ओलीलाई प्रचण्डको जवाफ – मेरो प्रस्तावबारे बैठकले भन्छ, तपाईंले भन्ने होइन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पत्र र राजनीतिक प्रस्तावको मूल्यांकन गर्ने अधिकार पार्टी बैठकलाई भएको बताएका छन्।

नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भएको सवाल जवाफमा प्रचण्डले यस्तो जवाफ दिएका हुन्। बैठकमा प्रचण्डले आफूमाथि लाञ्छना लगाएकाले त्यो फिर्ता नलिएसम्म बैठक नबस्ने प्रधानमन्त्री ओलीले चेतावनी दिएका थिए। मंगलबारको बैठकको सुरूआत प्रचण्डले गरेका थिए। बैठकको सुरूमै प्रचण्डले ओलीलाई बोल्न भनेका थिए।

‘आज सुरूमा प्रचण्डले बैठक सुरू गर्नुभयो। तपाईंलाई केही भन्नुपर्ने छ कि भनेर कमरेड केपीलाई भन्नुभयो। उहाँले तपाईंले प्रस्तुत गरेको पत्र एकदम पूर्वाग्रहपूर्ण छ त्यो आरोपपत्र हो। त्यो लाञ्छना पत्र हो भन्नुभयो,’एक सचिवालय सदस्यले सेतोपाटीसँग भने,’त्यो लाञ्छना पत्र तपाईंले फिर्ता नलिएसम्म र क्षमायाचना नगरेसम्म यो बैठक चल्दैन। यो बैठक चल्न दिन्नँ म भनेर प्रधानमन्त्री ओलीले धेरैबेरसम्म अडान लिनुभयो।’

ती सचिवालय सदस्यका अनुसार प्रचण्डले ओलीको अडानको व्यवस्थित तरिकाले प्रतिवाद गरेका थिए। प्रचण्डले कर्णाली प्रकरण, वीरगञ्ज प्रकरण र भारतीय खुफिया एजेन्सी रअका प्रमुखसँगको भेटघाट प्रकरणलाई उठाएका थिए।
ती प्रकरणबारे छलफल गर्न बैठकको माग गर्दा समेत बैठकका लागि तयार नभएपछि आफूसहित सचिवालयका पाँच जना नेताहरूले पत्र लेखेको प्रचण्डले बताएका थिए।

पाँच नेताको पत्रको जवाफमा लाञ्छना लगाएर जवाफ पठाइएको र त्यो पत्र सामाजिक सञ्जालमा समेत पठाइएको प्रचण्डले बताएका थिए। ‘त्यो घोचपेचको जवाफ तपाईंले सामाजिक सञ्जालमा सार्वजनिक गर्ने अनि हाम्रा घर-घरमा पठाउने गरेपछि मात्रै मैले पनि पत्र लेखेको हो। मैले केही बिगारेको छैन,’प्रचण्डको भनाई उदृत गर्दै अर्का सचिवालय सदस्यले भने,’मैले जे देखे सबै लेखेको छु। यो तपाईंले भन्ने कुरा होइन बैठकले भन्ने कुरा हो।’

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *