कोभिड-१९ सँग जुधेका मेरा दिनहरु : प्रकाश अधिकारी

अलि- अलि जीउ दुख्ने र घाँटी दुख्ने क्रम शुरु भएको केही दिन भएको थियो । मौसम परिवर्तनको असरले होला भनी तातो पानी पिउने र भिक्स लगाउने काम गरिरहेँ । एक रात टाउको साह्रो दुख्यो । सुत्न सकिन, पसिना आएर जीउ पूरै भिजेको थियो । शरीर एकदमै तातो थियो । रातको १२ः४५ मा उठेर थर्मोमिटर काखीमा राखेँ । १०३ ज्वरो आएको रहेछ । एकदमै डर लाग्यो । एक गिलास तातो पानी पिँए । एउटा फ्लेक्सनलाई आधा पारेर खाएँ । ज्वरो केही कम भएको महसुस भयो । कष्टसाथ रात बिताएँ ।

बिहान पाँचबजे फेरि थर्मोमिटरले परीक्षण गरेँ । ज्वरो १०२ रहेछ । अनी श्रीमतीलाई भनेँ “मलाई कोरोना हुन सक्छ म छुट्टै कोठामा बस्छु ।” त्यही अनुसार गरेँ । त्यो सबै लक्षण सहितका कुरा वडा अध्यक्ष मनोज ढुंगानालाई बताएँ । उहाँले नआत्तिन र परीक्षण गर्नुहोस् म नाम लेखाउँछु भन्नुु भयो । त्यसपछि गोकर्णेश्वर नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसाल ज्यूसँग शेयर गरेँ । उहाँले आत्मबल बढाउने खालका धेरै कुरा गर्नु भयो । जसले गर्दा मन धेरै हल्का भयो । उहाँले नै परीक्षणको लागि नेपाल मेडिकल कलेज जान भन्नु भयो । त्यही सल्लाह अनुसार परीक्षण गरेँ । म रिर्पोट प्रतीक्षा गर्दै बसेँ । स्वाब दिएको ४ दिन पछि कल आयो । मेरो रिर्पोट पोजेटिभ आएको रहेछ । मन एकदम भारी भए जस्तो भयो । रिंगटा लाग्ला – लाग्ला जस्तो भयो । एक गिलास पानी पिएँ अनि सम्झेँ जे त पर्ला ,श्रीमतीलाई वोलाएर सुनाएँ ” मेरो रिपोर्ट पोजेटिभ आएछ । ” श्रीमतीले केही हुन्न नडराउनु भन्नु भयो । अलिक आत्मबल वढ्यो । यसै क्रममा दिपक रिसालले फोन गर्नु भयो । “सर पोजेटिभ आएछ नआत्तिनु , हामीलाई सम्झिनु । सरलाई जुनसुकै बेला जे परे पनि सहयोग गर्न तयार छौँ । ” उहाँको यस्तो वाक्यले मन छोयो । त्यसपछि मैले मेरोे नजिकका डा. सुरेश दाहाललाई फोन गरेँ । उहाँ पनि आइसोलेशनमा हुनुहुँदो रहेछ । उहाँले पनि ३ वटा औषधि खान सल्लाह दिनु भयो ।

एन्टी एर्लजी , प्यारा सिटामोल , भिटामिन सि त्यसै गरेँ । जाउलो , तातोपानी , वाफ लिने, गुर्जो, बेसार, मह ,कागती ,च्यवनप्राश मेरा दैनिकी वन्न थाले । पूर्व सक्रमित समाजसेवी ईश्वर पुडासैनीलाई मेसेज गरेँ । उहाँले कल गरेर आत्माबल वलियो वनाउनु , केही परे भन्नु म सधैं तयार छु भनेपछि मेरा मान्छे धेरै रहेछन् । सुभचिन्तक कमाएको रहेछु भन्ने महसुस भयो । त्यही समय संक्रमित वन्नुभएका हाँस्य कलाकार श्रीकृष्ण सिंखडा , १०० मासिक अभियानका अध्यक्ष संजय पोख्रेल उहाँहरू पनि संक्रमित हुनु हुन्थ्यो । हामी दैनिक जसो आफ्ना अनुभव साटासाट गरिरहने गर्दथ्यौं । जसले एक अर्का बीच आत्मियता अनि एक्लोपन हटाउन ठूलो मद्धत गर्यो । म आफैँले सामाजिक सञ्जालमा पोष्ट गरेँ । धेरै साथीहरुले देश विदेशबाट शिघ्र स्वास्थलाभको कामना गर्नु भयो । २७ वर्ष अघिका विद्यालयका साथीहरु समेतले कल गरेर आत्मवल वढाउँदा जीवनमा साथी चाँहि कमाएको अनुभव भयो । अझ उपमेयर शान्ति नेपालले पनि फोन गरेर नआतिन र केही अप्ठ्यारो परे भन्न भनी दिएको वचनले एक्लोपन र निराशालाई कम गर्यो ।

३ दिन पछि श्रीमती र छोराको स्वाब परीक्षणको लागि सरकारी ल्यावमा दिएको थियो । तर ५ दिनसम्म रिर्पोट नआउँदा भएको त्रास र तनावलाई यहाँ उल्लेख गर्न सकिएन । हामीलाई एउटा डर थियो सबैको पोजेटिभ आयो भनेँ के खाने होला भन्ने चिन्ता कायमै थियो । धन्न श्रीमती र छोराको रिर्पोट नेगेटिभ आयो । अनि आधा तनाब घटयो । वास्ना हराउने अनि स्वाद थाहा पाउन नसक्ने लक्षण एक साता सम्म रहयो । पहिलो परीक्षण गरेको १८ दिन पछि नेपाल मेडिकल कलेजमा पुन: स्वाब परीक्षणको लागि दिएँ । फेरि पोजिटिभ रिर्पोट आएको खबरले मन खिन्न भयो । रातभरी निद्रा लागेन । धेरै जना स्वास्थ्य क्षेत्रका विज्ञहरुसँग छलफल गरेँ , धेरैले १४ दिन पुरा भएपछि हिड्नोस् भँने । अनि चर्चित जनस्वास्थय विद डा. रविन्द्र पाण्डेलाई मेसेज गरेँ उहाँले पनि कुनै लक्षण छैन भने सुरक्षित तवरले हिंडन भन्नु भयो तर पनि मनमा कता- कता डर हुने नेगेटिभ नआएसम्म । २३ दिनपछि पुन: परीक्षण गरेँ । त्यही दिन तपाईँको रिर्पोट नेगेटिभ आएको भन्दा ठूलै युद्ध जितेको महशुस भयो ।

अब कोरोना संक्रमितहरुको आत्मबल बढाउने काममा खटिने छु । मलाई बारम्बार हौसला दिने अमेरिका वस्नुहुने मित्र सीता प्रसाईँ , विराटनगर वस्नुहुने दिदी चुडा भण्डारी , मेरा विद्यालयका सहकर्मी साथीहरु , उन्नती महिला समुहका अध्यक्ष रविना पौडेललाई भुल्न सक्दिन । कपन अनलाइनका विकल सापकोटा र सरोज वस्नेतले मलाई अहिले सङ्गै आएर फोटो खिच्न मन छ भन्ने शब्दले मन प्रफुल्ल हुन्छ । लायन्स क्लव जोरपाटीका पूर्व अध्यक्ष दिपक चापागाई, सचिव निराजन श्रेष्ठ , जोन चेयर पर्सन कुमार श्रेष्ठहरुले भरिदिनु भएको साहसलाई सधैँ सम्झिरहने छु । सबै मित्रहरु ,जो मनभित्र हुनुहुन्छ जसको नाम उल्लेख गर्न सकिन उहाँहरु सबैप्रति आभार व्यक्त गर्दछु ।

PCR गर्न आउने समेत विना मास्क आएको देख्दा मन कस्तो – कस्तो भयो । सरकारको अनुगमन र निरिक्षण कतै दखिएन। हाम्रा जनप्रतिनिधिहरुको खटाई पनि अहिलेको महामारीमा भन्दा अन्तै मोडिएको देख्दा अनि नजिकका केही परिचितहरु अकालमा ज्यान गुमाएको खबर सुन्दा मन अत्तालिरहेको छ । आइसोलेशन केन्द्र, मनोवल उच्च पार्ने कार्यक्रम , कमजोरहरुलाई सहयोग , व्यापक परीक्षणमा तीनै तहका सरकार चुकेका छन् । यसले हामी जनतालाई ठूलो क्षती पुग्ने छ । अर्को चुनाव पनि आउछ भनेर राजनीतिक दलहरु किन सोच्दैनन ?

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *