रुकुम पश्चिम घटना : ३ जनाको शव फेला ४ बेपत्ता, वडाध्यक्ष सहित १२ जना पक्राउ

काठमाडौं – रुकुम पश्चिम चौरजहारी नगरपालिका–८, सोतीस्थित मल्ल थरकी युवतीलाई लिन गएका युवाहरु र गाउँलेको बीचमा भएको झडपमा परी बेपत्ता ३ युवाको शव फेला परेको छ ।  बेपत्ता ४ युवाको अवस्था भने अझै अज्ञात

प्रहरीका अनुसार, जाजरकोटको भेरी नगरपालिका–४ का २१ वर्षीय युवा नवराज विककी प्रेमिका सोतीकी युवतीलाई लिन भनी १९ जना गएका थिए । सोतीमा गाउँले र ती युवाहरुबीच झडप हुँदा भेरी नगरपालिका–४ नवराज विक र चौरजहारी नगरपालिका–१ टीकाराम सुनार र भेरी नगरपालिका–४ गणेश बुढाको शव फेला परेको छ । सुनार र विकको शव आइतबार भेटिएको थियो भने गणेशको सोमबार भेटिएको छ । भेरी नगरपालिकाका सञ्जु विक, गोविन्द शाही, लोकेन्द्र सुनार र गोपाल बुढाथोकी शनिबारदेखि बेपत्ता छन् ।

घटनामा संलग्न चौरजहारी नगरपालिका–८ का वडाध्यक्ष डम्बर मल्लसहित स्थानीय १२ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक ठकबहादुर केसीले जानकारी दिए । घटनाका घाइते आशिष विक र सरोज भँडेलले आफूहरु सोती पुगेदेखि नै जातीय विभेद्कारी गालीगलौज गर्दै ढुङ्गामुढा गरेको दाबी गरे ।

जाजरकोट जिल्ला प्रहरी कार्यालयमा पीडित पक्षले दोषीमाथि कारवाहीको माग गर्दै धर्ना दिइरहेका छन् । जिल्ला अस्पतालमा राखिएको शव परिवारले बुझ्न मानेका छैनन् । रुकुम पश्चिम जातीय छुवाछुत जिल्ला घोषणा भइसकेको छ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *