पिपिएल: पोखरा र चितवन फाइनलमा भिड्ने

काठमाडौ- चितवन राइनोज पोखरा प्रिमियर लिग (पिपिएल) टी-२० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। आइतबार पोखरा रंगशालामा भएको एलिमिनेटरको खेलमा चितवनले हुलास काठमाडौं रोयल्सलाई ६ विकेटले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो।

अब उपाधिका लागि चितवनले पोखरा पल्टनसँग प्रतिस्पर्धा गर्नेछ। फाइनल खेल आगामी मंगलबार पोखरा मैदानमा विहान ११ बजे हुनेछ। लिग चरणको शीर्ष स्थानमा रहदै पोखरा यसअघि नै फाइनलमा पुगेको थियो।

पिपिएलका सुरुवाती २ खेलमा हार बेहोरेको चितवनले त्यसपछिका लिगका ३ खेेलमै जित हात पार्दै दोस्रो चरणमा स्थान बनाएको थियो। एलिमिनेटरमा पनि जित हात पारेपछि चितवनले लगातार चौथो जित पार्न सफल भयो।

आइतबार ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौंले दिएको ९५ रनको सामान्य लक्ष्य चितवनले १८.२ बलमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो।

चितवनका लागि स्मित पटेलले सबैभन्द बढी ३८ रन जोडे। उनले ४३ बलमा ३ चौका प्रहार गरे। स्मित र आरिफ शेखबीच चौथो विकेटका लागि ५७ रनको साझेदारी भएको थियो। आरिफले नटआउट २० र सनी पटेलले नटआउट ६ रन जोडे।

ओपनर हरिशंकर साहले २६ रन जोडे। उनले २२ बलमा ३ चौका र १ छक्का प्रहार गरे।

चितवनका ओपनर अनिल साह आइतबार पनि चल्न सकेनन्। उनलाई १ रन बनाएर खेलिरहदा सुसन भारीले विकेट पछाडि जयकिशन कोल्सावालबाट क्याच गराए। चितवनका कप्तान पारस खड्कालाई पनि सुसनले १ रनमा आउट गर्दै पेभिलियनको बाटो देखाए।

बलिङमा काठमाडौंका सुसन भारीले ३ विकेट लिए। उनले ४ ओभरमा १८ रन खर्चिए। पवन सराफले १ विकेट हात पारे।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौं ३ बल खेल्न बाँकी ९४ रनमा अलआउट भयो । काठमाडौंलाई कमजोर स्कोरमा रोक्न चितवनका सनी पटेलले उत्कृष्ट बलिङ गरे।

काठमाडौंका लागि कप्तान ज्ञानेन्द्र मल्लले सबैभन्दा बढी ३० रन जोडे। ३५ बलको सामना गरेका ज्ञानेन्द्रले चितवनका भुवन कार्कीबाट बोल्ड हुनुअघि ३५ बलमा २ चौका प्रहार गरे। ज्ञानेन्द्र र ओपनिङ ब्याट्सम्यान जयकिशन कोल्सावालबीच पाँचौ विकेटका लागि ३८ रनको साझेदारी गरेका थिए। कोल्सावालाले आउट हुनुअघि २५ रनको योगदान गरे। उनले ३७ बलमा २ चौका हिर्काए।

खराब सुरुवात गरेको काठमाडौंले दोस्रो ओभरमा ३ विकेट गुमाएको थियो। पहिलो ओभरमा १५ रन बनाएको काठमाडौंलाई सुरुवातमै दबाबमा राख्यन चितवनका सनी पटेलले दोस्रो ओभरमा ३ विकेट लिएका हुन्।

सनीले दोस्रो ओभरको पहिलो खेलमा काठमाडौंका ओपनर अमित श्रेष्ठलाई आरिफ श‍ेखबाट क्याच गराउदै पेभिलियनको बाटो देखाए। तेस्रो बलमा सनीले काठमाडौंका पवन सराफलाई खाता नै खोल्न नदिइ एलबिडब्लूको धरापमा पारे। सनी यतिमै रोकिएनन्। उनले अन्तिम बलमा गौरव तोमारले १ रनकै स्थितिमा एलबिडब्लूको धरापमा पारेर चितवनलाई उत्कृष्ट सुरुवात दिलाएका थिए।

खराब सुरुवात गरेको काठमाडौंले पाँचौ ओभरमा अर्को विकेट गुमायो। १ रन बनाएर खेलिरहेका नरेश बुढाऐरलाई चितवनका कप्तान पारस खड्काले एलबिडब्लूको धरापमा पार्दै पेभिलियन फर्काए।योसँगै काठमाडौंले ५ ओभरमा ३० रन जोड्दा सुरुवाती ४ विकेट गुमाएको थियो।

कामठमाडौंका आदिल खान ८ रन र बसन्त रेग्मी रन जोड्न नपाइ आउट भए। आइतबार २६औं जन्मदिन मनाइरहेका चितवनका बलर स्मित पटेलले आदिल खानलाई बोल्ड गरेका थिए। सुसन भारी ३ रनमा रनआउट भए भने अमरसिंह रटेउला अन्तिम विकेटको रुपमा ९ रन जोडे।

बलिङमा सनी पटेलले ३ विकेट लिन सफल भए। उनले ४ ओभरमा १९ रन खर्चिए। स्मित पटेल र भुवन कार्कीको नाममा २-२ विकेट रह्यो। पारस खड्का र करण केसीले १-१ विकेट हात पारे।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *