साल्ट ट्रेडिङले तोक्यो चिनीको भाउ, किलोको ६८ रुपैयाँ

काठमाडौं- साल्ट ट्रडिङ कर्पोरेसन लिमिटेडले प्रचलित बजार मूल्यभन्दा सस्तो हुनेगरी चिनीको भाउ कायम गरेको छ। लिमिटेडले आफ्नो चिनी प्रतिकिलो ६८ रुपैयाँका दरले बिक्री वितरण थालेको संस्थानका सहायक महाप्रबन्धक कुमार राजभण्डारीले ग्लोबल खबरलाइ जानकारी दिए। उनका अनुसार गत शनिबारदेखि नै उक्त दरमा चिनीको बिक्रीवितरण गरिएको छ। हाल बजारमा चिनीको खुद्रा मूल्य ७५ रुपैयाँको हाराहारीमा छ।

‘चाडबाडलाई लक्षित गरेर सहुलियत दरमा चिनी बिक्री गर्ने निर्णयमा संस्थान पुगेको हो,’ भन्डारीले भने।

यसअघि संस्थानले गत १२ असोजदेखि सञ्चालन गरेको सहुलियत पसलमै चिनीको प्रतिकिलो मूल्य ७६ रुपैयाँ तोकेको थियो। तर, उक्त मूल्य प्रचलित बजारभाउ भन्दा पनि बढी भएको भन्दै विरोध भएपछि संस्थानले चिनीको बिक्री नै रोकेको थियो। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले प्रतिकिलो ७० रुपैयाँभन्दा बढीमा चिनी बेचे कारबाही गर्ने चेतावनी दिएपछि संस्थानले बिक्री रोकेको थियो।

त्यसयता गत साता मन्त्रालयमा बसेको संस्थानसहितको बैठकले चिनीको मूल्य निर्धारण गरेको थियो। सोहीअनुसार चिनी बिक्रीवितरण गरिएको संस्थान बताउँछ। संस्थानको मूल्यकै हाराहारीमा चिनीको बजार मूल्य कायम हुँदै आएको छ।

हाल संस्थानसँग १७ हजार मेट्रिक टन चिनी मौज्दात छ।

महंगोमा किनेर सस्तोमा बेच्नुपरेपछि अहिले चिनीमा संस्थानले घाटा व्यहोर्नुपरेको संस्थानका सहायक महाप्रबन्धक राजभण्डारी बताउँछन्। उनका अनुसार प्रतिकिलो ६८ रुपैयाँमा चिनी बेच्दा संस्थानलाई किलोमै ८ रुपैयाँ घाटा छ। ‘अन्तर्राष्ट्रिय बजारमा भाउ महंगो हुँदा किनेको चिनी सस्तोमा बेच्नुपर्ने अवस्थाले संस्थानलाई घाटा हुने स्थिति आएको छ।’

त्यस्तै, विगतका वर्षहरूमा सहुलियत दरमा चिनी बिक्री गर्दा विगतमा पाउँदै आएको अनुदानसमेत नपाउने स्थिति आएपछि संस्थानलाई चिनीको व्यापारमा थप चाप परेको राजभण्डारी बताउँछन्। चालू आर्थिक वर्षमा पनि प्रतिकिलो चिनी बिक्रीमा ५ रुपैयाँ सरकारी अनुदान पाउने व्यवस्था बजेटमार्फत् आएपनि त्यसको कार्यविधि नबन्दा अनुदान नपाउने अवस्था सृजना भएको उनी बताउँछन्।

About राजेश दुलाल

View all posts by राजेश दुलाल →

Leave a Reply

Your email address will not be published. Required fields are marked *