नारायणहिटी प्रांगणमा केपी ओलीको ‘मार्केटिङ’

काठमाडौं – दुई वर्षअघि सामाजिक सुरक्षा कार्यक्रम शुभारम्भ गर्दा ‘नयाँ युगको सुरुवात’ लेखेर सहरका बिजुलीका पोलहरूमा प्रधानमन्त्री केपी ओलीका पोस्टर झुन्ड्याइएका थिए । त्यतिवेला उनले भनेका थिए, ‘सरकार देखेनौँ, सुनेनौँ भन्नेहरूलाई देखाउन यो तामझाम गरिएको हो । आउने कार्यक्रम सरकारले नौमती बाजा बजाएर शुभारम्भ गर्छ ।’ दुई वर्षपछि त्यस्तै ओलीको ‘ब्रान्डिङ’ गरेको तामझामपूर्ण दृश्य दरबारमार्गमा देखियो ।

सामाजिक सुरक्षा कार्यक्रमको प्रभावकारी कार्यान्वयन भएन । बरु पार्टीभित्रको विवाद सुल्झाउन नसकेर प्रधानमन्त्री ओलीले संसद् विघटन गरे र देशलाई राजनीतिक तनाव र मुठभेडतिर धकेलेका छन् । तर, यहीवेला उनी आत्मप्रशंसामा रमाएका छन् । संसद् विघटन गरेकै कारण उनको पार्टी नेकपा राजनीतिक रूपमा विभाजित भइसकेको छ ।

ओली विभाजित पार्टीमा आफ्नो समूहका नेता–कार्यकर्ताबाट जयजयकार खोजिरहेका छन् । तब त ओली सभास्थलमा पुग्दा सभा सञ्चालन गरिरहेका ओली समूहका बागमती प्रदेश इन्चार्ज आनन्द पोखरेलले नारा लगाए, ‘राजनेता केपी ओली– जिन्दावाद ! केपी ओली– जिन्दावाद ! केपी ओली हाम्रो आस्था हुन् !’ एक दिनअगाडि केपी बा आई लभ युको नारा लागेको थियो ।

प्रधानमन्त्री ओलीले शुक्रबार राजधानीस्थित नारायणहिटी दरबार संग्रहालयको प्रांगणअगाडि सडकमा सभा आयोजना गरेर शक्ति प्रदर्शन गरे । प्रदर्शनका लागि नारायणहिटीको प्रांगणबाट विवादास्पद यती समूहको व्यापारिक भवनतिर फर्काएर बनाइएको मञ्चमा उभिएर ओलीले भाषण गर्दागर्दै होहल्ला भएपछि केही समय रोकिनुप¥यो । यती समूहले ओलीकै सद्भावमा जग्गा लिजमा लिएर बनाएको भवनमा सभाको ‘डिस्प्ले’ राखिएको थियो । यहीँबाट ओलीले सुशासनको भाषण पनि सुनाए ।

दर्शकदीर्घाबाट भइरहेको हो–हल्ला उनकै जयजयकारमा थियो । त्यसरी हल्ला गर्नेका दुईवटा उद्देश्य देखिन्थे । पहिलो– लामो समय चिसो सडकमा बस्दाबस्दै असहज भएपछि उभिएर आराम गर्नु । दोस्रो– ओलीले भाषणमा के भन्छन् भनेर सुन्नेभन्दा पनि हल्ला गरेर उनैलाई खुसी बनाउनु । ओली आफैँ पनि यस्तै चाहन्थे !

सभाको मञ्चमा उभिएर भाषण गर्ने नेतादेखि गाना गाउने कलाकारसम्मका शब्दमा ओली नै थिए । दरबारमार्ग क्षेत्रको चारैतिर बिजुलीका पोलहरूमा समेत ओलीकै तस्बिरहरू राखिएका थिए । ओलीले गरेको संसद् विघटनमाथिका प्रश्न ढाक्न उनका ठुल्ठूला पोस्टर दरबारमार्ग क्षेत्रमा राखिएका थिए । जिल्ला–जिल्लाबाट गाडी चढेर सभामा आएकाले बिजुलीका पोलमा झुन्ड्याइएका ओलीका तस्बिरमा समृद्ध नेपाल देखे कि !

शुक्रबारको सभाबाट ओलीले केही विशेष घोषणा गर्ने भनेर आकलन गरिएको थियो । तर, त्यहाँ उनले घोषणा त के यसअघि बोल्दै आएकोभन्दा फरक केही उल्लेखनीय विषयसमेत बोलेनन् । केही मुद्दाहरूमा सफाइ दिने कोसिस गरे । नेकपा प्रचण्ड–माधव समूहका नेता सुरेन्द्र पाण्डेले केही दिनअघि माइतीघर मण्डलामा बोल्दै ‘राजतन्त्र र हिन्दूराष्ट्रकै विषयमा ओलीले केही घोषणा गर्ने सुनेको’ अभिव्यक्ति दिएका थिए ।

जवाफमा ओलीले ‘आफैँ लडेर फालेको व्यवस्था फर्काउँछ भन्नु आफ्नाविरुद्ध छरिएको भ्रम मात्रै भएको’ स्पष्टीकरण दिए । यसअघि लगाउँदै आएका विकास र समृद्धिका नारामा केही मसला थपेर दोहो¥याए । उनले दैलेखबाट पेट्रोल, डिजेल, नवलपरासी, तनहुँ र पर्वतबाट फलाम र स्टिल, जाजरकोटबाट तामा र बैतडीबाट फस्फोरसलगायत चिज उत्पादन गर्ने बताए । त्यति मात्रै होइन, उनले रासायनिक मलसमेत स्वदेशमा नै उत्पादन गर्ने भाषण गरे ।

उनले पूर्वआकलन गरिएजस्तै अहिलेको व्यवस्थाकै विरुद्धमा केही घोषणा त गरेनन्, तर त्योभन्दा बढी आफू शक्तिशाली शासक हुँ भनेर देखाउन अनेकौँ शैली अपनाए । कतिसम्म भने उनी सभामा पुगेपछि राष्ट्रगान बजाइएको थियो । मञ्चमा आसीनदेखि मञ्चको तलपट्टि छेउमा राखिएका नेतासम्मले उनको आगमनलाई उभिएर सम्मान व्यक्त गरे । मञ्चभन्दा अग्लो देखिने गरी ओलीको पोस्टर राखिएको थियो । कार्यक्रम सञ्चालकले भद्दा जयजयकार गरे । ओलीले आफ्नै तस्बिर राखिएको बेलुन उडाएर शक्तिशाली भएको सन्देश दिन खोजे । सभामा प्रयोग गरिएका ब्यानर, झन्डा, टिसर्ट र ज्याकेटदेखि टोपीमा समेत ओलीकै तस्बिर राखिएका थिए । नयाँ पत्रीकाबाट 

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *