानमन्त्रीले त कार्यालयमा जानकारी दिनुपर्छ, मन्त्रीहरूले पनि दिनुपर्छ,’ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले भने, ‘मुख्यमन्त्रीले पनि विदेश जाँदैछु भन्ने जानकारी दिएर समन्वय गरेरमात्र जानुपर्छ।’

मुख्यसचिव लोकदर्शन रेग्मीले मुख्यमन्त्री राईले प्रधानमन्त्री कार्यालयसँग समन्वय गरे/नगरेकोबारे आफूलाई जानकारी नभएको बताए।

‘मलाई जानकारी छैन, म बुझ्छु,’ उनले ग्लोबल खबरसँग भने।

सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले पनि राईको अमेरिका भ्रमणबारे आफूलाई जानकारी नभएको बताए।

‘म बाहिर थिएँ, उहाँ कसरी जानुभएको हो मलाई थाहा भएन,’ बाँस्कोटाले भने।

प्रदेश १ का प्रवक्ता हिक्मत कार्कीले भने मन्त्रिपरिषद्को निर्णयपछि संघीय सरकारलाई यसको जानकारी दिइएको बताएका छन्।

राष्ट्रिय समाचार समितिसँग कुरा गर्दै कार्कीले भनेका छन्- मुख्यमन्त्री राईले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आफ्नो भ्रमणबारे जानकारी गराउनुभएको छ। तर उपचार तथा निजी भ्रमणबारे संघीय सरकारको अनुमति लिनुपर्ने अनिवार्य व्यवस्था छैन।

निजी भ्रमणमा गएका मुख्यमन्त्री राई अमेरिकामा भने सार्वजनिक कार्यक्रममा सहभागी भएका छन्। बुधबार साँझ आदिवासी जनजाति महासंघ अमेरिकाले ज्याक्सन हाइटमा उनलाई सम्मान गरेको छ।

‘त्यो कार्यक्रम पहिला तय भएको थिएन उहाँ गएपछि बनाएछन्,’ राईका प्रेस सल्लाहकार ध्रुव सुवेदीले भने।

बैंककस्थित ब्रुमुनग्राड इन्टरनेशनल अस्पतालमा स्वास्थ्य चेकजाँच गरेका मुख्यमन्त्री राईको रिपोर्ट सोमबार आउनेछ। त्यसपछि उनी स्वदेश फर्कने छन्।

यसअघि प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतलाई अमेरिका भ्रमण गर्न संघीय सरकारले अनुमति दिएको थिएन। गत जेठमा राउत जनरल कन्भेन्सन अफ मधेसी एशोसिएशन अफ अमेरिकाको निम्तोमा अमेरिका जान लागेका थिए। संघीय सरकारले प्रदेश बजेट बनाउनुपर्ने भएकाले अहिले विदेश भ्रमणमा जानु उपयुक्त नहुने भन्दै उनको भ्रमण अस्वीकृत गरिदिएको थियो।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *