नेकपा मा नयाँ लडाइँ- वामदेव भर्सेस इश्वर पोख्रेल

नेकपा नेता वामदेव गौतमलाई काठमाडौं- ७ मा उप-निर्वाचन गरी सांसद बनाउने अध्यक्ष पुष्पकमल दाहालको प्रस्तावमा सचिवालय सदस्य तथा रक्षामन्त्री ईश्वर पोखरेलले विरोध गरेका छन्।

सोमबार नेकपाको सचिवालय बैठकमा काठमाडौं- ७ का सांसद रामवीर मानन्धरलाई राजीनामा गराएर गौतमलाई उपनिर्वाचनमार्फत् संसदमा ल्याउन दाहालले प्रस्ताव गरेका थिए।

दाहालले आफू, वामदेव र मानन्धरबीच बैठक बसेर सहमति भइसकेको पनि सचिवालयमा जानकारी गराएका थिए। मानन्धरले सहमति दिएको लिखितपत्र पनि उनले पढेर सुनाएको एक सचिवालय सदस्यले  जानकारी दिए।

दाहालको प्रस्तावमा सचिवालय सदस्य पोखरेलले विरोध गरे। ‘यो गलत हुन्छ,’ पोखरेलको भनाइ उद्धृत गर्दै ती सचिवालय सदस्यले सेतोपाटीसँग भने, ‘यो उचित निर्णय हुदैँन, नगरौं भन्नुभयो।’

दाहालको प्रस्ताव र पोखरेलको विरोधपछि प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी शर्मा ओलीले आफूले सांसद मानन्धरसँग कुरा गर्ने बताएका थिए।

स्रोतका अनुसार नेकपाको हरेकजसो सचिवालय बैठकमा वामदेवले आफूलाई संसदमा ल्याउन माग गर्दै आएका थिए।

वामदेवले पटकपटक विषय उठाएपछि एउटा सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले ‘वामदेव कमरेडलाई संसदमा आउनेनै चाहना छ भने केही समस्या छैन। उहाँका लागि मै सिट छोडिदिन्छु नि’ भनेर ठट्टा समेत  गरेको ती सदस्यले सेतोपाटीलाई बताए।

यसअघि उनलाई डोल्पाबाट संसदमा ल्याउने प्रयास भएको थियो। तर सासंद धनबहादुर बुढालाई राजीनामा नगर्न कार्यकर्ताले दबाब दिए।वामदेवले पनि आफूले डोल्पाका नेता कार्यकर्ता समेत नचिनेको भन्दै जोड गरेनन्।

वामदेवले आफूलाई बर्दिया-१ मा अन्तरघात गरेर हराइएको दाबी गर्दै आएका छन्।

दुई पार्टी एकता हुँदासमेत आफू कांग्रेस उम्मेद्वारसँग हार्नुको एक मात्र कारण अन्तरघात भएको भन्दै उनले तत्कालिन एमाले बैठकमा समेत धारणा राखेका थिए। पार्टीले त्यसपछि छानविन समिति समेत गठन गरेको थियो।

गौतम बर्दियामा कांग्रेसका सञ्जयकुमार गौतमसँग ७ सय ५३ मतले पराजित भएका थिए।

गत संसदीय निर्वाचनमा काठमाडौं ७ मा भने नेकपाका मानन्धरले १८ हजार १ सय २ मत ल्याएका थिए।

त्यहाँ कांग्रेसले राप्रपाका विक्रम थापालाई समर्थन गर्दै उम्मेद्वार उठाएको थिएन। राप्रपाका विक्रम थापाले १० हजार ७९ मत पाएकाथिए।

दाहाल र वामदेवसँग पद छाड्न सहमति जनाएका मानन्धर ले मंगलबार बिहान निर्वाचन क्षेत्रका नेता कार्यकर्तासँग भेटवार्ता गरिरहेका छन्।

नेवार समुदायको बाक्लो जनसंख्या रहेको काठमाडौं ७ मा रामवीर लोकप्रिय छन्।प्रतिनिधिसभा छाडेबापत् आफूलाई राष्ट्रिय सभामा मनोनित गर्नुपर्ने र मन्त्री बनाउनुपर्ने सर्त मानन्धरले दाहाल र वामदेसँग राखेको स्रोतले बतायो।

प्रधानमन्त्री ओलीले मानन्धरका शर्तबारे पनि कुरा गर्न चाहेको बालुवाटार स्रोतले बतायो।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *