एमसिसी प्रयोग गरेर गठबन्धन फुटाउने षड्यन्त्र : प्रचण्ड

काठमाडौं – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ गठबन्धनलाई तोड्ने षड्यन्त्र भइरहेको बताएका छन्। अध्यक्ष प्रचण्डले एमसिसी प्रयोग गरेर सत्तारुढ गठबन्धनलाई फुटाउने षड्यन्त्र देशभित्र र देशबाहिरका प्रतिक्रियावादीहरूले गरिरहेको बताए। सुरेश वाग्ले र भीमसेन पोखरेलको २२औँ स्मृति दिवसको अवसर पारेर बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यथास्थितिमा एमसिसी सम्झौता पारित गर्न नसकिने अडान पनि दोहोर्‍याए।

प्रचण्डले सत्तारुढ गठबन्धनलाई बचाएर राष्ट्रलाई क्षति नहुने गरी एमसिसी सम्झौता अघि बढाउन आफूले चाहेको पनि स्पष्ट पारे। तर, अर्को वर्ग पूरै तागतका साथ यो गठबन्धनलाई कसरी तोडने भनेर लागिपरेको उनको दाबी छ। ‘यो गठबन्धनलाई तोडने षड्यन्त्र पनि भइराखेको छ, देशभित्र र बाहिरबाट। यो प्रतिगमनलाई परास्त गर्न बनेको गठबन्धन, हामीले गठबन्धनलाई भनेको के छ भने संविधानको रक्षा, लोकतन्त्रको रक्षा, गणतन्त्रको रक्षा र राष्ट्रको रक्षाको निम्तिको गठबन्धन भनेका छौँ । यसलाई विभाजन के गरी गर्ने ? एमसिसी प्रयोग गरेर यसलाई फुटाउन सकिन्छ कि भनेर एकथरी लागिरहेका छन् ।’

अध्यक्ष दाहालले लोकतन्त्रको रक्षा गर्न, संविधानको रक्षा गर्न, गणतन्त्रको रक्षा गर्न र राष्ट्रको रक्षा गर्नका लागि सत्तारुढ गठबन्धन बनाउनुपरेको पनि उल्लेख गरे। उनले नेकपा (एमाले) पतन हुने दिशामा अघि बढिरहेको टिप्पणी गरे। मार्क्सवादी भन्न नहुने, राम, सीता र लक्ष्मणको मूर्ति बोकेर हिँड्ने अवस्था आएकाले एमाले पतनको ढिलमा पुगेको उनको तर्क थियो। प्रचण्डले एमाले नेतृत्वले सूर्य चिह्न र मदन भण्डारीको दुरुपयोग गरेर पद, पैसा र प्रतिष्ठा आर्जन गर्न जानेको आरोपसमेत लगाए।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *