पिपिएल: धनगढी शिर्ष स्थानमा

काठमाडौ– कप्तान दिपेन्द्र सिंह ऐरीको उत्कृष्ट प्रदर्शनले पोखरालाई हराउँदै धनगढी ब्लुज पोखरामा जारी पिपीएलको शीर्ष स्थानमा पुगेको छ।

घरेलु टोली पोखरा पल्टनले दिएको १ सय ४५ रनको विजयी लक्ष्य धनगढीले अन्तिम बल बाँकी छँदै ८ विकेट गुमाएर पुरा गर्‍यो।

धनगढीका लागि ऐरीले २६ बलमा ४९ रनमा नटआउट रहे। ४ छक्का र ४ चौका प्रहार गरेका ऐरीले उत्कृष्ट पारी खेले।

यसअघि पिटर ट्रेगोले ३४ बलमा ५३ रन बनाएका थिए। सुवेन्दु पाण्डेले २२ रन बनाए।

धनगढीका लागि बाँकी खेलाडीले दोहोरो रनको स्कोर छुन सकेनन्।

यसअघि पोखरा रंगशालाको क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली पोखराले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४४ रन जोड्यो।

पोखराका लागि रोहित कुमार पौडेलले सर्वाधिक ३१ रनको योगदान दिए । रवि इन्दर सिंह २८ रनमा आउट हुँदा ओपनर आसिफ शेख २३ रनमा आउट भए। कप्तान शरद भेषवाकर १४ रनमा पेभेलियन फर्किएका थिए।

धनगढीका लागि कमलले ४ ओभरमा १ मेडनसहित २३ रन खर्चेर ४ विकेट लिएका थिए।

पिटर डेभिड ट्रेगो, ड्यानियल लरेन्स र रोविन क्षेत्रीले समान १ विकेट लिएका थिए।

लिगमा सबै खेल खेलिसकेको धनगढीले ५ खेलबाट ६ अंकसहित शीर्ष स्थानमा पुगेको हो।

एक खेल कम खेलेको पोखरा आजको पराजयको बाबजुत ४ खेलबाट ४ अंकसहित प्ले अफ सम्भावना अझै बाँकी छ।

पहिलो खेलमा विराटनगरलाई ५८ रनले हराएको पोखराले दोस्रो खेलमा वुटवलसँग ३३ रनले पराजित हुन पुगेको थियो। त्यस्तै तेस्रो खेलमा चितवनलाई ५ विकेटले पराजित गर्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको थियो।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *