साझा र विवेकशीलबीच एकता घोषणा

काठमाडौं – साझा पार्टी र विवेकशील नेपाली दलबीच पुनः एकता भएको छ । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसर पारेर बुधबार दुई दलबीच एकीकरण घोषणा भएको हो ।

साझाका संयोजक रविन्द्र मिश्र र विवेकशीलका मिलन पाण्डेले पार्टी एकताको सहमतिमा हस्ताक्षर गरेका हुन् । ०७४ साउनमा साझा र विवेकशीलबीचको एकताबाट विवेकशील साझा जन्मिएको थियो । तर, एकीकरणको १७ महिनामै साझा र विवेकशीलले पुरानै बाटो रोजेका थिए । विभाजनको २३ महिनापछि फेरि एक भएका हुन् ।एकीकरणपछि पार्टीको नाम ‘विवेकशील साझा’ प्रस्ताव गरिएको छ । विवेकशील साझाले विगत चुनावमा प्रयोग गरेको झन्डा, चुनाव चिह्न नै कायम हुनेछ । कार्यालय पनि बखुन्डोलमै रहने छ । सामाखुसीस्थित विवेकशीलको कार्यालयलाई चाहिँ प्रदेशहरूको सम्पर्क कार्यालयमा रूपान्तरण गर्ने योजना छ ।

नयाँ पार्टीमा महाधिवेशन नहुन्जेल मूल नेतृत्वमा एक अध्यक्ष र एक संयोजक रहनेछन् । साझा पार्टीका संयोजक मिश्रलाई अध्यक्ष र विवेकशीलका अध्यक्ष मिलन पाण्डे संयोजक रहनेछन् । कार्यकारी अधिकार दुवैलाई हुनेछ । वरीयतामा भने मिश्र पहिलो र पाण्डे दोस्रो हुने प्रस्ताव गरिएको छ । एकीकरणपछि दुवै पार्टीका ६५/६५ जना रहने गरी १ सय ३० सदस्यीय केन्द्रीय समिति गठन हुनेछ । केन्द्रीय सचिवालय दुवै पार्टीबाट १३/१३ जना रही २६ जनाको हुने प्रस्ताव छ । केन्द्रीय समिति बैठकको आह्वान र एजेन्डा तय भने अध्यक्ष र संयोजकको सहमतिमा गरिनेछ । एकीकृत पार्टीको केन्द्रीय समितिबाट अन्तरिम पार्टी सञ्चालन कार्यविधि बनाएर त्यसअनुसार काम अघि बढाउनेसमेत सहमतिको बुँदामा उल्लेख छ । कार्यविधि अनुसार नै दुई महिनाभित्र दुवै पार्टी माहतका सबै संरचनालाई पुनर्गठन र समायोजन गर्ने भनिएको छ । यस्तै सम्झौतामा पार्टी एकीकरण भएको ६ महिनाभित्र एकता महाधिवेशन गरिसक्ने भनिएको छ ।

अध्यक्ष मिश्रले अब वैकल्पिक नभइ निर्विकल्प पार्टी बनाउने दावी गरे । देशको समृद्धि र सुशासनलाई प्रमुख मुद्दा बनाउने उनको भनाइ छ । अबको राजनीति बादमा नअल्झने भन्दै नेतृत्वमा जाने व्यक्ति भ्रष्ट भएसम्म कुनै पनि देशमा कुनै वादले काम नगर्ने मिश्रको जिकिर छ । भारतको नयाँ दिल्लीमा आम आदमी पार्टी अवैकल्पिक पार्टीका रुपमा उदाएको चर्चा गर्दै मिश्रले सुशासन र समृद्धिलाई आफ्नो पार्टीले प्रमुख एजेण्डा बनाउने बताए । उनले लोकतन्त्रलाई बलियोसँग संरक्षित गर्ने र त्यसका लागि प्रगतिशील लोकतन्त्र अभ्यास गर्न विवेकशील र साझा पार्टी जन्मिएको मिश्रको भनाइ छ ।

आफ्नो पार्टी राजा ल्याउन वा फाल्न, संघीयता ल्याउन वा फाल्न गठन नभएको मिश्रले प्रस्ट पारे । संयोजक पाण्डले विकेशील साझा पार्टीलाई सबै समुदायले अपनत्व महसुस गर्ने पार्टी बनाउने बताए ।उनले भने, ‘युवा, महिला, मजुदूर लगायतको पार्टी बनाउनेछौं। विदेशमा रहेका नेपालीहरुको हकहित संरक्षण गर्ने पार्टी बनाउनेछौं,’  उनले विगतमा जानेर वा नजानेर पार्टी विभाजन गरेको भन्दै केही समय अलगअलग रहेकोमा माफी समेत मागे।

‘हिजोको दिनमा पार्टी विभाजन राजनीतिक दुर्घटना थियो। त्यो जानेर नजानेर भयो। हामी माफी माग्छौँ, विगतमा हामीबाट त्रुटि भयो । हामीले यो गल्ती महसुस गरेकै कारण एकता सम्भव भएको हो’, उनले भने ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *