अधोगतिमा ट्रम्प विपक्षीको कब्जामा हाउस

काठमाडौ– अमेरिकामा मंगलबार सम्पन्न निर्वाचन मार्फत विपक्षी डेमोक्र्याटिक पार्टीले हाउस अफ रिप्रेजेन्टिटिभमा बहुमत हासिल गरेको छ। सिनेटमा भने ट्रम्पको रिपब्लिकन पार्टीले तीन थप सिट जित्दै आफ्नो बहुमत कायमै राखेको छ। 

पूर्ण मत परिणाम आउन बाँकी नै भए पनि हाउसमा डेमोक्र्याटिक पार्टीको बहुमत आउने पक्का भएको अमेरिकी सञ्चार माध्यमले जनाएका छन्।

यो चुनावअघि ४४५ सदस्य रहेको हाउसमा रिपब्लिकन पार्टीको २३४ सिट थियो। डेमोक्र्याटिक पार्टीको २०१ सिट मात्र थियो। अहिलेसम्मको मतपरिणाममा डेमोक्र्याटहरुले नयाँ २४ सिट जितेका छन्। रिपब्लिकनले २४ सिट गुमाएका छन्। डेमोक्र्याटिक पार्टीले रिपब्ललिकनबाट ४० देखि ५० सिटसम्म छिन्न सक्ने देखिएको सञ्चार माध्यमले जनाएका छन्।

यो मत परिणामले राष्ट्रपति ट्रम्पलाई धक्का पुग्नेछ। उनले अब पहिले जस्तो एकलौटी नीति, नियम तथा कानुन बनाउन पाउने छैनन्।

अमेरिकामा कुनै पनि कानुन तथा बजेट अमेरिकी कंग्रेसका दुवै सदन सिनेट र हाउसबाट पारित हुनुपर्छ। हाउसमा बहुमत गुमाएपछि राष्ट्रपति ट्रम्पका हात बाँधिने छन्। उनले अब डेमोक्र्याटहरुको नियन्त्रणमा रहेको हाउसलाई मनाएर मात्र कानुन तथा बजेट पारित गर्न सक्नेछन्।

राष्ट्रपति ट्रम्पको पछिल्लो दुई वर्षे कार्यकालमाथि जनमतसंग्रह मानिएको यो चुनावमा मतदाताहरूले राष्ट्रपतिमाथि नियन्त्रण राख्नेगरी अभिमत प्रकट गरेको टिप्पणी विश्लेषकहरूले गरेका छन्।

हाउसका सदस्यहरूको कार्यकाल जम्मा दुई वर्ष हुन्छ। सिनेटका सदस्यको कार्यकाल भने ६ वर्षको हुन्छ। तर प्रत्येक दुई वर्षमा सिनेटका एक तिहाई सदस्यको चुनाव हुन्छ।

आउने दुई वर्षपछि अमेरिकामा राष्ट्रपति चुनाव हुनेछ। यो मतपरिणामले डेमोक्र्याटहरूलाई उत्साहित पार्नेछ भने राष्ट्रपति ट्रम्पका लागि चिन्ता थप्नेछ।

यो चुनावले पनि अमेरिकामा देखिएको सहरी र ग्रामिण क्षेत्रको राजनीतिक विभाजन कायमै रहेको देखाएको छ।

डेमोक्र्याटहरुले ठूला सहर तथा सहर वरिपरिका निर्वाचन क्षेत्रमा जित हासिल गरेका छन् भने रिपब्लिकनहरुले ग्रामिण क्षेत्रमा आफ्नो पकड कायमै राखेका छन्।

यसपालि प्रतिस्पर्धात्मक चुनाव भएका धेरै सिनेट सिटहरु ग्रामिण क्षेत्रमा परेकाले डेमोक्र्याटहरुले राम्रो परिणाम निकाल्न नसकेको विश्लेषण गरिएको छ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *