यो उपलब्धि अपहरण गर्ने र त्यसको रक्षा गर्ने बीचको लडाइँ होः प्रचण्ड

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले विकसित घटनाक्रमलाई सामान्य रुपमा लिन नहुने बताएका छन् ।

आफू पक्षीय केन्द्रीय कमिटीको बैठकलाई बिहीबार सम्बोधन गर्दै प्रचण्डले प्रतिनिधिसभा विघटन, दलमा विभाजन ल्याउने जस्तो विगतका घटनालाई सम्झेर अहिलेको घटनाक्रमलाई तिनकै पुनरावृत्ति भनेर ठान्ने गल्ती गर्न नहुने प्रस्ट पारे । ‘सात दशक लामो संघर्षको उपलब्धि अपहरण गर्ने र त्यसको रक्षा गर्ने बीचको लडाइँ हो यो,’ उनले भने, ‘शहिदको सम्मान गर्ने या तिनको अपमान गर्ने भन्नेबीचको लडाइँ हो ।’ उनले प्रतिनिधिसभा विघटन गर्ने, संविधानसभाबाट बनेको संविधानलाई असफल बनाउने, संघीय लोकतान्त्रिक गणतन्त्रलाई नै असफल बनाउने षड्यन्त्रका रुपमा पछिल्लो घटनाक्रम विकसित भएको जिकिर गरे । उनले भने, ‘कम्युनिस्ट पार्टी र यसले लामो बलिदानबाट प्राप्त उपलब्धिलाई ध्वस्त पार्ने षड्यन्त्र हो यो ।’

उनले प्रतिक्रियावादीको ठुलो डिजाइन अनुसार केही साथीलाई उपयोग गरेर नेपालको कम्युनिस्ट आन्दोलनलाई धरासायी पार्ने, नेपाली जनताले प्राप्त गरेका उपलब्धिलाई समाप्त पार्ने डिजाइन अनुसार यी ‘नाटक’ मञ्चन भएको दावी गरे ।
उनले पछिल्लो घटनाक्रमलाई ‘०१७ सालकै जस्तो प्रतिगमनको झल्को’ संज्ञा दिए । त्यसका विरुद्ध अहिले सामान्य आन्दोलन घोषणा गरिएको प्रस्ट पार्दै उनले पूरै तागतका साथ, इतिहासका तमाम गौरवका साथ संघर्षको मैदानमा उत्रिएर प्रतिगामी, प्रतिक्रान्तिका डिजाइनका विरुद्ध प्रतिवाद गर्न तयारी अवस्थामा रहन कार्यकर्तालाई निर्देशनसमेत दिए ।

उनले आवश्यकता अनुसार सडकमा, न्यायालयमा पुगेर प्रतिवाद गर्ने बताए । संविधानले कुनै पनि रुपमा प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार नदिएको पुनः स्मरण गराउँदै उनले देशलाई फेरि राजनीतिक अराजकता, निरंकुशतातर्फ फर्काउन खोजिएको हो त भनेर प्रश्नसमेत गरे ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *