नेपाल ५० वर्षपछि अतिकम विकसितबाट विकासशील मुलुक

काठमाडौं – संयुक्त राष्ट्रसंघको महासभाले नेपाललाई अल्पविकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति गर्ने ऐतिहासिक निर्णय गरेको छ । सन् १९७१ देखि नेपालाई राष्ट्रसंघले अतिकम विकसित मुलुकको दर्जामा राख्दै आएको थियो । संयुक्त राष्ट्रसंघको ७६औँ महासभाले ११ नोभेम्बरमा नेपालका साथै बंगलादेश र लाओसलाई पनि विकासशील मुलुकमा स्तरोन्नतिको निर्णय गरेको राष्ट्रसंघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘तीन मुलुकहरू पाँच वर्षको तयारी अवधिसहित स्तरोन्नति हुनेछन् । सामान्यतया तीन वर्षको तयारी अवधि दिने गरिएको थियो । तर,  कोभिड–१९ ले पुर्‍याएको आर्थिक तथा सामाजिक क्षतिसमेतबाट पुनरुत्थान गर्ने योजना कार्यान्वयन गर्ने प्रयोजनका लागि अपवादका रूपमा पाँच वर्षको विस्तारित तयारी अवधि प्रदान गरिएको छ,’ राष्ट्रसंघले जनाएको छ ।

नेपाललाई पाँच वर्षको तयारी अवधि पर्याप्त हुने वा नहुनेबारे सन् २०२४ मा पुनः मूल्यांकन गरिने निर्णय पनि राष्ट्रसंघको महासभाले गरेको छ । ‘कोभिड–१९ को दुष्प्रभावलाई व्यवस्थापन गर्न नेपाललगायतका मुलुक सफल भए–भएनन् भन्ने आधारमा तयारीका लागि थप अवधि दिने विषयमा सन् २०२४ मा निर्णय हुनेछ,’ राष्ट्रसंघले पारित गरेको दस्ताबेजमा उल्लेख छ । यसअघि स्तरोन्नति हुने नेपालको प्रस्ताव अनुमोदनका लागि संयुक्त राष्ट्रसंघको आर्थिक तथा सामाजिक परिषद्ले महासभामा पेस गरेको थियो । नेपालको स्तरोन्नतिसम्बन्धी प्रस्तावलाई पाँच वर्षको तयारी अवधिसहित राष्ट्रसंघले अनुमोदन गरेको हो ।

नेपालले ०७७ पुस अन्तिम हप्ता संयुक्त राष्ट्रसंघीय विकास नीति समिति (सिडिपी)मा स्तरोन्नतिका लागि मुलुक तयार रहेको भन्दै प्रस्ताव पेस गरेको थियो । त्यसपछि विभिन्न चरणमा नेपालको प्रस्तावबारे छलफल भएको थियो ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *